राष्ट्रिय वाणिज्य बैंक र नेपाल आयल निगमबीच सम्झौता

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल आयल निगमबीच तलबी बचत खाता सञ्चालन तथा बिनाधितो पेसाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौतापश्चात निगममा न्यूनतम दुई वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरुलाई निगमको सिफारिसमा अधिकतम १५ लाख रुपैयाँसम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधीनमा रही बैंकले बिनाधितो पेसाकर्मी सरल कर्जा प्रवाह गर्ने जनाएको छ ।

बैंकले आधार दरमा दुई प्रतिशत प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्नेछ । हाल बैंकको आधारदर ५.४१ प्रतिशत रहेको छ । सम्झौताअनुसार निगमका कर्मचारीहरूको तलबी खाता बैंकले सञ्चालन गर्नेछ । यो सम्झौतापश्चात् दुवै पक्ष लाभान्वित हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *