महाधिवेशनमा प्रधान मन्त्रीलाई एमालेकाे निम्तो, देउवाले भने- ‘म आउँछु’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रधान मन्त्रीसमेत रहेका सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई महाधिवेशनकाे लागि निम्तो दिएको छ । शुक्रबार बिहान एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्ग र नेता राजन भट्टराई प्रधान मन्त्री सरकारी निवास बालुवाटार पुगेर देउवालाई  महाधिवेशनको निम्तो दिएका हुन् ।

निम्तो स्वीकार्दै प्रधान मन्त्री देउवाले आफू जसरी भएपनि महाधिवेशनमा आउने जबाफ दिएकाे नेता नेम्वाङ्गले बताए । प्रधान मन्त्री देउवालाई उद्धृत गर्दै नेता नेम्वाङ्गले भने, ‘नआउने त कुरै भएन । म आउँछु ।’

महाधिवेशनको सफलताको शुभकामनासमेत प्रधान मन्त्री देउवाले दिएको उल्लेख गर्दै नेम्वाङ्गले थपे, ‘हामीले मंसिर १० गतेदेखि १२ गतेसम्म नारायणी नदीको किनारमा उद्घाटन कार्यक्रम हुँदैछ भनेर भन्यौँ । उहाँले हुन्छ म आउँछु भन्दै शुभकामना पनि दिनुभयो ।’

आफूहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट निम्तोको लागि आएको जानकारी प्रधान मन्त्री देउवालाई गराएकाे बताए । त्यसपछि सहर्ष स्वीकार्दै प्रधान मन्त्री देउवाले आफू आउने बताएका हुन् । प्रधान मन्त्री देउवाले अध्यक्ष ओ‌लीकाे बारेमासमेत साेधेकाे नेम्वाङ्गले बताए । ‘उहाँले अध्यक्षकाे बारेमा समेत चासाे राख्नुभयाे र साेध्नुभयाे । हामीले भन्याैँ । केही राजनीतिक कुराहरू पनि भए । स्वाभाविक रूपमा राजनीतिक व्यक्तिहरूबीचकाे भेटमा राजनीतिक कुराकानी हुनु ठिकै हाे,’ नेम्वाङ्गले भनेका छन् ।

एमालेले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीबाहेकका राजनीतिक दललाई महाधिवेशनमा निम्तो पठाउने बताएको छ । एमालेले विदेशस्थित कम्युनिष्ट पार्टीहरूलाई समेत निम्तो पठाएको छ । विदेशबाट समेत राम्रै सहभागिता रहने एमाले प्रचारप्रसार विभाग प्रमुख याेगेशकुमार भट्टराईले बताए ।

महाधिवेशनमा अन्य पार्टीका प्रतितिधिलाई पनि शुभकामनाका लागि निम्तो दिने चलन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *