कोरोना बीमाको ११ अर्ब भुक्तानी गर्न बीमा समितिले दियो ४ विकल्प

काठमाडौँ । कोरोना बीमाको दाबी भुक्तानीका लागि बीमा समतितिले ४ ओटा विकल्पसहितको सुझाव सरकारलाई पेश गरेको छ । समितिले दशैंअघि नै कोराना बीमाको दाबी बापतको ११ अर्ब रुपैयाँ भुक्तानीका लागि विकल्पसहितको सुझाव अर्थमन्त्राललाई पेश गरेको बीमा समितिले जनाएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले कोरोना बीमाको दाबी रकम ठूलो भएको भन्दै त्यसको भुक्तानीका लागि स्रोतको सुनिश्चितता गर्न गाह्रो परिरहेको बताएका थिए । दाबी भुक्तानी कसरी दिन सकिन्छ भन्ने विषयमा मन्त्री शर्माले समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाललाई बोलाएर विकल्प सहितको सुझाव पेश गर्न आग्रह गरेका थिए ।
मन्त्री शर्माको आग्रह अनुसार नै समितिले ४ ओटा विकल्पसहितको सुझाव पेश गरेको समितिले जानकारी दिएको छ ।
समितिले सुझाएको विकल्पहरुमा कोभिड बिमा ऋणपत्र जारी गरेर प्राप्त रकमबाट भुक्तानी दिन सकिने, नेपाल पुनर्बीमा कम्पनीको संस्थापनक सेयर बेचेर भुक्तानी दिन सकिने, बीमा कम्पनीहरुर्ला राज्यले निश्चित समयका लागि कर छुट गर्ने र सरकारी बीमा कम्प्नीले राष्ट्रसेवक कर्मचारीको बीमा गरीबापत प्राप्त रकमबाट भुक्तानी दिन सकिने विकल्प सुझाएको जनाएको छ ।
कोभिड–१९ को महामारी फैलिएको बेला सरकारले कोरोना बीमालेख जारी गरेको थियो । महामारीको बेला बीमालेख जारी गरिएपछि बीमा गराउनेको संख्या र महामारीको प्रभाव बढ्दै गएपछि दाबी बढी परेको हो ।
समितिले एक वर्षका लागि २७ लाख १६ हजार ५ सय ४१ जनाले कोरोना बीमालेख खरिद गरेका छन् । यस विषयमा १ अर्ब ५ करोड ५ लाख २७ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।
कम्पनीहरुमा १३ अर्ब १४ करोड १७ लाख रुपैयाँको दाबी परेको छ । तर हालसम्म ४ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ दाबी भुक्तानी भएको छ ।









