मास्कको मनमौजी मूल्य

कोरोनापछि किन भयो मास्कको भाउ दोब्बर ?

काठमाडौँ । कोरोनाको महामारी फैलिएसँगै मास्क पक्कै तपाईँको अनिवार्य आवश्यकताको वस्तु बनेको हुनुपर्छ । महामारीबाट बच्ने एक उपाय भएकाले पनि घर बाहिर निस्कँदा मास्क लगाउनु अनिवार्य भएको छ । त्यसमा पनि ‘सर्जिकल मास्क’ अधिकांशले प्रयोग दैनिक उपभोग्य वस्तु जस्तै बनेको छ ।

तर यो दैनिक उपभोग्य वस्तु बनेको मास्कको खास मूल्य कति हो ? तपाईँले कहिल्यै याद गर्नु भएको छ ? तपाईँले सधैँ प्रयोग गर्ने मास्कको मूल्य दोब्बर लिइन्छ भन्ने कुरा सायद तपाईँले याद गर्नुभएको छैन । वा याद गरेर पनि १० रुपैयाँ त हो नि भनेर वास्तै नगरी पैसा तिरिरहनुभएको छ । तपाईँ हाम्रो यस्तै बेवास्ताकै कारण बजारमा अहिले सर्जिकल मास्कको खुद्रा मूल्य १० रुपैयाँ नै हो भन्ने स्थापित नै भइसकेको छ । तर, यही मास्कको मूल्य कोरोना महामारी सुरुहुनुअघि अर्थात् २०७६ को चैतभन्दा अघि ५ रुपैयाँ मात्र थियो ।

महामारी फैलिएसँगै मास्कको माग एकाएक ह्वात्तै बढ्यो । तर, बजारमा मागको तुलनामा आपूर्ति निकै कम हुँदा मास्कको हाहाकार भयो । यसैको मौका छोप्दै मास्कको मूल्यमा मनमौजी सुरु भयो । एन ९५ मास्कको दाम ५ सय रुपैयाँसम्म लिएको समाचारहरू पनि आए । समाचारको मात्रै के कुरा तपाईँ-हामीले नै किनेर प्रयोग गर्‍याैँ ।

बिस्तारै मास्कको बढ्दो मागलाई सम्बोधन गर्ने गरी उद्यमी व्यवसायीले मास्कको उत्पादन र आपूर्ति बढाए । बजारमा आपूर्ति पर्याप्त हुन थालेपछि मूल्य केही घट्यो । तर, सर्जिकल मास्कको मूल्य भने ५ बाट १० रुपैयाँ नै बनाइयो । अर्थात् शतप्रतिशत मूल्य बढाएर दोब्बर मूल्यमा मास्क बेच्ने क्रम अझै चलिरहेको छ । यसबारे न सरोकारवाला सरकारी नियामक निकायले अनुगमन गरी कुनै कारबाही गरेको छ, न त व्यापारीले नै दाउ छोप्न छोडेका छन् ।

अहिले सर्जिकल मास्कको माग पनि बढेको छ । व्यापार पनि बढेको छ । व्यापार बढ्दा भाउ पनि दोब्बर लिन पाएपछि व्यापारीलाई दसैँ आएको छ ।

कति हुन्छ दैनिक मास्कको व्यापार ?
काठमाडौँ उपत्यकामा मात्र ४५ लाख मानिस बसोबास गर्ने अनुमान गरिन्छ । त्यसमा ३० लाखभन्दा बढी मानिस शिक्षा, रोजगार र अन्य कामका लागि घरबाट निस्कने अनुमान केन्द्रीय तथ्याङ्क विभागको छ । काठमाडौँ उपत्यकामा ९० प्रतिशत मानिसले मास्कको प्रयोग गर्ने तथ्याङ्क रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले जानकारी दिए । पछिल्लो दुई महिनामा भने मास्क लगाउनेको सङ्ख्या घटेर ६५ प्रतिशतमा पुगेको पौडेलले बताए । यसको अर्थ काठमाडौँ उपत्यकामा मात्र दैनिक औसत २० लाख मानिसले मास्क प्रयोग गर्छन् । तीमध्ये अधिकांशले सर्जिकल मास्क प्रयोग गर्ने गरेको प्रवक्ता पौडेलले बताए ।

यही तथ्याङ्कलाई आधार मानेर मास्क लगाउनेहरूको ९० प्रतिशत अर्थात् १८ लाख जनाले सर्जिकल मास्क लगाउने मान्ने हो भने १ करोड ८० लाखको कारोबार हुन जान्छ । जसको खुद्रा मूल्य १० रुपैयाँ लिने गरिन्छ । जबकि, व्यापारीहरूका अनुसार ५ रुपैयाँ खुद्रा मूल्यमा बेच्दा नै पनि एउटा मास्कमा साढे १ रुपैयाँ फाइदा हुन्छ ।

पाँच रुपैयाँमा नै बेच्दा पनि नाफा छ
काठमाडौँ उपत्यकाका केही फार्मेसीमा भने सर्जिकल मास्क ५ रुपै यामै पाइन्छ । त्यस्तै मध्येको एक हो बानेश्वरको ओमशान्ती चोकमा रहेको श्यामजी फर्मा ।

श्यामजी फर्माका सञ्चालकले नाफा सहित पाँच रुपैयाँमा सर्जिकल मास्क बेच्ने गरेको बताए । ‘चाइनाबाट ल्याउने मास्क रु ५ मा बेच्दा नै राम्रो नाफा बस्छ’ मकालुखबरसँग उनले भने, ‘त्यहाँभन्दा बढीमा बेच्दा त पाप लाग्छ ।’

‘नेपाली मास्क त महँगो छ । होलसेलरले हामीलाई नै ठग्छन् त्यही भएर म उत्पादककोबाटै ल्याउँछु । नेपाली मास्क ५ मा बेच्दा घाटा लाग्ने भएकाले बट्टा नै बेच्ने गरेको छु । एउटा बट्टा २ सय ८५ मा ल्याएर ३ सय ६० मा बेच्ने गरेको छु । त्यसो गर्दा अलि–अलि नाफा बस्छ । एउटा बट्टामा ५० पिस मास्क हुन्छ ।’

कच्चा पदार्थ आयातदेखिको मूल्यलाई जोड्दा एउटा गुणस्तरीय सर्जिकल मास्क ३ रुपैयाँ सम्ममा बेच्दा नाफा हुने र त्यसो भएमा खुद्रा प्रतिगोटा ५ रुपैयाँमा बेच्न सकिने उनी बताउँछन् ।

उपभोक्ता संरक्षण विभाग भन्छ अहिले अनुगमन गरेका छैनाैँ
विगतमा मास्क मनपरी मूल्यमा बिक्री गर्न थालेपछि उपभोक्ता संरक्षण विभागले अनुगमनलाई पनि तीव्रता दिएको वाणिज्य आपूर्ति तथा संरक्षण विभागका प्रवक्ता हरि पङ्गेनीले बताए । तर अहिले दोब्बर मूल्यमा बेच्दा पनि संरक्षण विभागले अनुगमन नै गरेको छैन । करिब दुई महिना अघिदेखि चाडपर्वको कारणले खाद्यान्न लगायत वस्तुको मूल्य र अनुगमनमा व्यस्त भएर अहिले त्यता ध्यान दिन नपाएको पङ्गेनीको दाबी छ ।

उनले प्रस्ट्याए, ‘चाडपर्वको समयमा अन्य बस्तुको खरिदमा उपभोक्ता बढी ठगिने भएकाले त्यसैले हामीले खाद्यान्न, लुगा कपडा, माछा–मासु लगायतका अन्य बस्तुको मूल्य अनुगमनमा व्यस्त भयौँ । मास्कमा ध्यान नै गएन । पहिला धेरै ठगी गर्ने थोक तथा खुद्रा व्यापारीलाई कारबाही गरेकै थियौँ । अब छठपछि हामी फेरी अनुगमन गरेर मूल्य नियन्त्रण गर्नेछौँ ।’

यसरी उपभोक्ता हाकाहाकी ठगिइरहेका छन् । न प्रश्न गर्ने नै कोही छ न जवाफ माग्ने नै छन् कोही । नियामक निकायले नै नियमन गर्ने साइत हेर्ने प्रचलनले मास्कको व्यापारमा चलेको मनमौजी तत्काल रोकिने देखिँदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *