नेशनल पेमेन्ट स्वीचमा जोडिए यी २९ बैंक तथा वित्तीय संस्था

काठमाडौँ । नेपाल राष्ट्र बैंकले नेशनल पेमेन्ट स्वीच परियोजना अन्तर्गत पहिलो चरणको रिटेल पेमेन्ट स्वीच सञ्चालनको अन्तिम स्वीकृती प्रदान गरेसँगै २९ वटा बैंक तथा वित्तीय संस्था जोडिएका छन् । राष्ट्र बैंकले नेशनल पेमेन्ट स्वीच परियोजना अन्तर्गत पहिलो चरणको रिटेल पेमेन्ट स्वीच सञ्चालनको लागी हालै नेपाल क्लियरिङ हाउसलाई अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

शुक्रबार आयोजित सम्झौतामा हस्तान्तरण हुने कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नरहरु नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्रको उपस्थित थियो । त्यसैगरी नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्याय, डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष प्रद्युमन पोखरेल र फाइनान्स कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधारको पनि उपस्थिति थियो ।

उक्त नेशनल पेमेन्ट स्वीच नेपाल क्लियरिङ हाउसले दुइ चरणमा कार्यान्वयन गर्न लागेको छ । पहिलो चरणमा कार्ड बाहेकका रिटेल कारोबारमा प्रयोग हुने बैंक खाता, वालेट, क्युआर लगायतका भुक्तानीहरुको लागी आवश्यक पूर्वाधार तथा भुक्तानी उपकरणहरु स्थापना गरिएको छ भने दोश्रो चरणमा कार्डको लागी नेशनल कार्ड स्वीच र नेपाल पेमेन्ट कार्डको लागि आवश्यक कार्य अघि बढाइएको छ ।

नेशनल पेमेन्ट स्वीच सञ्चालनमा आए पश्चात राष्ट्र बैंकले प्रकाशित गरेको नेपाल क्युआर स्ट्याण्डर्ड पूर्ण रूपमा कार्यान्वयन गर्न सकिने छ, जस अन्तर्गत उक्त स्ट्याण्डर्डको नेपालपे क्युआर लागू हुनेछ भने नेपाल भित्र रहेका क्युआरबीच समेत अन्तरआबद्धता कायम गर्न सकिने छ । सेवा बापतको भुक्तानीहरुलाई कुनै पनि बैंक/वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकका वैकल्पिक च्यानलहरुबाट भुक्तानी गर्दा रिटेल पेमेन्ट स्वीच मार्फत कारोबार र यसको फर्छ्यौट गर्न सकिने छ ।

वालेट–वालेट बीचको अन्तरआबद्धता कायम गरी एउटा भुक्तानी सेवा प्रदायकबाट अर्को भुक्तानी सेवा प्रदायकमा वालेटबाट नै रकम ट्रान्स्फर गर्ने लगायतका भुक्तानी गर्न सकिनेछ । त्यस्तै विद्युतिय आदेशमा आधारित रिक्वेस्ट–टु–पे अन्तर्गतको नयाँ भुक्तानी उपकरणहरु प्रयोगमा आउने छन् । हाल सञ्चालनमा रहेका भुक्तानी प्रणाली सञ्चालक तथा अन्य संस्थाको अन्तिम सेटलमेन्ट समेत एनसीएचएल मार्फत गर्न सकिनेछ ।

नेशनल पेमेन्ट स्वीचमा आबद्ध हुन तथा सोको लागि तयारी गर्न बैंक/वित्तीय संस्था र भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली सञ्चालकहरुलाई एनसीएचएलले आवश्यक सहयोग गर्दै आएको छ । साथै उक्त पहिलो चरणको पूर्वाधारमा आबद्ध हुन र प्रयोग गर्न यसअघि एनसीएचएलमा आबद्ध भएका सबै सदस्य बैंक/वित्तीय संस्था तथा अन्य सदस्यहरुलाई सिधै उक्त रिटेल पेमेन्ट स्वीचमा पहुँच प्रदान गरिने गरी एनसीएचएलले पूर्वाधारमा लगानी गरेको छ । यसले नेशनल पेमेन्ट स्वीच लगायतका उपकरणहरुको कार्यान्वयन गर्न, कारोबार सम्बन्धी डाटा नेपाल भित्रै राख्न र ग्राहकहरुलाई विद्युतीय भुक्तानीको सेवा समेत सहुलियत रूपमा प्राप्त गराउन सहयोगी भूमिका खेल्ने छ ।

नेशनल पेमेन्ट स्वीचमा जोडिएका संस्था

कृषि विकास बैंक, बैंक अफ काठमाण्डू, सेञ्चुरी, सिटिजन्स, एभरेष्ट, हिमालयन, लक्ष्मी, माछापुच्छ्रे, मेगा, नबिल, एनआईसी एसिया, एनसीसी, नेपाल बंगलादेश, एनएमबी, प्रभु, प्राइम, सानिमा बैंक र सनराइज बैंक ।

मुक्तिनाथ, गरिमा, कामना सेवा, लुम्बिनी र महालक्ष्मी विकास बैंक ।

गुडविल, सेन्ट्रल, आईसीएफसी, मञ्जुश्री, रिलायन्स र समृद्धि फाइनान्स कम्पनी ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *