धाराले फेरेको महिलाको दैनिकी

अछाम । सुदूरपश्चिम प्रदेशको चुरे र पहाडी क्षेत्रमा पानीको अभाव बढ्दो छ । जलवायु परिवर्तनका कारण यी क्षेत्रमा पानीको अभाव बर्सेनि बढिरहेको जानकारहरूले बताउँदै आएका छन् । यसको असर अरुलाईभन्दा बढी महिलालाई परिरहेको छ ।

परिवार र बस्तुभाउ समेतका लागि पानीको जोहो गर्नुपर्ने अभिभारा महिलाको हुने भएकाले उनीहरू बढी समस्यामा छन् । प्रायःजसो पुरुष रोजगारीका लागि भारत जाने भएकाले पानीको जोहो गर्नुपर्ने दायित्व महिलाकै काँधमा हुन्छ । तर पानीका मुहानहरू सुक्दै जाँदा महिलाको धेरै समय पानी बोक्दैमा बित्ने गरेको छ ।‍

  • यो पनि 

             पानीको पीडा : मुहान घट्दै, दुःख बढ्दै

अछामको कमलबजार नगरपालिकाका महिलाले दुई वर्ष अघिसम्म पैदल एक डेढ घण्टा टाढाबाट पानी ल्याउनुपर्थ्यो, त्यो पनि खोलाको दूषित पानी । उनीहरूले यो सास्तीलाई आफ्नो नियति नै मानेका थिए । तर विसं २०७७ मा बेलायती सहयोग नियोग युकेएडले घरघरमा धारा जडान गरिदिएपछि यहाँका महिलाको दुःख कम भएको छ ।

युकेएडले ‘नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम २, जलवायु संकटासन्नता समाधान १’ परियोजना अन्तरगत प्रत्येक घरमा वालमैत्री धारा जडान गरिदिएपछि यहाँका महिलाको मुहारमा खुशी ल्याइदिएको छ । यसले गर्दा धेरै नै सहज भएको र पानीका लागि बिताउनुपर्ने समय अरु काममा लगाउन पाएको कमलबजारका कैल टमाटाको अनुभव छ ।

खोलाबाट पानी ल्याउँदा महिलालाई अनेकौँ जोखिम थियो । टाढा त थियो नै बर्सातको बेला चिप्लो बाटोमा लडेर चोटपटक लाग्थ्यो । त्यति दुःख गरेर ल्याएको पानी पनि दूषित हुने हुँदा विभिन्न रोगको प्रकोप फैलिन्थ्यो । तर अब अवस्था फेरिएको छ । कमलबजारकी ६० वर्षीया हिउँकला कामीले आफूले धेरै नै दु:ख गरेर पानी ल्याउनु परे पनि अब बुहारीहरूको पालोमा पानीको प्रबन्ध सहज भएकोमा खुशी व्यक्त गरिन् ।
खानेपानीको सुविधा भएसँगै यसका धेरै खाले फाइदा भएका छन् ।  पानी अभावले महिलासँगै बालिकालाई पनि कम्ती समस्या पारेको थिएन । कतिपय बालिकाहरूलाई विद्यालयको कक्षा छोडेरै पनि पानी ल्याउन जानुपर्ने बाध्यता समेत थियो । अहिले ती बालिकाहरूको विद्यालय नियमित भएको छ । शिक्षक गोविन्द विष्टले अहिले ती बालिकाहरू विद्यालयमा नियमित आउन थालेको जानकारी दिए ।

जसले गर्दा उनीहरूले पढाइमा ध्यान दिन पाएका छन् । यति मात्र होइन पानीको धारा पुगेपछि सिँचाई गर्न पनि सजिलो भएको छ । जसले गर्दा तरकारी उत्पादन बढेको छ । हिजो तरकारी किनेरै खानुपर्ने अवस्था रहेकोमा अब आफ्नै बारीमा तरकारी लटरम्मै फलाउन सम्भव भएकाले गाउँलेहरू दंग छन् ।

नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रममा सामाजिक परिचालक अमर भण्डारीले धारा पुगेसँगै पानी लिन टाढा जानुपर्ने बाध्यता हटेको मात्र नभइ दूषित पानीका कारण फैलने पानीजन्य रोगबाट पनि स्थानीय बासिन्दा जोगिएको बताए । कमलबजार नगरपालिका २ का वडाध्यक्ष रणबहादुर खड्काले  घरघरमै बालमैत्री धारा जडान भएपछि विशेषगरि महिलालाई धेरै नै सहज भएको बताए ।

धारामा पानी प्रशस्त आएपछि यहाँका महिलाहरूलाई सरसफाइमा पनि सजिलो भएको छ । समय बचत भएपछि महिला विभिन्न सीपमूलक तालिममा सहभागी हुन थालेका छन् । कमल बजार नगरपालिका कार्यपालिका सदस्य जानकी बिष्टले यसले उनीहरूलाई आय आर्जनका काममा लाग्ने समय मिलेको बताइन् । नगरपालिका र विभिन्न परियोजनाले सञ्चालन गर्ने सीपमूलक तालिम लिएर महिलाले आम्दानी गर्न थालेका छन् ।

परियोजनाबाट कमलबजारका ३३ घरधुरीका २ सय भन्दा बढी नागरिक लाभान्वित भएका छन् । त्यसो त युकेएडले विगतदेखि नै जलवायु परिवर्तन अनुकूलनका लागि महिलाको आवश्यकताअनुसार कार्यक्रम र परियोजनाहरू सञ्चालन गर्दै आइरहेको नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम २, जलवायु संकटासन्नता समाधान १ परियोजनाका जलवायु संयोजक विपिन कँडेलले जानकारी दिए ।

परियोजनाअन्तर्गत कमलबजारमै नगरपालिका र कृषि ज्ञान केन्द्र जिल्ला शाखासँग समन्वय गरेर कृषि कार्यक्रम र बजारमा कृषि संकलन केन्द्र निर्माण भइरहेको छ । यसले  किसानका कृषिजन्य उपजलाई बजार पुर्‍याउन सहज हुने पनि कँडेलले बताए ।

यसका साथै जलवायु परिवर्तनको सामना गर्दै फेरिँदो पारिस्थितिक प्रणालीकाबीच कसरी सहज रूपमा बाँच्न सकिन्छ भन्ने उद्देश्यले अछाम बाहेकका विभिन्न ठाउँमा सिचाई पोखरी निर्माण, सिचाई कुलो निर्माण, पहिरो नियन्त्रणका लागि प्रयास, कृषि कार्यक्रम, कृषि संकलन केन्द्र, विपद्काे बेला सुरक्षित हुन सुरक्षित आवास निर्माण लगायतका कामहरु पनि गर्दै आइरहेको युकेएडले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *