रामेछापमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, एघार सय बिरामी लाभान्वित

रामेछाप । काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजले बिहीबार रामेछापको सुनापातीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सुनापाती–४ भ्वाँसस्थित सुब्बा सिंह मेमोरियल फाउण्डेशनसँग सहकार्य गरेर केएमसीले रुपाकोटस्थित कृष्णपुरी माध्यमिक विद्यालयमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

शिविरमा १ हजार १ सय ६५ बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार शिविरमा २५६ बिरामीको रक्त परीक्षण, १९५ बिरामीको भिडियो एक्स-रे र १५५ बिरामीको इसीजी गरिएको छ ।

त्यस्तै, शिविरमा उपचार सम्भव नभएका १४३ जना बिरामीलाई अप्रेसनका लागि रेफर गरिएको छ ।शिविरमा जेनेरल मेडिसिन, प्रसूति तथा स्त्री रोग, बाल रोग, हाडजोर्नी तथा नसा रोग, छाला तथा यौन रोग, नाक कान घाँटी, आँखा रोग, दन्त रोग लगायतको विशेषज्ञ डाक्टरहरूले निःशुल्क परीक्षण गरेका थिए ।

यसअघि केएमसीले भक्तपुरको दुवाकोटमा पनि दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । शिविरमा १ हजार ६ सय ६२ बिरामीको निःशुल्क उपचार गरिएको थियो ।









