कर्णालीमा प्रदेश प्रमुख फेरिँदै, कलाैनीकाे ठाउँमा परियार

सुर्खेत । कर्णाली प्रदेशमा प्रदेश प्रमुख फेर्ने तयारी गरिएको छ । अहिले यहाँ प्रदेश प्रमुखको भूमिकामा एमालेका गोविन्दप्रसाद कलौनी छन् । उनलाई हटाएर माओवादी केन्द्रका तिलक परियारलाई प्रदेश प्रमुख बनाउने तयारी गरिएको हो ।

प्रदेशमा केन्द्रीय गठबन्धअनुसारको सरकार छ । जीवनबहादुर शाहीले कात्तिक १५ मा राजीनामा दिएसँगै प्रदेशको नेतृत्व कांग्रेसले गरिरहेको छ । कांग्रेसको तर्फबाट सरकारको नेतृत्व जीवनबहादुर शाहीले गरेका छन् । योसँगै प्रदेश प्रमुखसमेत फेरिने भएका हुन् ।

प्रदेशका एक नेताकाअनुसार अब चाँडै यहाँ परियार प्रदेश प्रमुख बन्नेछन् । ‘यो खासमा प्रदेशमा हुने छलफल होइन,’ ती नेताले भने, ‘ ढिलो चाँडो उहाँ (तिलक परियार) प्रदेश प्रमुख बन्नुहुन्छ । केन्द्रमा योबारेमा लगभग सहमति जुटिसकेकाे छ ।’

प्रदेश प्रमुख परिवर्तन किन ? भन्ने प्रश्नमा ती नेताले भने, ‘राजनीतिक रूपबाट हेर्दा धेरै कुराहरू होलान् । यही यही कारणले परिवर्तन गर्नुपरेको हो भन्ने रिपोट त छैन ।’ ती नेताले केन्द्रीय नेतृत्वमै यो विषयमा छलफल र सहमति भइसकेकाे दाबी गरे ।

परियार यसअघि नै प्रदेश नं. २ को प्रदेश प्रमुख भइसकेका पुराना वामपन्थी नेता हुन् । उनी दुईपटक सांसदसमेत बनेका थिए । परियार विसं ०६४ को पहिलो संविधान सभा चुनावमा बाँके क्षेत्र नं. १ बाट सभासद बनेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *