नेशनल पेमेन्ट स्वीच सञ्चालन गर्न एनसीएचएललाई स्वीकृति

काठमाडौं। नेशनल पेमेन्ट स्वीच परियोजना अन्तर्गत पहिलो चरणको रिटेल पेमेन्ट स्वीच सञ्चालन गर्न नेपाल क्लियरिङ हाउस लिमिटेड(एनसीएचएल)ले नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएको छ ।

विद्युतीय भुक्तानीका उपकरण (डिजिटल पेइमेन्ट इक्विपमेन्ट)हरु भुक्तानी कार्ड, रिटेल पेमेन्ट, क्युआर लगायतका विद्युतीय भुक्तानीका माध्यम बीच अन्तर–आबद्धता कायम गर्दै नेपालभित्र हुने कारोबारको भुक्तानी र फरफारक गर्न तथा नेपालको आफ्नै भुक्तानी कार्ड समेत प्रयोगमा ल्याउन नेशनल पेमेन्ट स्वीच सञ्चालनमा ल्याउन लागिएको हो ।

नेशनल पेमेन्ट स्वीच अन्तर्गत को पहिलो चरण रिटेल पेमेन्ट स्वीच सञ्चालनका लागि पूर्वाधार भयार भएपछि स्वीकृति प्रदान गरिएको राष्ट्र बैंकले जनाएको छ । यो स्वीचमा आबद्ध हुने बैंक तथा वित्तीय संस्थाहरु, भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली सञ्चालकलगायतसँग समन्वय गरी प्रणाली सञ्चालनमा ल्याउने एनसीएचएलले जनाएको छ।

नेशनल पेमेन्ट स्वीच नेपाल क्लियरिङ हाउसअन्तर्गत दुई चरणमा कार्यान्वयन गर्ने काम हुँदै आएको छ। पहिलो चरणमा कार्ड बाहेकका रिटेल कारोबारमा प्रयोग हुने बैंक खाता, वालेट, क्युआरलगायतका भुक्तानीको लागि आवश्यक पूर्वाधार तथा भुक्तानी उपकरणहरु स्थापना गरिएको छ।

दोस्रो चरणमा कार्डको लागि नेशनल कार्ड स्वीच र नेपाल पेमेन्ट कार्डको लागि आवश्यक कार्य अघि बढाइएको छ।

नेशनल पेमेन्ट स्वीच सञ्चालनमा आएपछि राष्ट्र बैंकले प्रकाशित गरेको नेपाल क्युआर स्ट्याण्डर्ड पूर्णरूपमा कार्यान्वयन गर्न सकिने नेपाल राष्ट्र बैंकले जनाएको छ । यस अन्तर्गत उक्त स्ट्याण्डर्डको नेपालपे क्युआर लागू हुनेछ भने नेपालभित्र रहेका क्युआरबीच समेत अन्तर(आबद्धता कायम गर्न सकिने छ।

सेवाबापतको भुक्तानीहरुलाई कुनै पनि बैंक÷वित्तीय संस्था वा भुक्तानी सेवाप्रदायकका वैकल्पिक च्यानलहरुबाट भुक्तानी गर्दा रिटेल पेमेन्ट स्वीचमार्फत कारोबार र यसको फर्छ्यौट गर्न सकिने छ।

वालेट–वालेट बीचको अन्तर(आबद्धता कायम गरी एउटा भुक्तानी सेवा प्रदायकबाट अर्को भुक्तानी सेवा प्रदायकमा वालेटबाट नै रकम ट्रान्सफर गर्ने लगायतका भुक्तानी गर्न सकिनेछ। त्यस्तै विद्युतीय आदेशमा आधारित रिक्वेस्ट–टु–पे अन्तर्गतको नयाँ भुक्तानी उपकरणहरु प्रयोगमा आउने छन्। हाल सञ्चालनमा रहेका भुक्तानी प्रणाली सञ्चालक तथा अन्य संस्थाको अन्तिम सेटलमेन्ट समेत एनसीएचएलमार्फत गर्न सकिनेछ।

नेशनल पेमेन्ट स्वीचमा आबद्ध हुन तथा त्यसको लागि तयारी गर्न बैंकरवित्तीय संस्था र भुक्तानी सेवाप्रदायक तथा भुक्तानी प्रणाली सञ्चालकहरुलाई एनसीएचएलले आवश्यक सहयोग गर्दै आएको जनाएको छ ।

पहिलो चरणको पूर्वाधारमा आबद्ध हुन र प्रयोग गर्न यसअघि एनसीएचएलमा आबद्ध भएका सबै सदस्य बैंकरवित्तीय संस्था तथा अन्य सदस्यहरुलाई सिधै यो रिटेल पेमेन्ट स्वीचमा पहुँच प्रदान गरिने गरी एनसीएचएलले पूर्वाधारमा लगानी गरेको छ। यसले नेशनल पेमेन्ट स्वीच लगायतका उपकरणहरुको कार्यान्वयन गर्न, कारोबार सम्बन्धि डाटा नेपालभित्रै राख्न र ग्राहकहरुलाई विद्युतीय भुक्तानीको सेवा समेत सहुलियत रूपमा प्राप्त गराउन सहयोगी भूमिका खेल्ने छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *