अधिकारक्षेत्र मिचेर पालिकाले ताेक्याे गाडी भााडा

पोखरा । नियम अनुसार अन्तर प्रदेशको गाडी भााडा तोक्ने अधिकार संघ सरकारलाई छ । प्रदेशभित्रका सवारी भाडा प्रदेश सरकारले तोक्छ । तर कास्कीको माछापुच्छ्रे गाउँपालिकाले अधिकार विपरीत आफ्नो पालिकामा गुड्ने गाडीको भाडा तोकिदिएको छ ।

गाडी भााडा र समय अनियमित भएपछि उपभोक्ताको गुनासो बढेको थियो । गुनासो धेरै भएपछि भाडादर समायोजन गरिदिएको अध्यक्ष कर्णबहादुर गुरुङले बताए । पालिकाले गाडी सञ्चालक समितिसँग छलफलमा भाडा तय गरेको हो ।

हरि चोकदेखि स्थानीय खोराकोमुख लुम्रे रुटमा सञ्चालन हुने बसको अधिकतम भाडा १ सय १० तथा टुसे ग्राउन्ड रुटमा १ सय भाडा तोकिएको छ । यातायात व्यवस्था विभागले गत असार २९ गतेदेखि लागु हुने गरी अन्तर प्रदेश रुटमा २८ प्रतिशत भाडा वृद्धि गरेपछि गाउँपालिकाभित्रका बसले पनि भाडा बढाएको छ ।

यहाँका भाडा समायोजन गर्न गण्डकी सरकारले भौतिक सचिवको संयोजकत्वमा समिति गठन गरेको छ । गाउँपालिकाले भाडा समायोजन गरेपछि गाडी सञ्चालकहरूले माथिल्ला निकायमा मौखिक उजुरी समेत दिएका छन् । तर अध्यक्ष गुरुङले भने जनताको सुविधाका लागि आफूले काम गरेको दाबी गरे ।

‘संघ सरकारले भाडा बढायो भनेर यता पनि मनपरी बढाएका छन् । कहाँबाट कहाँ पुग्दा कति भाडा हो थाहा छैन,’ उनले भने, ‘जसलाई जति मन लाग्यो उति उठाएको छ । उपभोक्ता ठगिने अवस्था आयो नि ।’ प्रदेशले भाडादर तोकेपछि सोही दर लागू हुने उनको भनाई छ । यसैबीच, आगामी मंसिर १ देखि पोखराका विभिन्न विद्यालय र क्याम्पसमा पढ्ने विद्यार्थीलाई लक्षित गरी बिहान ५ बजेदेखि गाउँपालिकाबाट बस सञ्चालन गर्ने सहमति भएको छ । यी गाडीले विद्यार्थीलाई ४५ प्रतिशत छुट दिने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *