तरलता अभाव चुलियाे

अर्थमन्त्रीलाई बैंकरको सुझाव– आयात नियन्त्रण गर्नुस्, सरकारी खर्च बढाउनुस्

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बैंकिङ प्रणालीमा चुलिएको तरलता अभावलगायत वित्तीय क्षेत्रका समस्याबारे बैंकरहरुसँग छलफल गरेका छन् ।

राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नरहरु र विभिन्न बैंकका प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालकहरुसँग अर्थमन्त्री शर्माले शुक्रबार छलफल गरेका हुन् ।
छलफलमा धेरैजसो बैंक तथा वित्तीय संस्थाका सीईओ तथा प्रमुखहरुले तरलता भाव समाधान गर्न अनियन्त्रित ढंगले बढेको वस्तु आयात नियन्त्रण गर्नुपर्ने, सरकारी ढुकुटीबाट बजेट खर्च बढाउनु पर्ने सुझाव अर्थमन्त्रीलाई दिएका छन् ।

सरकारले राजस्व सङ्कलन बढाएर ढुकुटीमा पैसा जम्मा गरेको तर खर्च गर्न नसक्दा तरलतामा चाप परेको उनीहरुको धारणा छ ।

आयात चुलिँदै जाँदा शोधनान्तर घाटा बढेकोले फजुल खर्च नगरी निन्त्रित गर्दै विलासिता र रोक लगाउँदा पनि फरक नपर्ने बस्तु आयात रोक्न माग गरेका छन् ।

त्यस्तै, स्थानीय तहमा जान झण्डै साढे ३ खर्ब रुपैयाँ बजेटलाई बैंकहरुले ५० प्रतिशत मात्रै नभई शतप्रतिशत नै निक्षेपका रुपमा गणना गर्न पाउनु पर्ने माग उनीहरुले राखेका छन् ।

त्यस्तै, सरकारी कर्मचारीलाई दिइने तलब सुविधा एक महिनामा नभई १५ दिनमै भुक्तानी गर्ने व्यवस्था गरे तरलता सहज हुने सुझाव समेत बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले राखेका छन् । यसरी १५/१५ दिनमा तलब दिने गर्दा उक्त पैसा बैंकिङ प्रणाली तथा बजारमा प्रवाह हुने र तरलताको चाप कम हुने विश्वास उनले व्यक्त गरे ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थाको नाफामा लाग्ने करलाई ३० बाट घटाएर २५ प्रतिशत कायम गर्नुपर्ने माग समेत अर्थमन्त्री समक्ष गरेका छन् ।

कार्यक्रममा राष्ट्र बैंकले वर्तमान वित्तीय क्षेत्रको अवस्थाबारे पावर प्वाइन्ट मार्फत कार्यपत्र प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *