नक्कली लालपूर्जा धितोमा कुमारी बैंकको १९ करोड ऋण प्रकरणमा सीईओसँग बयान

काठमाडौँ । जग्गाको नक्कली धनीपूर्जा धितो राखेर कुमारी बैंकबाट १९ करोड रुपैयाँ ऋण  लगानी भएकाे विषयमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सँग बयान लिएकाे छ । प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी)ले यो प्रकरणबारे बैंकका सीईओ अनुजमणी तिमल्सिनालाई बोलाएर बयान लिएकाे सीआईका प्रमुख प्रहरी नायव महानिरीक्षक धिरजप्रताप सिंहले बताए ।

उनले बयानका क्रममा नक्कली पूर्जामा लगानी भएको खराब कर्जा सल्टाइसकेको अर्थात् कर्जा चुक्ता गराइसकेको सीईओ तिमल्सिनाले बताएका छन् । यसमा बैंककाे सम्बन्धित शाखाका कर्मचारीकाे समेत कमजाेरी हुन सक्ने समेत उनले बताएका अनुसन्धान अधिकृतले बताएका छन् ।

यसअघि नै प्रहरीले नक्कली धिताेमा कर्जा दिने/लिने कार्यमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरू गरिसकेकाे छ ।

गायक योगेश्वर अमात्यको विरुवाभूमि वनकाली कम्पनीको नाममा बारा विश्रामपुरमा रहेको १२ बिघा जग्गाको नक्कली धनीपूर्जा बनाई उक्त पूर्जा धितो राखेर कुमारी बैंकको न्युरोड शाखाबाट ऋण झिकिएकाे थियाे ।

उक्त किर्ते कार्यमा संलग्न रहेकाे अाराेपमा प्रहरीले यसअघि नक्कली जग्गा धनी एसकुमार महर्जन र मुक्तिनाथ गौतम, कुमारी बैंक पर्सा शाखाका जुनियर असिस्टेन्ट सोनु ठाकुर, धितो मूल्यांकनकर्ता राजेश्वर चौरासिया र बिचौलिया कुसन प्रधानलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको उनले बताए ।

योगेश्वर अमात्यकाे परिवारको कम्पनीको नाममा रहेको जग्गाको नक्कली लालपूर्जा बनाई ऋण प्रवाह गर्नुअघि बैंकले उक्त जग्गा धितोको मूल्यांकन र फिल्ड जाँच गर्न बैंकको वीरगन्ज शाखालाई जिम्मा दिएको थियो । फिल्डमा नै नपुगी जग्गा प्रमाणित गरी पठाएको पाइएको छ ।

उक्त जग्गाको मूल्यांकन राजेश्वर चौरसियाको कम्पनी डाइनामिक कन्सल्टेन्सीले उक्त जग्गाको मूल्याङ्कन ३८ करोड रुपैयाँ पर्ने गरेको थियो । धितो राखिने जग्गाको मूल्यांकनको ५० प्रतिशत ऋण बैंकले दिन पाउने भए पनि १९ करोड रुपैयाँसम्म ऋण दिन सकिने सिफारिस मूल्याङ्कन कम्पनीले गरेको थियो ।

नक्कली जग्गा धितो प्रकरणमा संलग्न अझै ४ जना फरार रहेको प्रहरीले जनाएको छ । नक्कली लालपूर्जा बनाउन मालपात कार्यालयका कर्मचरी संलग्न रहेको वा सक्कली छाप प्रयोग भएको पाइए मालपोका दोषीलाई समेत कारवाही हुने प्रहरीले जनाएको छ ।

आफ्नो जग्गाको नक्कली पूर्जा तयार भई ऋण समेत प्रवाह भएको थाहा पाएपछि अमात्ययले एक महिनाअघि प्रहरीमा उजुरी दिएका थिए । उक्त कर्जा गत साउनमा बैंकको केन्द्रीय कार्यालयकै स्वीकृतिमा प्रवाह भएको थियो ।

डेनियल ट्रेडिङका सञ्चालक एसकुमार महर्जन र मुक्तिनाथ गौतम उक्त जग्गाको आफू जग्गाधनी बनी नक्कली पूर्जाका आधारमा ऋण लिएका थिए ।

उनीहरुविरुद्ध प्रहरीले किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ भने नेपाल राष्ट्र बैंकले समेत यसबारे अनुसन्धान थालेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *