प्रदेश महाधिवेशनका लागि तयार भयो कास्की

पोखरा । नेपाली कांग्रेस कास्कीले प्रदेश निर्वाचन क्षेत्रको कार्यसमिति गठन गरेको छ । संघीय संरचनामा देश गएपछि पहिलो पटक कांग्रेसले प्रदेश निर्वाचन क्षेत्रको समिति बनाएको हो ।

कास्कीका ६ वटै प्रदेश निर्वाचन क्षेत्रमा नयाँ कार्यसमिति गठन भएको छ भने प्रदेश अधिवेशनका लागि प्रतिनिधि चुनिएका छन् । कास्की क्षेत्र नम्बर १ को प्रदेश निर्वाचन क्षेत्र (क) मा दुर्गाप्रसाद सुवेदीको सभापतित्वमा कार्यसमिति गठन गरिएको छ । सुवेदीले निकटतम प्रतिस्पर्धी मुराहरी कोइरालालाई पराजित गरेर सभापतिमा निर्वाचित भएका हुन् । सुवेदीले २२६ र कोइरालाले २०९ मत पाए ।

उपसभापतिमा निर्मला ढुंगाना र शुकदेव गुरुङ छन् भने सचिवमा शिवराज अधिकारी र ध्रुवराज अधिकारी तथा सहसचिवमा सुवास भण्डारी र विष्णु गुरुङ निर्वाचित भएका छन् । सोही क्षेत्र अन्तर्गत प्रदेश (ख) मा कृष्ण कोइराला सभापतिका रूपमा निर्वाचित भए । निकटतम प्रतिस्पर्धी अर्जुन गुरुङ १५ मतान्तरले पराजित भए । कोइरालाले १८८ मत ल्याउँदा गुरुङले १७३ मत पाए । उपसभापतिमा विकास गुरुङ र विष्णुप्रसाद बराल, कर्तीबल्लभ त्रिपाठी र ई. महेश कार्की तथा सहसचिवमा महेन्द्र गुरुङ र रामकुमारी पौडेल विजयी भएका निर्वाचन अधिकृत रामचन्द्र पौडेल (विमल) ले जानकारी दिए ।

क्षेत्र नम्बर २ को प्रदेश क्षेत्र (क) मा दिनेश आचार्य सभापतिका रूपमा निर्वाचित भएका छन् । आचार्यले १२१ मत पाउँदा निकटतम प्रतिस्पर्धी वर्षाकेशव पराजुलीले ९१ मत ल्याए । उपसभापतिमा माधवप्रसाद बराल र चेतबहादुर महत विजयी भए भने सचिवमा टंकप्रसाद भण्डारी र नारायणप्रसाद शर्मा विजयी भए । सहसचिवमा गीता भण्डारी र केशवराज लामिछाने सर्वसम्मत चयन भएका थिए । क्षेत्र नम्बर (ख) को सभापतिमा दीपेन्द्र मर्सानी विजयी भए । मर्सानीले १४२ मत पाए भने निकटतम प्रतिस्पर्धी सुवास सिग्देलले १२० मत पाए ।

उपसभापतिमा सरिता पराजुली र होमबहादुर बानियाँ विजयी भए भने सचिवमा सुवर्ण केसी र शिरषकुमार बास्तोला निर्वाचित भएका छन् । सहसचिवमा निलम बाटाजु र सुरेश खवास सर्वसम्मत चयन भएका हुन् ।

कास्कीकै क्षेत्र नम्बर ३ (क) को सभापतिमा पुष्पेन्द्र पाण्डे विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी दीपकराज पौडेललाई १० मतले हराएर विजयी भएका हुन् । पाण्डेले १६६ मत ल्याउँदा पौडेलले १५६ मत पाए । उपसभापतिमा धनबहादुर थापा र दिलीप गिरी विजयी भए भने सचिवमा गंगाबहादुर गुरुङ र प्रकाशचन्द्र सापकोटा तथा सहसचिवमा अनिल गुरुङ र विष्णुप्रसाद अधिकारी विजयी भएका छन् ।

(ख) को सभापतिमा जीवनाथ पौडेल ‘शंकर’ सभापति निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी दिपकविर कुँवरले १२४ मत पाउँदा पौडेलको २२७ मत आयो । उपसभापतिमा पदमबहादुर गुरुङ, पार्वतीदेवी कोइराला निर्वाचित भए भने सचिवमा ठाकुर बराल र बाबुराम भण्डारी तथा सहसचिवमा चित्रबहादुर गुरुङ र भीममाया सुवेदी निर्वाचित भएका छन् ।

अधिकांश क्षेत्रमा प्यानल निर्वाचित भएका हुन् । यहाँ स्थानीय स्तरको प्यानल बनेको थियो । क्षेत्र नम्बर १ मा कांग्रेसका सभापति तथा पूर्व मन्त्री यज्ञबहादुर थापा र हालका जिल्ला सभापति कृष्ण केसीको प्यानल खडा भएको थियो । क्षेत्र नम्बर २ मा पुराना नेता शुक्रराज शर्मा र अर्का नेता देवराज चालिसेको प्यानल बनेको थियो भने ३ मा तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङ र अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुँवरले आफ्ना गुटबाट उम्मेदवार उठाएका थिए । १ (क) मा थापा प्यानलले जीत हात पार्‍याे भने (ख) मा केसी प्यानल आयो ।

२ (क) मा चालिसे प्यानलले जित्यो भने (ख) मा शर्मा प्यानल तथा क्षेत्र नम्बर ३ का दुईवटैमा कुँवर प्यानलका अधिकांश उम्मेदवार विजयी भएका छन् । यद्यपि केही पदहरूमा फरक प्यानलका उम्मेदवार समेत निर्वाचित भए । यस्तै, सबै प्रदेशबाट १७ जनाका दरले प्रदेश अधिवेशन प्रतिनिधि पनि चयन भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *