कर्णालीमा बाँडीचुँडी सत्ता : चन्द्रबहादुर भन्छन्- लिखित सहमति भएको छैन

सुर्खेत । कर्णाली प्रदेशमा तीन दलबीच पालैपालो सरकारको नेतृत्व गर्ने सहमति भएको दाबीहरू आइरहेका बेला नेकपा (एकीकृत समाजवादी) का तर्फबाट मुख्यमन्त्री बन्ने भनिएका चन्द्रबहादुर शाहीले भने सहमति नभएको बताएका छन् ।

उनले ६/६ महिना सरकारको नेतृत्व गर्नेगरी भएको भनिएको ११ बुँदे सहमति नभएको प्रष्ट्याए । तर, त्यसबेला के हुन्छ भन्ने अहिल्यै भन्न नसकिने उनको भनाइ छ । ‘सहमति भएको छैन,’ चन्द्रबहादुरले मकालुखबरसँग भने, ‘अब ६ महिनापछि जे पनि हुनसक्छ । हामीले नै नेतृत्व गर्न पनि सक्छौँ । राजनीतिमा सबै कुरा पूर्वनिर्धारित नै हुन्छन् भन्ने हुँदैन ।’

लिखित सहमति नभएपनि तीन दलले बराबरी समय सरकारको नेतृत्व गर्नेबारे भने छलफल भएको उनले बताए । ‘गठबन्धन बनिसकेपछि स्वाभाविक रूपमा छलफल हुन्छ,’ चन्द्रबहादुरले भने, ‘छलफलहरू भएका छन् । त्यसक्रममा सरकारको नेतृत्व बराबरी समय गर्ने भन्ने खालका छलफल त कति भए कति, तर लिखित सहमति नै भने भएको होइन ।’

त्यसो भए आउँदो बैशाखपछि पनि प्रदेश सरकारको नेतृत्व कांग्रेसले नै गर्छ त ? भन्ने जिज्ञासामा चन्द्रबहादुर भन्छन्, ‘दाबी त हाम्रो पनि हो । प्रदेशको एउटा राजनीतिक दलले नेतृत्वको दाबी गर्छु भन्नु ठूलो कुरा रहेन । पाउने र नपाउने भन्ने कुरा त्यतिबेलाको राजनीतिक परिवेश र स्थितिले निर्धारण गर्ने कुराहरू हुन् । हामीले नेतृत्व गर्न पनि सक्छौँ ।’

यसअघि महेन्द्रबहादुर शाहीले राजीनामा दिँदा आफूले सहमतिको पालना गरेको बताएका थिए । उहाँ (महेन्द्रबहादुर शाही) ले भन्नुभएको सहमति कुन हो ? भन्ने प्रश्नमा माओवादीका एक नेताले भने गठबन्धनमा आलोपालो नेतृत्व गर्ने सहमति बनेको दाबी गरे । ‘बराबरी नेतृत्व गर्ने सहमति बनेकै हो, त्यसैअनुसार मुख्यमन्त्रीबाट उहाँले राजीनामा दिनुभएको हो ।’

अन्य नेताहरूले पनि समझदारीअनुसार नै प्रदेशमा काम भइरहेको बताउँदै आएका छन् । यद्यपि भएको भनिएको ११ बुँदे सहमति अहिलेसम्म सार्वजनिक भएको छैन । नेताहरूले दाबी भने गर्दै आएका छन् । सहमति पालना भए आउँदाे बैशाखपछि कर्णाली प्रदेश सरकारकाे मुख्यमन्त्रीकाे कुर्सीमा चन्द्रबहादुर शाही पुग्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *