लक्ष्य भन्दा दोब्बर राजस्व संकलन गर्ने अर्थमन्त्री शर्माको अपेक्षा

सिन्धुपाल्चोक । अर्थमन्त्री जनार्दन शर्माले तोकिएको भन्दा दोब्बर राजस्व संकलन गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन् । सिन्धुपाल्चोकस्थित चीनसँगको तातोपानी सीमा नाका र भन्सार कार्यालयको निरीक्षणपछि गरिएको कार्यक्रममा उनले यस्तो बताएका हुन् । मन्त्री शर्माले विभिन्न चुनौतीकाबीच राजस्व संकलन दोब्बर बनाउने लक्ष्य रहेको बताएका हुन् ।
‘तोकिएको लक्ष्यभन्दा दुई सय गुणा बढी राजस्व उठाउने लक्ष्य लिएको छु’, उनले भने, ‘बाहिर तोकिएकोले मात्र पुग्दैन । राजस्व बढाउनका लागि कडाइसमेत गरिएको छ ।’ यद्यपि पछिल्लो समय बेमौसमी वर्षाका कारण अरबौँको क्षति भएकाले राजस्व संकलन तथा आर्थिक वृद्धिमा चुनौती थपिए पनि राजस्व संकलन लक्ष्यअनुरूप हुने विश्वास व्यक्त गरे ।
उनले राजस्व वृद्धिका लागि लगानी बढाउनुपर्ने भन्दै तातोपानी नाकाको सडक स्तरोन्नतिका लागि चीनसँग समन्वय गरेर अघि बढ्नुपर्ने बताए ।मन्त्री शर्माले तातोपानी नाकाको पूर्वाधार विकासका लागि अर्थ सचिव र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवबीच छलफल गरी लगानीका लागि ठोस योजना बनाउन समेत निर्देशन दिए।
उनले चीन सरकारले ठोस रूपमा गर्ने सहयोग र नेपालले गर्न सक्ने लगानीको योजना बनाएर नाकाको पूर्वाधार विकास सहकार्यमा गर्नुपर्ने जोड दिएका छन् । ‘यहाँको पूर्वाधारका लागि हामीलाई कति बजेट चाहिने हो, यो वर्ष काम गर्न सक्ने कति हो, त्यसको माग गर्नुहोस्’, उनले भने, ‘उता चाइनिज पार्टीले कति गर्ने हो, त्यसको पनि मूल्याङ्कन गर्नुहोस् ।
त्यसरी दुई वटालाई जोडेर काम अगाडि बढाऔँ ।’ तातोपानी नाका अन्तर्राष्ट्रिय नाका भएकाले सरकारले महत्त्वसाथ हेरेको र द्विपक्षीय समन्वयका आधारमा यसको विकास गर्नुपर्ने मन्त्री शर्माले बताए ।








