राकेश खत्री, जो चराका लागि गुँड बनाउने गर्छन्

दिल्लीका राकेश खत्री चराका लागि गुड बनाउने काम गरिरहेका छन् । उनले चराका लागि गुँड बनाउनाले लाखौँ चराहरू सहरमा पनि आरामले बस्न पाएका छन् । वन-जङ्गल तथा वातावरण विनाशले अहिले धेरै जातका चराहरू वासस्थान र उचित वातावरणको अभावमा लोप हुने अवस्थामा पुगेका छन् ।

दिल्लीको एक गल्लीमा हुर्किएका राकेशले आफ्नो घरको कुना काप्चामा सुन्दर चराहरू आएर गुँड बनाएको देखेका थिए । सिलिङको पङ्खा, विद्युत्‌को मिटर बक्सको कुनामा चराले गुँड बनाएर बचेरा हुर्काएको उनले देखेका थिए । राकेशलाई उनका बुबाआमाले पङ्खा धेरै नचलाउनू भन्दै गाली गर्थे । यदि चरालाई क्षति पुगिहाले राकेश कारबाहीमा पर्थे । त्यही संस्कारले गर्दा राकेश आफ्नो कारणले कुनै चरालाई हानी नपुगोस् भन्ने कुरामा सधैँ चनाखो हुन थाले । राकेश जब दिल्लीबाट अशोक विहारमा बसाइँ सरेर गए‚ त्यहाँ अशोकले आफू बस्दै आएको ठाउँभन्दा फरकपनको अनुभव गर्न पाए ।

उनले त्यहाँ आफू हुर्कँदै गर्दा दिल्लीका गल्लीहरूमा देखिएका जस्ता चराहरू देख्नै पाएनन् ।

चारैतिर भौतिक संरचनामात्र थियो । रुख र बुट्टाहरू देख्नै कठिन भयो । आधुनिक भवनहरूले प्रायः सबै क्षेत्र ढाकेका थिए‚ जहाँ चराले गुँड बनाउने कुनै ठाउँ नै थिएन । यस्तो परिस्थिति देखेपछि राकेशले आफ्नै हातले चराका लागि गुँड बनाउने निर्णय गरे । त्यसपछि उनले काँचो नरिवलको पानी खाएर यत्रतत्र फालिएको नरिवलको बोक्रा प्रयोग गर्ने योजना बनाए ।

त्यसपछि राकेशले नरिवलको बोक्रामा पत्रिका र सुकेको घाँस बनाएर एउटा काठको डन्डीको सहायताले त्यसलाई रुखमा टाँगिदिए । त्यसपछि दैनिक राकेशले त्यो गुँडलाई हेर्थे‚ तर त्यहाँ कुनै चरा आएर बसेको हुँदैनथ्यो । त्यसपछि उनका छिमेकीले समेत राकेशको खिल्ली उडाउन थाले‚ जसले राकेशलाई हतोत्साहित बनायो । ‘चरा आफैँ गुड बनाउँछन् तिमीले बनाएको गुँडमा आएर बस्दैनन्’ भनेर मानिसहरूले भन्न थाले । त्यसले उनलाई दुखी बनायो । तर उनले कोसिस गर्न नछाड्ने प्रण गर्दै पूरा दिन समस्याको समाधान खोज्नतर्फ लागे । राकेशले गुँड बनाउने तरिकामा परिवर्तन गर्नका लागि चोया प्रयोग गर्ने निर्णय गरे ।

चोयालाई धागोले बाँधेर राकेशले चराका लागि गोलो घर बनाए । त्यसको बाहिर जुटको बोराले बेरेर राकेशले त्यसलाई फेरि सुकेको घाँसले बेरे अनि घरको बाहिर सिलिङमा लगेर राखे । त्यति मेहनत गर्दा पनि ३ दिनसम्म कुनै चराले उनको गुँड हेरेनन्‚ तर चौथो दिन चरा आएर राकेशले बनाएको गुँडमा बस्यो । त्यसपछि राकेशका छिमेकीले उनलाई त्यस्तै गुँड आफ्नो घरमा राख्नका लागि माग्न थाले । त्यसपछि राकेशले २० वटा गुँड बनाएर छिमेकीलाई बाँडे । उनले बनाएको २० वटा नै गुँडमा चरा आएर बस्यो । राकेश भन्छन्, ‘कुनै प्राणीका लागि आश्रय दिनुले जति पुण्य अरू कुनै कामले हुन्छ जस्तो लाग्दैन । यी चराबाट मैले प्रशस्त आशीर्वाद पाएको छु ।’

राकेशले गुँड बनाउने कलालाई फैलाउने सोचेर अरूलाई पनि तालिम दिन सुरु गरे । त्यसपछि विद्यालय, कर्पोरेट कार्यालय, महिला सङ्गठनलगायत सबैले गुँड बनाउने प्रशिक्षणका लागि राकेशलाई बोलाउन थाले । ६ वर्षका बालबालिकादेखि ८० वर्षका वृद्धवृद्धाहरूलाई समेत राकेशले तालिम दिएका छन् ।

राकेश भन्छन्, ‘सबैभन्दा खुसी आफूले बनाएको गुँडमा चरा बसेर अण्डा कोरल्दा र त्यो बचेरा उड्न सक्ने हुँदा लाग्छ । त्यसपछि फेरि त्यही गुँडमा अर्को चरा आएर बस्दा खुसीको कुनै सीमा नै रहँदैन ।’ राकेशले अहिलेसम्म २ लाख ५० हजार व्यक्तिलाई गुड बनाउने तालिम दिइसकेका छन् ।

यसो गर्दा तालिम दिने क्रममा आफैँले बनाएको गुँड कुल १ लाख २५ हजार भइसकेको छ । दुई पटक लिम्का बुक अफ रेकर्डमा राकेशले नाम लेखाइसकेका छन् । त्यससँगै ग्रिन एप्पल अवार्ड पनि राकेशले जितिसकेका छन् । अहिले राकेशको नाम एउटा च्याप्टरमा छापिएको छ‚ जसलाई बालबालिकाले पढ्ने गरेका छन् । उनले वातावरणमैत्री गुँड बनाएर आफ्नो नाम संसारभरि चिनाउने काम गरेका छन् । –एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *