पूँजीगत खर्च बढाउन अर्थमन्त्रीद्वारा छलफल सुरु

काठमाडौँ । पूँजीगत अर्थात् विकास बजेटको खर्च बढाउन अर्थमन्त्रालयले विकाससँग सम्बन्धित मन्त्रालयहरुसँग छलफल थालेको छ ।

अर्थमन्त्री जनादर्न शर्माले शुक्रबार भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्री रेणुकुमारी यादव, मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ र सडक विभागका महानिर्देशकलाई बोलाएर छलफल गरेका छन् ।

मन्त्री शर्माको सचिवालयका अनुसार उनले भौतिक पूर्वाधार मन्त्रालयले हालसम्म गरेको विकास बजेटको खर्चको विवरण मागेका छन् । मन्त्रालयलाई २ खर्बभन्दा बढी रकम विनियोजन गरे पनि खर्च न्यून भएपछि अर्थमन्त्रीले त्यसको विवरण मागेका हुन् ।

छलफलमा मन्त्री यादव, सचिव तथा महानिर्देशकले मन्त्रालयको नेतृत्वमा भएको परिवर्तन, चाडबाललगायतका कारण विकास बजेटको खर्च कम भएको जानकारी दिएका छन् । अब चाडबाडको बिदा सकिएको र सरकारले पूर्णता पाएकोले पनि विकास बजेट खर्च गर्न सहज हुने जानकारी उनीहरुले अर्थमन्त्रीलाई गराएका छन् ।

अर्थमन्त्री शर्माले सहरी विकास, खानेपानी, ऊर्जा, सिँचाई तथा जलस्रोतलगायत मन्त्रालयसँग पनि छलफल गर्ने तयारी गरेका छन् ।

चालू आर्थिक वर्षका लागि विहीबारसँग सरकारको पूँजीगत खर्च ४.५७ प्रतिशत मात्रै भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

विकास बजेट खर्च हुन नसक्दा पनि बैंकमा तरलता अभाव चुलिएको भन्दै अर्थमन्त्री शर्माले विकास बजेटको खर्च बढाउन छलफल थालेका हुन् ।

त्यस्तै, केपी शर्मा ओलीको सरकारले ल्याएको बजेट प्रतिस्थापन गरी नयाँ बजेट ल्याउँदा उनले प्रत्येक महिना १० प्रतिशतका दरले बजेट खर्च हुने बताएका थिए । विकास बजेट खर्च बढाउन सके बैंक प्रणालीमा तरलता अभाव कम हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *