एमाले महाधिवेशन : विश्वका ६२ दललाई निम्तो

काठमाडौँ । नेकपा (एमाले) ले मंसिर १० देखि १२ गतेसम्म चितवनमा राष्ट्रिय सम्मेलन गर्दैछ । जहाँ, विभिन्न देशका ६२ भन्दा बढी दलहरूलाई निम्तो दिइएको छ । खासगरी कम्युनिष्ट मुलुकबाट उच्च तहका नेताहरू उपस्थित हुने अपेक्षा एमालले लिएकाे छ । ‘निम्तो पठाइसकिएको छ,’ एमाले विदेश विभाग प्रमुख राजन भट्टराईलाई उद्धृत गर्दै एमाले कार्यालय सचिव शेरबहादुर तामाङले भने, ‘तिहारभन्दा अगाडि नै कुन देशबाट कति प्रतिनिधि आउने, कुन देशबाट नआउने भन्नेबारे पक्का हुन्छ । धेरै देशबाट उच्च तहका नेताहरू आउने अपेक्षा गरेका छौँ ।’

विभाजित भएपछि गर्न लागेको महाधिवेशन एमालेले भव्यरूपमा सम्पन्न गर्न खाेजेकाे छ । त्यसका गत आइतबार नै एसिया, यूरोप, ल्याटिन अमेरिका, अफ्रिकालगायतका कम्युनिष्ट पार्टीलाई पत्राचार गरिसकिएकाे छ । आफूहरूले भाइचारा, छिमेकी देशहरूकाे आपसी सम्बन्ध र कूटनीतिक सम्बन्ध कायम गर्दै नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएका सबै राष्ट्रमा पत्र पठाएको तामाङले बताए । ‘उहाँहरूको जवाफकाे प्रतीक्षामा छौँ,’ तामाङले भने, ‘आशा छ उहाँहरू आउनुहुन्छ र भव्य रूपमा महाधिवेशन सम्पन्न हुनेछ । यसले सिङ्गो नेपाल जोड्नसमेत सहयोग गर्नेछ ।’

भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, बंगलादेश, श्रीलंका, जापान, ग्रिस, टर्की, पोर्चुगल, इटली, स्पेन, जर्मनी, साइप्रस, दक्षिण अफ्रिका, ब्राजिलका कम्युनिष्ट पार्टीलाई पत्र पठाइएको छ । एमाले विदेश विभागकाअनुसार आइक्यापमा आबद्ध विभिन्न मुलुकका पार्टीहरूलाई पनि महाधिवेशनमा अतिथिको रूपमा डाकिएको छ ।

विभागकाअनुसार भारतको भारतीय जनता पार्टी (भाजपा), कांग्रेस आई, समाजवादी पार्टी, जनता दल युनाइटेड, कम्बोडिएन पिपुल्स पार्टी, अवामी लीग, श्रीलंका फ्रिडम पार्टी, अफ्रिकन नेसनल कांग्रेस, पाकिस्तान पिपुल्स पार्टी, मुस्लिम लिग अफ पाकिस्तान र पाकिस्तानको सत्तारुढ दल पीटीआईलाई पनि निम्तो पठाइएको छ ।

यसैगरी अष्ट्रेलिया, न्युजिल्यान्ड, डेनमार्क, मलेसिया, थाइल्यान्ड, फिनल्यान्ड, फिलिपिन्स, इन्डोनेसिया, सिंगापुर, स्विडेन, नर्वे र बेल्जियमका कम्युनिष्ट पार्टीलाई पनि निम्तो पठाइएको छ । मंसिर १० गते नारायणाी किनारमा हुने खुला सत्रमा ५ लाख कार्यकर्ता उतार्ने लक्ष्य एमालेको छ । यसपछि बन्द सत्र भने सौराहामा हुने पक्का भएको छ । बन्द सत्रमा सबै वर्ग, क्षेत्र, लिङ्गको आधारमा समानुपातिक प्रतिनिधित्व गराई प्रतिनिधि चयन गराइने तामाङले बताए । ‘एमाले महाधिवेशन एकदमै साैहार्दपूर्ण वातावरणमा सम्पन्न गर्ने एमालेकाे एजेण्डा नै हाे,’ तामाङले भने, ‘यसमा सबै लिङ्गदेखि वर्गसम्मकाे सहभागिता रहन्छ ।’

अहिलेसम्म एमालेको सदस्य संख्या ६ लाख ३३ हजार पुगेको छ । यो संख्या बढाएर ७ लाख पुर्याउने तयारी एमालेको छ । यसकै पहल भइरहेकाे तामाङले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *