अन्तर्वार्ता

उपाध्यक्षमै दोहोरिन मलाई समस्या छैन : अष्टलक्ष्मी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौं महाधिवेशन मंसिर १०-१२ गतेसम्म चितवनमा गर्दैछ । महाधिवेशनबाट ५ वर्षका लागि एमालेको नयाँ नेतृत्व चयन गर्नेछ ।

यो महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ भन्दै एमालेले नेतृत्वको टुङ्गो सर्वसम्मत रूपमै लगाउने भनेको छ । तर अध्यक्षमा भीम रावलले उम्मेदवारी दिने बताएका छन् भने पदाधिकारीका आकांक्षी धेरै भएकाले पदाधिकारीमा चुनाव हुने लगभग निश्चित जस्तै छ ।

गत असोज १५-१७ मा गोदावरीमा भएको पहिलो विधान महाधिवेशनको व्याख्यालाई हेर्ने हो भने अध्यक्षमा पुनः केपी शर्मा ओली नै दोहोरिने छन् । विधानले तोकेअनुसार ओलीको उमेर हद ननाघोस् भन्नका लागि जिल्ला र क्षेत्रीय अधिवेशन नै नगरी एमालेले एकैचोटी राष्ट्रिय अधिवेशन गर्न लागेको हो ।

महाधिवेशनसँगै नेताहरूको व्यवस्थापन कसरी हुन्छ ? भन्ने प्रश्न पनि पेचिलो बन्दै गएको छ । यसै सन्दर्भमा नेताहरूले उम्मेदवारीबारे औपचारिक रूपमै मुख नखोलेपनि घुमाउरो तरिकाले आशय भने व्यक्त गर्न थालेका छन् । यो बेला ९औँ महाधिवेशनबाटै उपाध्यक्ष बनेकी नेतृ अष्टलक्ष्मी शाक्यसँग मकालुखबरकर्मी धनबल राईले कुराकानी गरेका छन् :-

महाधिवेशनमा तपाईँ कुन पदमा उम्मेदवार बन्नुहुन्छ ?

पहिलो कुरा त म कुनै पनि पदीय हैसियत खोज्दिनँ । मैले भन्दै आएको संगठन जोगाउने, देश बचाउने र आन्दोलन सफल पार्ने कुरा हो ।

मेरो सम्पूर्ण ध्यान यहीँ नै छ । त्यसो हुँदा म यही बन्नुपर्छ अथवा यही पद पाउनुपर्छ भनेर दाबी गरिसकेको छैन । यो नभई नहुने भन्ने केही छैन मलाई । मैले त्यसरी सोचेकी छैन ।

सिधै भन्दा तपाईँ पुनः उपाध्यक्षमै दोहोरिन पनि तयार हो ?

मैले भनिसकेँ, मलाई कुनै फरक पर्दैन । चाहना हुनु स्वाभाविक कुरा हो । यो सबैलाई हुनसक्छ । तर, नेतृत्वमै पुग्नुपर्छ भन्ने पनि छैन ।

बाहिरै बसेर पनि धेरै गर्न सकिन्छ । अब पार्टीले दिएको जिम्मेवारी त पूरा गर्नैपर्छ । तर, मेरो सन्दर्भमा चाहिँ म यही बन्नुपर्छ भन्ने छैन ।

तपाईँ उपाध्यक्ष भइसकेको मान्छे अब वरिष्ठ उपाध्यक्षको दाबी गर्नुपर्ने होइन र, कि तपाईँ त्यसका लागि योग्य होइन ?

यो योग्य र अयोग्य भन्ने कुरा चाहिँ हटाइदिनुस् । संगठनमा यस्तो कुराहरू हुँदैनन् । त्यो पदमा पुगे योग्य र नपुगे अयोग्य भन्ने नै हुँदैन । जिम्मेवारी पाए त्यो गर्न सकिँदैन भन्ने नै हुँदैन । गर्न सकिन्छ । तर, यो पटक चाहिँ मैले अब वरिष्ठ उपाध्यक्ष हुनुपर्छ भनेर भन्दिनँ पनि ।

किनकि अहिले कसरी हुन्छ पार्टीलाई संगठित गरेर लाने कुरा छ । यसका लागि धेरै नेताहरूको व्यवस्थापन हुन बाँकी छ । आन्दोलनमा ठूलो योगदान गर्नुभएका कमरेडहरू हुनुहुन्छ । त्यसो हुँदा म वरिष्ठ उपाध्यक्षको दाबी पनि गर्दिनँ ।

अध्यक्षमा त पुनः केपी शर्मा ओली नै दोहोरिने निश्चितप्रायः छ, त्यसबाहेक पदाधिकारीको व्यवस्थापन पार्टीले सर्वसम्मत रूपमै गर्न सक्छ ?

अहिलेसम्मको अवस्थालाई विश्लेषण गर्ने हो भने अध्यक्ष उहाँ (केपी शर्मा ओली) नै हुने देखिन्छ । जहाँसम्म पदाधिकारीमा आउने नेता कमरेडहरूको कुरा छ, त्यो पार्टीले सर्वसम्मत रूपमा गर्न सक्छ र सक्नुपर्छ ।

किन पनि भने एमालेले यो महाधिवेशनलाई एकताको प्रारम्भ भनेको छ । यसपालि निर्वाचनमा नगईकन सर्वसम्मत रूपमा नै चयन गर्नेछौँ ।

तर, आकांक्षी त धेरै देखिन्छन् कसरी सम्भव होला र ?

यो त स्वाभाविक हो । आन्तरिक निर्वाचन आयोगले भनेको र पार्टीको विधानबमोजिम योग्य व्यक्ति आकांक्षी बन्नु पनि पर्छ । यसो हुँदा लोकतन्त्रको सुन्दर पक्ष पनि झल्किन्छ । तर, अब धेरै आकांक्षी धेरै हुँदा चाहिँ पार्टीले ‘वर्कआउट’ गर्नुपर्‍यो ।

हो यही त हामीले गर्छौँ भनेका हौँ, हाम्रो पार्टीले गर्छ भनेको हो । हुन त केन्द्रीय कमिटीमा केही गाह्रो हुनसक्छ । तर, हाम्रो प्रयास चाहिँ सर्वसम्मत रूपमा छान्ने हुन्छ ।

पार्टीभित्र संस्थापनइतर पक्ष पनि खडा हुँदैछ । तपाईँहरू नै हिजो माधव नेपाल पक्षमा रहेका नेताहरू छन्, माओवादीबाट आएका नेताहरू छन् यस्तो अवस्थामा महाधिवेशन एकताको कसरी हुन सक्ला ?

त्यसैले हामीले यो महाधिवेशनलाई एकताको महाधिवेशन भनेका हौँ । अब यस्ता टुटफुटका समस्याहरूलाई समाधान गर्ने भनेका छौँ । जहाँसम्म असन्तुष्ट कमरेडहरूको कुरा छ उहाँहरूको पनि उचित व्यवस्थापन हुनुपर्‍यो ।

मैले व्यक्तिगत रूपमै पनि अध्यक्ष कमरेडलाई भनेको छु । अन्य पार्टीबाट आएको नभनीकन र अर्को गुटको नभनीकन नेताहरू अब संगठित हुनुपर्छ र नेतृत्वले पनि त्यसैगरी नै हेर्नुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *