कास्की कांग्रेसमा ‘लोकल प्यानल’, सबै क्षेत्रमा गुटका उम्मेदवार

पोखरा । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन चल्दै छ । सबै उम्मेदवारले बिहीबार नै उम्मेदवारी दर्ता गराएका छन् । आज मतदानको कार्यक्रम छ ।

६ वटा प्रदेश निर्वाचन क्षेत्र रहेको यहाँ सबै क्षेत्रमा स्थानीय गुट ‘लोकल प्यानल’ खडा भएको छ । कास्की क्षेत्र नम्बर १ मा पूर्व सभापति तथा पूर्व मन्त्री यज्ञबहादुर थापा र हालका सभापति कृष्ण केसीका उम्मेदवार खडा भएका छन् । थापा गुटबाट १ (क) को सभापतिमा दुर्गाप्रसाद सुवेदी र केसी गुटबाट मुराहरी कोइराला उम्मेदवार बनेका छन् । सबै पदमा उनीहरूको छुट्टाछुट्टै प्यानल छ । १ (ख) मा थापाले अर्जुन गुरुङलाई सभापतिमा उठाएका छन् भने केसी प्यानलको नेतृत्व कृष्णप्रसाद कोइरालाले गरेका छन् । यहाँ दुवै गुटबीच टफ कम्पिटिसन हुने बुझिएको छ ।

कास्की २ मा पुराना नेता शुक्रराज शर्मा र अर्का नेता देवराज चालिसेको छुट्टाछुट्टै प्यानल बनेको छ । पहिले चालिसे प्यानल बलियो रहेको यहाँ शर्माले गुट फेरेर देउवा पक्षीय उम्मेदवारलाई साथ लिएपछि शर्मा प्यानल केही अघि देखिएको छ । २ (क) मा शर्माले सभापतिमा दिनेश आचार्यलाई अघि सारेका छन् भने चालिसे गुटबाट वर्षाकेशव पराजुली उम्मेदवार बनेका छन् । (ख) मा शर्माले दीपेन्द्र मर्सानीलाई अघि सारेका छन् भने चालिसे प्यानलको नेतृत्व सुवास सिग्देलले गरेका छन् ।

कास्की १ र २ भन्दा ३ को राजनीति अझै भिन्न छ । क्षेत्र नम्बर ३ का दुईवटै प्रदेश क्षेत्रमा तरुण दलका जिल्ला अध्यक्ष मनोज गुरुङ र अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुँवरबीच प्रतिस्पर्धा हुने देखिएको छ । (क) मा पुष्पेन्द्र पाण्डेलाई कुँवरले उम्मेदवार बनाएको बुझिएको छ । गुरुङ प्यानलबाट दीपकराज पौडेल उम्मेदवार बनेका छन् । (ख) मा गुरुङ प्यानलबाट दीपकवीर कुँवर उम्मेदवार बनेका छन् भने कुँवरको प्यानलको नेतृत्व जीवनाथ पौडेल (शंकर) ले गरेका छन् ।

कास्कीका सबै क्षेत्रमा सभापतिमा २, उपसभापति, सचिव र सह-सचिवमा ४-४ जना उम्मेदवार छन् । उपसभापति, सचिव र सह-सचिवमा २-२ जना विजयी हुनेछन् । प्रदेश अधिवेशन प्रतिनिधिमा सबै क्षेत्रबाट १७ जनाका दरले निर्वाचित हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *