‘तिहारमा पूरै झिलिमिली पारौँ, बिजुली अभाव छैन’

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा सबै नेपालीले घर झिलिमिली पारे पनि विद्युत् अभाव नहुने बताएका छन् । प्राधिकरणको केन्द्रीय कार्यालयमा सोमबार पत्रकार सम्मेलन गरेर घिसिङले यस्तो बताएका हुन् । उनले विद्युत् आपूर्ति नियमित भएपछि तुलनात्मक रुपमा उच्च माग(पिक लोड) धेरै नबढेको बताए ।
‘गएको भदौको एक दिन विद्युत्को पिक डिमान्ड १ हजार ६ सय २० मेगावाट पुग्यो,’ उनले भने, ‘तर तिहारको लक्ष्मी पूजाको साँझ पनि १ हजार ५ सय भन्दा बढीको पिक लोड नहुने हामीले अनुमान गरेका छौं । त्यसो हुँदा घर पुरै झिलिमिली पारौंँ । सकेसम्म उज्यालो पारौँ ।’
कार्यकारी निर्देशक घिसिङका अनुसार हाल २ हजार मेगावाट भन्दा बढी हाम्रो जलविद्युत् आयोजनाको जडित क्षमता पुगेको छ । तर, १ सय ५ मेगावाटको कुलेखानी स्टोरेजबाट चल्ने आयोजनाले हाल उत्पादन गरेको छैन । हाल १ हजार ६ सय मेगागाट हाराहारीका जलविद्युत् आयोजना सञ्चालनमा छन् ।
‘एक हिसाबले भन्ने हो भने अहिले कुलेखानी स्टोरेज प्रोजेक्टको विद्युत् प्रयोगमा आएको छैन अर्थात् खेर गएको अवस्था छ,’ उनले भने, ‘तर, अवस्था सँधै यस्तो हुँदैन । रनअफ रिभरमा आधारित आयोजनाको उत्पादन खुम्चिँदा हामीलाई हिउँदमा खेर हामीलाई विद्युत् अपुग हुन पनि सक्छ । तर हामीलाई जति नै विद्युत् अभाव भए पनि अब लोडसेडिङ भने हुँदैन ।’
स्थानीय पूर्वाधार निर्माणले बत्ती जाने समस्या
स्थानीय स्तरका निर्माण हुने गरेका सडक, ढल, विद्युतीकरणलगायत पूर्वाधार निर्माण गर्नका लागि पनि स्थानीय निकायहरुले विद्युत्को प्रवाहलाई केही समयका वा दिनका लागि बन्द गर्ने गरेको उनले बताए । त्यसलाई विद्युत् कटौती भएको भनेर गुनासो गर्नु नहुने उनले बताए ।
‘कहिलेकाही स्थानीय पालिकाहरुले पनि सडक निर्माण, विद्युत्को पोल सार्ने लगायत कामका लागि विद्युत् अवरुद्ध गर्ने गरेका छन्,’ यस्तो कार्य हुँदा प्राधिकरणले विद्युत् कटौती गरेको भन्न मिल्दैन । तर, विद्युत् कटौती गर्नुपर्ने अवस्था नै छैन अहिले ।’
प्राधिकरणले हाल विद्युत्को वितरण प्रणालीमा पनि व्यापक सुधार गरिरहेको उनले बताए । मिटर, ट्रान्सफर्मर, तारको अभाव भने भइरहेको उनले बताए । हाल अति जरुरी ठाउँमा मिटर दिइरहेको र थप मिटर ल्याउने प्रक्रियामा रहेको उनले बताए । ‘थप ३ हजार ट्रान्सफर्मर आपूर्तिका लागि उत्पादक कम्पनी निकसँग सम्झौता भइसकेको छ,’ उनले भने, ‘अब ट्रान्सफर्मर अभाव हुँदैन ।’
विद्युत्को आन्तरिक खपत बढाउने रणनीति
हाल विद्युत् प्राधिकरणले विद्युत्को आन्तरिक खपत बढाउने रणनीति अघि सारेको छ । इन्डक्सन चुलो प्रयोग गर्ने, विद्युतीय सवारी प्रयोग गर्ने र सिँचाईका लागि विद्यु्त् प्रायोग गर्ने ग्राहकका लागि सस्तोमा विद्युत् दिने गरी नयाँ महसुल दर निर्धारण भएको उनले बताए ।
‘अब सिँचाईका लागि प्रयोग गरिने विद्युत्को महशुल प्रतियुनिट २ रुपैयाँ मात्रै पर्छ,’ उनले भने, ‘सवारी साधान चार्ज गर्न प्रतियुनिट ५ देखि ६ प्रतिशत र खाना पकाउने इन्डक्सन चुलो प्रयोग गर्ने ग्राहकको विद्युत् १ सय युनिटभन्दा माथि २०० युनिटसम्म प्रयोग गर्ने ग्राहकको स्ल्याबभित्र पर्ने हुनाले यसको महशुल १० रुपैयाँ प्रतियुनिटभन्दा नबढ्ने भएकोले आन्तरिक खपत बढ्छ ।’
यस अनुसार १ किलोमिटर सवारी गुडाउन ५० देखि ६० पैसाको बिजुलीले पुग्ने र यो पेट्रोलभन्दा निकै सस्तो देखिएको उनले बताए । यही कारण पनि हाल नेपालमा विद्युतीय सवारी साधानको माग बढेको र माग अनुसार सवारी साधन आपूर्ति हुन नसकेको उनले बताए । यसै गरी खाना पकाउने इन्डक्सनको प्रयोग बढाएर पेट्रोलियम र ग्यासलाई प्रतिस्थपान गर्नेतर्फ अघि बढ्नु पर्ने उनले बताए ।
इन्डक्सनमा खाना बनाउन भने ५ एम्पियर क्षमताको मात्र वायरिङ भएका घरले १५ एम्पीएरको वायरिङ गर्नुपर्ने र यसका लागि प्राधिकरणले सघाउने उनले बताए । त्यस्तै, सिँचाईका लागि खेत खेतमा वितरण लाइन पु¥याउन पनि प्राधिकरणले तयारी गररहेको उनले बताए ।
औद्योगिक क्षेत्र तथा नयाँ ठूला उद्योगहरुलाई समेत प्राधिकरणले मागेजति विद्युत् दिने रणनीति अघि सारेको छ । ‘अब प्राधिकरणले ठूला उद्योगलाई आवश्यक भए ३२ केभि लाइनबाटै विद्युत् दिने योजना पनि अघि सारिएको छ । केही उद्योगहरु ठूलो परिमाणका लागि विद्युत् सेवा दिन आएका पनि छन् ।’
अर्को वर्षबाट विद्युत् खेर जाँदैन
हाल नेपाललाई जडित प्रणालीमा दिउँसो २ सय मेगावाटसम्म र राती ५ सय मेगावाटसम्म विद्युत् बढी भइरहेको छ । तर, बढी भएको विद्युत् भारतमा निर्यात भएरहेको उनले बताए । हाल नेपाललाई आवश्यक परेको बेला भारतबाट दैनिक बजारबाट विद्युत् खरिद गर्न सकिने व्यवस्था गरिसकिएको र यसको अभ्यास पनि सुरु भइसकेको बताए । तर, भारतलाई चाहिएको बेला नेपालबाट समेत विद्युत् खरिद गर्ने व्यवस्था भइसकेको छ ।
‘अहिले विद्युत् खेर गएको जस्तो देखिए पनि अर्को वर्षदेखि हाम्रो आन्तरिक खपत बढ्छ । भारतसँग पनि हाम्रो ऊर्जा आदानप्रदान बढेर खेर जाँदैन,’ उनले भने, ‘ठ्याक्कै चाहिएको जति मात्रै विद्युत् उत्पादन गर्न पनि मिल्दैन । विद्युत् माग र आपूर्तिबीचमा सन्तुलन ल्याउन ३० प्रतिशतसम्म विद्युत् रिजर्भमा राख्नु आवश्यक हुन्छ ।’
विद्युत् पर्यात हुनु औद्योगिक लगानीकर्ताका लागि सकारात्मक संकेत पनि भएको उनले बताए । विद्युत् पर्याप्त भए मात्रै उद्योगमा बाह्यलगानी आउन सक्छ ।
प्राधिकरणले दूधकोसी, अपर अरुण, अरुण–४ र चैनपुर सेती जस्ता जलाशययुक्त २५ सय मेगावाटका आयोजना अघि बढाउन लागेको उनले बताए । तर, यीलगायत अन्य आयोजना निर्माण भएर सञ्चालनमा आउने बेलासम्ममा नेपालको विद्युत्को आन्तरिक माग पनि यही अनुपातमा बढ्ने उनले बताए । आन्तरिक खपतबाट बढी भएको विद्युत् छिमेकी देशमा बिक्री गर्ने भरपर्दो प्रणालीको समेत विकास भइसक्ने उनले बताए ।
बेमौसमी वर्षाले १५ करोडको क्षति
कार्यकारी निर्देशक घिसिङका अनुसार असोजको अन्तिम र कात्तीकको सुरुमा भएको बेमौसमी वर्षाले प्राधिकरणलाई झण्डै १५ करोडको क्षति पुगेको छ । ‘विभिन्न ठाउँमा प्रधिकरणको प्रसारण र वितरण लाइनको पोल ढल्दा झण्डै ५ करोडको क्षति भयो,’ उनले भने, ‘त्यस्तै, दुहबी सबस्टेशन डुब्यो, चमेलियाबाट जाने प्रसारण लाइनको टावर ढल्यो । यसले गर्दा विद्युत् आपूर्ति बन्द हुँदा थप १० करोड जतिको क्षति भयो ।’









