विपन्नलाई १० हजार राहत बाँड्ने कार्यविधि राजपत्रमा

काठमाडौँ । सरकारले ‘कोभिड–१९ महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई नगद हस्तान्तरण गर्ने कार्यविधि २०७८’ लाई राजपत्रमा प्रकाशित गरेको छ । आर्थिक वर्ष २०७८/७९ को संशोधित बजेटमार्फत सरकारले ल्याएको उक्त कार्यक्रम कार्यान्वयनका लागि कार्यविधि बनाएको हो । उक्त कार्यविधिलाई केही दिनअघिको मन्त्रिपरिषद् बैठकले पारित गरेको थियो । मन्त्रिपरिषद्ले पारित गरेको उक्त कार्यविधि सरकारले राजपत्रमा प्रकाशित गरेको हो ।
कोभिड–१९ महाकारीबाट रोजगारी र आय गुमाएका अनौपचारिक तथा असंगठित क्षेत्रका अतिविपन्न परिवारलाई पहिचान गरी सरकारले प्रतिपरिवार १० हजारका दरले उक्त राहत रकम वितरण गर्ने कार्यक्रम ल्याएको हो ।
राजपत्रमा प्रकाशित कार्यविधि अनुसार सरकाले वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाहरुबाट उक्त रकम वितरण गर्ने व्यवस्था गरेको छ ।
महामारी नियन्त्रणका लागि गरिएको लकडाउन तथा निषेधाज्ञाका कारण पेशा व्यवसाय र श्रममा समस्या भई आय गुमाएका परिवारलाई राहत स्वरुप उक्त रकम दिइने व्यवस्था गरेको छ ।
कार्यविधिअनुसार असंगठित तथा औनौपचारिक क्षेत्रका सडक, फुटपाथ, चौरमा खर्पन, नाङ्लो, डालो, डोकोमा सामान बेच्ने, दैनिक ज्यालादारी गर्ने भरिया तथा मजदुर, सार्वजनिक यातायातका मजदुर, कृषि मजदुर, गोठाला, खेताला, ज्लादारी श्रमिक, रिक्सा चालक, ठेलागाडा चालक, र कोभिड संक्रमका कारण मृत्यु भएकाहरुका परिवारको आयाआर्जन गर्ने मुख्य व्यक्ति गुमाएकाको अवस्थाका परिबार र कोरानोका कारण अभिभावक गुमाएका असहायक र आश्रित सदस्य भएका परिवारको पहिचान गरी उक्त राहत रकम वितरण गर्ने कार्यविधिमा उल्लेख छ।
सरकारी कोषबाट अन्य सामाजिक सुरक्षाको प्रत्याभूति लिइरहेका परिवारलाई भने उक्त रकम वितरण गरिने छैन ।
स्थानीय तहको पालिकाहरुले वडा स्तरमा तथ्यांक संकलन गरी उक्त तथ्यांकका आधारमा राहत रकम वितरण गर्ने जनाइएको छ ।
यसका लागि सूचना आह्वान गरी निवेदन माग गरिने छ । आफैंले निवेदन दिन नसक्ने अवस्थाका परिवारलाई निवेदनका लागि वडा कार्यालयहरुले सहयोग गर्नुपर्ने छ ।
राहत रकम वापत सरकारले कम्तिमा ५ लाख परिबारलाई ५ अर्ब रुपैयाँ वितरण गर्नुपर्ने अनुमान गरिएको छ ।









