मुस्ताङको हिमपहिरोमा १२० चौँरी बेपत्ता

म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका-२ को जङ्गलमा चराउन लगिएका १५० याक र चौँरी हिमपहिरोमा परेर बेपत्ता भएका छन् । कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरिकोटको शिरमा रहेको मानापाथी हिमालबाट खसेको हिउँपहिरोमा परेर दुई गोठका याक र चौंरीगाई बेपत्ता भएका हुन् ।

हिउँपहिरोले नाउरीकोटकी रत्नकुमारी शेरचनको घरको छानो उडाएको वडाअध्यक्ष नरप्रसाद हिराचनले जानकारी दिए । ‘भागदौड मच्चिदा सामान्य घाइते भएका कोबाङको जनआदर्श अमरसिंह माविका ११ जना शिक्षक विद्यार्थी जोमसोममा उपचारपछि घर फर्कनुभएको छ,’ उनले भने, ‘भीम शेरचन र सकेन्द्र गौचनका ६५/६५ वटा याक चौँरीमध्ये १०/१२ वटा मात्र भेटिएका छन् ।’

हिमपहिरो आएको क्षेत्रमा भएका गोठाला सुरक्षित रूपमा सम्पर्कमा आएका छन् । १३० याक चौँरीमध्ये बाइनाकुलरले हेर्दा १०/१२ मात्र देखिएको र बेपत्ता चौँरी हिमपहिरोले पुरिएको हुनसक्ने अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।

हिमपहिरोले जङ्गलमा रुख ढलाएको छ । वन्यजन्तुको वासस्थानमा क्षति पुगेको छ । हिमपहिरोपछि बोस्की खोलामा पानीको सतह बढेको थियो । बेनी-जोमसोम सडकमा केही समय यातायात आवतजावत बन्द भएको थियो ।

नाउरीकोट गाउँको घरभित्र पसेको हिउँ पग्लिएर हिलाम्मे भएको छ । घरको छाना र आँगनमा सुकाएको बिस्कुन तथा खेतबारीको अन्नबालीमा पनि हिउँपहिरोले क्षति पुगेको छ । जङ्गलमा चर्न गएका गाई, भैँसी र भेडा पनि हताहत भएको हुनसक्ने वडाध्यक्ष हीराचनले बताए । उवा र फापरबालीमा क्षति पुगेको छ ।

सांसद प्रेमप्रसाद तुलाचन, प्रदेशसभा सदस्य चन्द्रमोहन गौचन, महेन्द्र थकाली, प्रजिअ शर्मालगायत सुरक्षा अधिकारीको टोलीले स्थलगत निरीक्षण गर्नुभएको थियो । क्षतिको विवरण सङ्कलन भइरहेको कोवाङ प्रहरी चौकीका प्रमुख नेत्र जिटीले बताए । दिउँसो ११ः४० मा ठूलो आवाज हिउँको मुस्लो आएपछि भागाभाग भएको थियो ।

हिम पहिरोको धक्का नाउरिकोट गाउँ, बोक्सी खोला नजिक बेनी-जोमसोम सडकसम्म आउँदा त्रसित भएर भागाभाग भएको जनआदर्श अमरसिंह माध्यमिक विद्यालयका प्रअ खेम गुरुङले बताए ।

हिउँदयाममा हिउँ जम्नुपर्नेमा बेमौसममा हिमपहिरो गएको प्रतिनिधिसभा सदस्य तुलाचनले बताए । तापक्रम वृद्धि र जलवायु परिवर्तनको असरले बेमौसममा हिमपहिरो गएको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *