विद्यालय शिक्षाको सिकाइ अवस्था

नेपालमा साँच्चै विद्यालय शिक्षाको सिकाइ अवस्था कस्तो छ त ? यसको बारेमा कुरा गर्नुअघि विद्यालय शिक्षाको मुख्य उद्देश्यमा स्पष्ट हुनुपर्छ । सिकाइलाई कसरी परिभाषित गर्ने भन्नेबारे फरक फरक दृष्टिकोण रहेका छन् । एउटा सिकाइ जीवन पर्यन्त प्रक्रिया हो भन्ने दृष्टिकोण छ भने अर्को सिकाइ व्यवहार परिवर्तन हो भन्ने छ । सिकाइ भनेको यही हो भनेर ठ्याक्कै एउटै परिभाषाभित्र समेट्न नसकिए पनि सिकाइको अर्थ समय, परिवेश र सन्दर्भअनुसार फरक हुनसक्छ ।

सिकाइ व्यक्तिअनुसार पनि फरक पर्ने गर्छ । विद्यालय शिक्षाको सिकाइ के हो भन्ने सन्दर्भबाट हेर्ने हो भने सिकाइ उपलब्धिलाई आधार मानेर विश्लेषण गर्न सकिन्छ । यो एक प्रचलित विधि हो । सिकाइ उपलब्धिलाई औपचारिक र स्तरीकृत परीक्षाको आधारमा मापन गरिन्छ र सोही अनुसार विश्लेषण गर्न सकिन्छ ।

सिकाइका लागि औपचारिक विद्यालय र पाठ्यक्रम किन ?
संसारमा औपचारिक शैक्षिक संस्थाहरू स्थापना किन भए होला ? किन शिक्षा सिकाइलाई औपचारिक बनाइयो होला ? गुरुकुलले मात्र किन भएन ? होम स्कुलिङ किन सम्भव भएन भन्ने विषयमा छलफल गर्ने हो भने न्यूनतम सिक्नुपर्ने ज्ञान र सीप एउटै थलोमा एकै तरिकाले सिकाउन औपचारिक विद्यालय र पाठ्यक्रमको प्रचलन सुरु भएको हो । सबैका लागि सिक्ने थलो एउटै हुने, सिक्ने विषय एउटै हुने, सिकाउने व्यक्ति एउटै हुनुपर्ने भएकाले सिकाइका लागि औपचारिक विद्यालय र पाठ्यक्रमको अवधारणा आएको देखिन्छ । यसमा के सबैलाई सिकाइने विषयहरू एउटै हुनुपर्छ ? वा सबैलाई किन एउटै ? फरक हुनुपर्छ ? किन एउटै विषय सिक्नुपर्‍यो भन्नेहरू पनि छन् ।

औपचारिक शिक्षाका आधारभूत सिकाइका विषयहरू एउटै हुन्छन् र सबैले सिक्ने कुरा एउटै नै हुन् भनेर त्यसलाई विश्लेषण गर्न सकिन्छ । राष्ट्रिय पाठ्यक्रमहरू किन बनाउने ? त्यो पाठ्यक्रमको सिकाइमा सहभागी हुने सबैले सिक्नुपर्ने न्यूनतम कुराहरू तोक्नका लागि पाठ्यक्रम र विद्यालयको औपचारिक संरचना बनाउने प्रचलन सुरु भएको हो । त्यही हिसाबले हेर्दा एउटै हुनुपर्छ भनिएको हो । फरक हुनुपर्छ भन्ने हो भने यसले फेरि अर्को बहसको सिर्जना गर्न सक्छ । र अर्को शिक्षा पद्धतिको माग गर्छ ।

औपचारिक शिक्षाका आधारभूत सिकाइका विषयहरू एउटै हुन्छन् र सबैले सिक्ने कुरा एउटै नै हुन् भनेर त्यसलाई विश्लेषण गर्न सकिन्छ । राष्ट्रिय पाठ्यक्रमहरू किन बनाउने ? त्यो पाठ्यक्रमको सिकाइमा सहभागी हुने सबैले सिक्नुपर्ने न्यूनतम कुराहरू तोक्नका लागि पाठ्यक्रम र विद्यालयको औपचारिक संरचना बनाउने प्रचलन सुरु भएको हो ।

सबैका लागि एउटै हुनुपर्छ भने पनि के के र कति एउटै हुनुपर्ने भन्ने प्रश्न उठ्छ । फरक भए कति फरक ? किन फरक ? कहिले फरक ? कसरी फरक ? भन्ने लगायतका प्रश्नहरू जन्मिछन् । हामीसँग औपचारिक विद्यालयहरू छन्, शैक्षिक संस्थाहरू छन्, पाठ्यक्रम छ, शिक्षकहरू छन्, र समग्र शिक्षा प्रणालीमा सार्वजनिक खर्चको ठूलो रकम विनियोजन हुन्छ भने त्यसबाट खास सिक्ने न्यूनतम कुरा विद्यार्थीले सिक्नैपर्छ भन्ने नै हो ।

औपचारिक सिकाइ प्रणालीका आलोचनाहरू
औपचारिक सिकाइका केही आलोचनाहरू पनि रहेका छन् । पहिलो‚ औपचारिक शिक्षाले सिर्जनात्मक क्षमतालाई मार्छ भन्ने आलोचना रहेको छ । दोस्रो‚ औपचारिक सिकाइ बैङ्किङ दृष्टिकोणको भयो‚ जसको अर्थ यसमा डिपोजिटमात्र भन्ने हुन्छ, तेस्रो‚ परीक्षामात्र भयो सिकाइ भएन, जाँचमा मात्र केन्द्रित भयो भन्ने अर्को आलोचना रहेको छ । अर्को‚ विद्यार्थीको स्थानलाई श्रेणी, ल्याकतमा मात्र ध्यान दिएको भन्ने आलोचना पनि रहेको छ । त्यस्तै सामाजिक न्याय भएन भन्ने आलोचना पनि यसैभित्र रहेको छ । यी आलोचना भएपनि हामीले एउटा आधारभूत तहको सिकाइका लागि र न्यूनतम सिकाइका लागि औपचारिक शिक्षाको विकल्प विकास गर्न सक्दैनौँ ।

औपचारिक शिक्षाको मुख्य उद्देश्य के हो ?
औपचारिक शिक्षाको मुख्य उद्देश्य भनेको ज्ञान सिकाउने हो । पाठ्यक्रमले तोकेका उपलब्धि हासिल गराउने हो । यदि ज्ञान सिकाउन सकेन वा तोकिएका उपलब्धि हासिल भएन भने त्यो विद्यालय, पाठ्यक्रम वा शिक्षा प्रणाली नै असफल रहेछ भन्ने बुझ्नुपर्छ ।

शिक्षाको आधारभूत ज्ञान सिकाउन बाहेक अन्यका लागि औपचारिक विद्यालय वा शिक्षा नभए पनि हुन्छ । हामीले विद्यालयमा जुन कुरा न्यूनतम रूपमा जसलाई सिकाउनुपर्ने हो‚ त्यो कुरा सिकाउन विद्यालय नै चाहिन्छ । उदाहरणका लागि गणित, भाषा र विज्ञानको कुरा सबैलाई सिकाउने हो भने स्कुल नै चाहिन्छ । घरघरमा सबैले सबैलाई त्यो सिकाउन सक्दैन । यदि कसैले सिकाए पनि त्यो प्रभावकारी हुँदैन । तर यी बाहेकका कतिपय सीपहरू औपचारिक विद्यालय नभए पनि सिकाउन सकिन्छ । तालिमप्राप्त, योग्य र दक्ष शिक्षकको व्यवस्था गर्नुपर्दैन, यसका आफ्नै विधि हुन्छन् । औपचारिक शिक्षाको उद्देश्य हासिल गर्नका लागि औपचारिक, र संरचित पाठ्यक्रम, शिक्षक, परीक्षा लगायतका व्यवस्थाहरू गरिएको हो र यसभित्र पनि सिकाइको उद्देश्य भने प्रमुख भएर आउँछ ।

नेपालमा विद्यालय शिक्षा सिकाइको अवस्था
स्तरीकृत परीक्षाहरूलाई सिकाइको अनुगमन गर्ने साधनको रूपमा प्रयोग गर्दा तीन तरिकाले हेर्ने गरिएको छ । एउटा अहिले विद्यार्थीको अवस्था कस्तो छ ? दोस्रो उनीहरू सिकाइका दृष्टिले कता गइरहेका छन् ? र तेस्रो सिकाइमा भएको ग्यापलाई कसरी पूरा गर्ने ? यी कार्यका लागि संसारमा विभिन्न प्रकारका परीक्षाहरूको प्रचलन रहेको छ । नेपालमा शैक्षिक गुणस्तर परीक्षण केन्द्रले राष्ट्रिय पाठ्यक्रमले विषयगत रूपमा राखेका उद्देश्यहरूको आधारमा परीक्षण गर्छ ।

यो स्तरीकृत परीक्षण हो । विषयगत प्रश्नको साथसाथै त्यसमा सिकाइमा प्रभाव पार्ने विभिन्न सूचना र पृष्ठभूमि पनि रहेका हुन्छन् । परीक्षणमा नमुना छनोटमा गरिन्छ‚ र त्यसका लागि स्थापित नमुना छनोटको विधि नै प्रयोग गरिएको हुन्छ । तथ्याङ्क विश्लेषणका लागि विकसित तथ्याङ्क शास्त्रीय मोडेल प्रयोग गरिएको हुन्छ । कक्षा ३, ५, ८ र १० मा गणित‚ विज्ञान र भाषिक सीप (नेपाली, अङ्ग्रेजी)को परीक्षणसम्बन्धी कार्य गरिएको हुन्छ । त्यहीँबाट आउने नतिजा र अरू केही नतिजाहरूलाई निम्नानुसार विश्लेषण गर्न सकिन्छ ।

स्तरीकृत परीक्षाहरूलाई सिकाइको अनुगमन गर्ने साधनको रूपमा प्रयोग गर्दा तीन तरिकाले हेर्ने गरिएको छ । एउटा अहिले विद्यार्थीको अवस्था कस्तो छ ? दोस्रो उनीहरू सिकाइका दृष्टिले कता गइरहेका छन् ? र तेस्रो सिकाइमा भएको ग्यापलाई कसरी पूरा गर्ने ?

राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम नेपालमा सन् २०१५ देखि २०२१ सम्म यूएसएआईडीको सहयोगमा नेपाल सरकारको परियोजनाको रूपमा सञ्चालन भएको थियो । यो परियोजनाले गरेको कक्षा ३ को परीक्षणमा कक्षा ३ अन्तिममा पुग्दा पनि नेपाली भाषामा लेखिएका शुद्ध शब्दहरू पढ्न सक्ने क्षमता एकदम कमजोर भएको पाइएको छ ।

परियोजना सञ्चालन भएका जिल्लाका कक्षा ३ का २४ प्रतिशत विद्यार्थीले एउटा पनि नेपाली शब्द शुद्धसँग पढ्न नसकेको नतिजा आएको थियो । परियोजना लागू नभएको अन्य जिल्लाका ४१ प्रतिशत विद्यार्थीले कक्षा ३ मा एउटा शब्द पनि शुद्धसँग उच्चारण गर्न नसकेको पाइएको थियो । भाषाको कक्षामा यो परियोजनाले प्रतिमिनेट पठन प्रवाह भन्ने अर्को अध्ययन गरेको थियो । उक्त अध्ययनमा एक मिनेटमा कतिवटा शब्द पढ्न सक्छन् भनेर अध्ययन गरिन्छ । त्यसमा परियोजना सञ्चालन भएका जिल्लामा औसतमा एक मिनेटमा ३३ वटा शब्द पढेका थिए भने परियोजना सञ्चालन नभएको जिल्लामा २२ शब्दमात्र पढ्ने गरेको पाइएको थियो ।

शैक्षिक गुणस्तर परीक्षण केन्द्रले बाह्य अनुसन्धानकर्तामार्फत ३३ जिल्लाका ५८० विद्यालयका २८ सय ८९ विद्यार्थीमा गरेको अध्ययनमा एउटा पनि शब्द पढ्न नसक्ने विद्यार्थी १० प्रतिशत, एउटादेखि १५ शब्दसम्म पढ्ने विद्यार्थी २८ प्रतिशत, १६ देखि ४४ वटा शब्द पढ्ने ४३ प्रतिशत र १९ प्रतिशत विद्यार्थी जसलाई सक्षम पाठक भनिएको छ‚ उनीहरूले ४५ वटा भन्दा धेरै शब्द पढ्न सक्ने पाइएको थियो । ६० शब्दको अनुच्छेद एक मिनेटमा पढेर सक्ने र त्यही अनुच्छेदबाट सोधिएको प्रश्नको बोध गरिएको आधारमा तोकिएको पठन सक्षमता हासिल गर्ने विद्यार्थी ९ प्रतिशत भएको पाइएको थियो ।

सन् २०१८ मा कक्षा ५ को गणित र नेपाली विषयमा गरिएको परीक्षणमा गणितमा २८ प्रतिशत विद्यार्थीले र नेपालीमा ४५ प्रतिशत विद्यार्थीले उपयुक्त स्तरको सिकाइ, गणितमा ३९ प्रतिशत विद्यार्थीले र नेपालीमा ३५ प्रतिशत विद्यार्थीले न्यूनतम स्तरको सिकाइ र गणितमा ३२ प्रतिशत विद्यार्थी र नेपालीमा २० प्रतिशत विद्यार्थीले कक्षामा सिक्नुपर्ने न्यूनतम सिकाइ हासिल गर्न नसकेको पाइएको थियो । कक्षा १० मा ४ वटा विषयमा गरिएको अध्ययनमा गणितमा १९ प्रतिशत, विज्ञानमा ३७ प्रतिशत, नेपालीमा २० प्रतिशत र अङ्ग्रेजीमा ३० प्रतिशत विद्यार्थीको सिकाइ अति न्यून पाइएको छ ।

विद्यालय तहमा देखिएको यो कमजोर सिकाइले उच्च शिक्षामा समेत असर पारेका केही सङ्केतहरू प्राप्त भएका छन् । चिकित्सा शिक्षा आयोगले यसै वर्ष लिएको प्रवेश परीक्षाको उत्तीर्ण दर तथा शिक्षक सेवा आयोगले लिएको शिक्षक अध्यापन अनुमति पत्रको परीक्षा र लोकसेवा आयोगले लिने विभिन्न परीक्षाको प्रारम्भिक परीक्षाको उत्तीर्णदर एकदमै कमजोर र समस्यामूलक छ । चिकित्सा शिक्षा आयोगको परीक्षामा तोकिएको सिट सङ्ख्याअनुसारका विद्यार्थी उत्तीर्ण हुन सकेनन् ।

औपचारिक शिक्षाको मुख्य उद्देश्य भनेको ज्ञान सिकाउने हो । पाठ्यक्रमले तोकेका उपलब्धि हासिल गराउने हो । यदि ज्ञान सिकाउन सकेन वा तोकिएका उपलब्धि हासिल भएन भने त्यो विद्यालय, पाठ्यक्रम वा शिक्षा प्रणाली नै असफल रहेछ भन्ने बुझ्नुपर्छ ।

हाम्रो विद्यालय शिक्षाको सिकाइ अहिलेमात्र कमजोर भएको होइन । कक्षा १० को मूल्याङ्कनमा अक्षराङ्कन पद्धति लागू हुन हुनुभन्दा पहिलेको ८२ वर्षको इतिहासलाई हेर्दा ८२ वर्षमध्ये सबैभन्दा धेरै २७ वर्षको उत्तीर्ण प्रतिशत ३० देखि ४० प्रतिशतको बीचमा रहेको थियो ।

विद्यालय शिक्षाको सिकाइ उपलब्धिसँग आर्थिक वृद्धिदरको समेत सम्बन्ध हुने अनुसन्धानहरूले देखाएका छन् । उच्च शिक्षा‚ जुन मानव पुँजी विकासको आधार हो‚ उक्त तहको शिक्षाको गुणस्तर विद्यालय शिक्षाको गुणस्तरमा भर पर्छ । के विद्यार्थीको सिकाइ उपलब्धि नै शिक्षाको गुणस्तर हो ? भन्ने प्रश्नहरू पनि छन् । सिकाइ उपलब्धिमात्र गुणस्तर होइन‚ तर यो माथि उल्लेख गरिएअनुसार औपचारिक शिक्षाको प्रभावकारिता मापन गर्ने सबैभन्दा विश्वसनीय र प्रचलित विधि हो ।

हामीले सिंगापुर, फिनल्यान्ड, जापान, कोरियाको शिक्षा राम्रो भन्छौँ त्यो राम्रो बन्ने आधार पनि विभिन्न अन्तरराष्ट्रिय परीक्षणमा ती देशका विद्यार्थीले हासिल गरेको अङ्क नै हो । यस अर्थमा औपचारिक विद्यालय शिक्षाको मुख्य उद्देश्य विद्यार्थी सिकाइ हो । नेपालको सन्दर्भमा विद्यालय शिक्षाको सिकाइ कमजोर छ ।

(२०७८ कार्तिक ३० गते मार्टिन चौतारीले आयोजना गरेको विद्यालय शिक्षाको सिकाइ अवस्था विषयक अन्तरक्रिया कार्यक्रमको प्रस्तुतीकरणको सम्पादित अंश ।)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *