पसल सञ्चालकको रडले हानी हत्या, आरोपित भन्छन्- सधैँ हेपेर बोल्थे, आवेशमा हानेँ

धनगढी । कैलालीको मोहन्यालमा रड प्रहार गरी एक पसल सञ्चालकको हत्या भएको खुलेको छ । मोहन्याल गाउँपालिका ४ सिम्लीका पसल सञ्चालक ५५ वर्षीय पदम आचार्यको शनिबार राति हत्या भएको हो ।

आचार्यको आइतबार दिउँसो पसल पछाडि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । विगत एक वर्षदेखि पसल सञ्चालन गर्दै आएका घोडाघोडी नगरपालिका- ४ जनकपुर घर भएका आचार्यको हत्याको आरोपमा उनकै पसलमा खाना खाने टिपरका खलासीको काम गर्दै आएका दैलेखको गुराँस गाँउपालिका-३ खिमडी का १८ वर्षीय जीवन शाही ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ ।

घटनापश्चात खटिएको प्रहरी टोलीले उनलाई नेपालगञ्जबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

ठकुरी नेपालगञ्जमा रहेको पत्ता लागेपछि उनलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय बाँकेलाई अनुरोध गर्नुका साथै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय सुखडबाट विशेष टोली परिचालन गरिएको थियो । उनी राति पसल सञ्चालकको हत्या गरेर बिहानै फरार भएका थिए ।

घटना शंकास्पद देखिएपछि प्रहरीले ठकुरीको खोजीकार्य सुरु गरेको थियो । उनको खोजीका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय कैलालीबाट विशेष अनुसन्धान टोली परिचालन गरिएको थियो ।

कसरी भयो हत्या ?
हत्या आरोपित ठकुरी तिहार बिदाको बेला एक्लै निर्माण सेवाको रेखदेखमा खटिएका थिए । बिदाको बेलामा उनले मृतककै पसलमा खाना खाने गरेका थिए ।

आरोपितको बयान र प्रहरीको अनुसन्धानअनुसार मृतकले ठकुरीलाई हेपेर/होच्य्याएर बोल्थे । शनिबार राति उनले मासु आफैँ पकाई मृतकको पसलमा लगी खाना खान गएका थिए । उनले पसल सञ्चालकसँग एक क्वाटर रहर नामको रक्सी मागेर खाए । सोही क्रममा पनि मृतकले पुनः हेपेर बोल्न सुरु गरे । त्यसक्रममा दुई जनाबीच सामान्य विवाद भयो । विवादकै क्रममा मृतकले ठकुरीलाई एक्कासी दुई लठ्ठी हिर्काएपछि दुवैबीच हात हालाहालको स्थिति आयो ।

तछाड मछाड गर्दै पसल पछाडि पुगेपछि राति करिब १० बजेतिर ठकुरीले रडले मृतकलाई प्रहार गरे । रड प्रहार गर्नेबित्तिकै पसल सञ्चालक भुइँमा ढले । प्रहरीका अनुसार मृतक ढलेपछि ठकुरीले फेरि रक्सी खाएर सुते । बिहानै उठी सो ठाउँबाट भागे ।

प्रहरीले पक्राउ गरेपछि आरोपित ठकुरीले आक्रोश थाम्न नसक्दा रडले प्रहार गरेपछि पसल सञ्चालक ढलेको स्वीकार गरेका छन् । ठकुरीलाई पक्राउ गरी ज्यानसम्बन्धी कसूरमा थप अनुसन्धान अगाडि बढाइएको डीएसपी विष्टले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − six =