पोखरा पर्यटकीय राजधानी बहस : प्रदेशले फेरि पठायो सिफारिस

पोखरा । पोखरालाई अघोषित रूपमा सबैले पर्यटनको राजधानी मान्छन् । यहाँका प्राकृतिक सुन्दरताका कारण धेरै पटक राजधानी घोषणा गर्नुपर्ने आवाज पनि उठ्यो । औपचारिक रूपमै प्रस्तावहरू गएका छन् । तर संघ सरकारले सुन्ने कान लगाएन । प्रदेश सरकारले दोस्रो पटक पर्यटकीय राजधानी घोषणा गरिदिन सिफारिस पठाएको छ ।

कात्तिक २९ गते बसेको मन्त्रिपरिषद् बैठकले राजधानी घोषणाको माग गरेको हो । यसअघि एमाले नेतृत्वको सरकार हुँदा पनि पर्यटकीय राजधानी घोषणा गर्न माग गरेको थियो । पोखरा महानगरपालिकाले नगर सभाबाटै पारित गरेर राजधानी घोषणाको माग गरेको छ । संघ सरकारले मन फुकाएर पोखराको पर्यटनमा लगानी पनि गरेको छैन । न महत्त्वका साथ सम्बोधन गर्छ । यहाँका नेता र सांसदहरूले सार्वजनिक कार्यक्रमहरूमै घोषणाको माग गर्छन् ।

 निर्णय गरे पनि संघको प्रतिक्रिया बुझ्न बाँकी रहेको प्रवक्ता कुमार खड्काले बताए । ‘पहिले कसरी गयो थाहा भएन । अहिले हामीले इन्डिकेटर सहित पठाउने भनेका छौँ,’ उनले भने, ‘ इन्डिकेटर बनाउन पर्यटन मन्त्रालयलाई भनेका छौँ । त्यो तयार भएपछि मात्रै संघमा पठाउँछौँ ।’

प्रधानमन्त्रीले पनि पटक पटक पर्यटनको राजधानी बनाउने कुरा भाषणहरूमा गरेकाले ग्रिन सिग्नल पाएको खड्का बताउँछन् । ‘केही सिग्नल पाएका छौँ । अहिले हाम्रै नेतृत्वको सरकार छ । भन्न पनि सजिलो छ,’ उनी भन्छन्, ‘सिग्नल पाएरै अघि बढाइएको हो । संघले घोषणा गर्छ भन्ने विश्वास छ ।’

मन्त्रिपरिषद्ले पर्यटन क्षेत्रको आर्थिक विकास तथा पुनरुत्थानका लागि प्रदेश सरकार र दातृ निकायबीच साझेदारीमा काम गर्ने निर्णय पनि गरेको छ । यसको सहमतिका लागि अर्थ मन्त्रालयमा सिफारिस पठाउने निर्णय गरेको छ । प्रदेशको पर्यटन क्षेत्रमा साझेदारी गर्न चाहने विभिन्न निकायहरूले संघ सरकारसँग सहमति लिनुपर्ने संवैधानिक व्यवस्थाका कारण सहमति मागिएको उनले बताए । यो सिफारिस संघले कार्यान्वयन गरिदिए पर्यटन क्षेत्रको विकासमा थप टेवा पुग्ने प्रदेश सरकारको विश्वास छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *