गठबन्धन दलबीच चुनावी तालमेल गर्ने सहमति भएको छ : माधव नेपाल

‘एमालेसहित केपी गुटको पत्तासाफ हुन्छ’

डडेल्धुरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनबीच आगामी निर्वाचनमा मिलेर जाने सहमति भएको बताएका छन् । बुधबार डडेलधुरामा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

‘अहिले पाँच दलको गठबन्धन सरकार बनेको छ,’ उनले भने, ‘पाँचै दलबीच आउने चुनावमा पनि मिलेर जाने सहमति भएको छ ।’ अध्यक्ष नेपालले गठबन्धन दल मिलेर सहमतिमा चुनावमा जाँदा एमालेको पत्तासाफ हुने बताए ।

उनले एमाले पार्टी र केपी गुटको भविष्य नभएको बताउँदै अहिले एमाले केपी ओलीको कब्जामा रहेको बताए । उनले भने, ‘नेकपा एमालेसहित केपी गुटको पत्तासाफ हुन्छ ।’

नेता नेपालले एमालेको चुनाव चिह्न सूर्यमा अहिले ग्रहण लागिसकेको बताए । विगतमा आफूले ल्याएको सूर्य चिह्नमा अहिले ग्रहण लागेको बताए ।

‘एमालेले सूर्यको कुरा गरिरहनु आवश्यक छैन,’ उनले भने, ‘म नै निर्वाचन आयोगमा गएर सूर्य चिह्नका निम्ति लड्ने मान्छे हुँ । तर के गर्ने‚ अहिले त्यहि सूर्यमा ग्रहण लागेको छ ।’

अहिले नयाँ पार्टी गठन गरेपछि कलम चिह्न ल्याएर मेचीदेखि महाकालीको अभियानमा उत्रिएको उनले बताए । उनले अब कलम चिह्न नै सही र न्यायको पक्षमा भएको बताए ।

न्यायको आवाज बुलन्द गर्दै सत्यको बाटोमा हिँड्नका लागि प्रेरित गर्न कलम चिह्न लिएर एकीकृत समाजवादी जनताको मैदानमा उत्रिएको छ,’ उनले भने, ‘यो पार्टीलाई गाउँगाउँमा, टोलटोलमा, वडावडामा, पालिकापालिकामा पुर्‍याउनुस् ।’

साथै उनले आफ्नै घर ठानिएको नेकपा एमाले अहिले केपी ओलीको मुठीमा गएको बताए । ‘हामीले घर ठानेका थियौँ‚ जेल भएछ,’ उनले भने, ‘पार्टी जेलमा परिणत भएपछि विद्रोह गरेर पर्खाल तोडिदिएका छौँ ।’

सोही कार्यक्रममा एमाले डडेल्धुराका तत्कालीन अध्यक्ष डा तारा जोशीसहित बहुमत जिल्ला कमिटी एकीकृत समाजवादीमा प्रवेश गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *