आधुनिक चिकित्सा प्रणालीमा स्नातक गरेकाले मात्र चिकित्सकको उपाधि पाउने

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले मान्यताप्राप्त शिक्षण संस्थाबाट आधुनिक चिकित्सा प्रणालीअन्तर्गत चिकित्सा शास्त्रमा स्नातकोपाधि प्राप्त गरेका व्यक्तिले मात्र चिकित्सकको उपाधि आफ्नो नामसँग जोडेर लेख्न पाउने जनाएको छ ।

सम्बन्धित काउन्सिल वा परिषद्‌बाट प्रदान गरिने दर्तामा चिकित्सकको उपाधि नभएका व्यक्तिले सो उपाधि प्रयोग गर्नु गैरकानूनी हुने भन्दै काउन्सिलले आफूले प्राप्त नगरेको आधुनिक औषधिसम्बन्धी डिग्री‚ डिप्लोमा‚ सर्टिफिकेट‚ लाइसेन्स वा उपाधि आफ्नो नामसँग जोडी लेख्न वा लेख्न लगाउन नहुने जनाएको छ ।

बुधबार काउन्सिलद्वारा जारी सूचनामा भनिएको छ‚ ‘नेपाल मेडिकल काउन्सिल ऐन‚ २०२० को दफा २ को परिभाषा (घ)मा ‘चिकित्सक’ भन्नाले मान्यताप्राप्त शिक्षण संस्थाबाट आधुनिक चिकित्सा प्रणालीअन्तर्गत चिकित्सा शास्त्रमा स्नातकोपाधि प्राप्त गरी सोसम्बन्धी व्यवसायमा लागेको व्यक्ति सम्झनुपर्छ‚ भन्ने उल्लेख छ ।’

त्यस्तै आधुनिक चिकित्साको स्नातक तह र सोभन्दा माथिल्लो तहको अध्ययन पूरा गरेको व्यक्तिलाई विश्वविद्यालयबाट प्रदान गरिने उपाधिमा चिकित्सक वा डाक्टर भनी उपाधि दिइने काउन्सिलले जनाएको छ ।

‘चिकित्सा शास्त्रमा स्नातक उपाधि हासिल गरी नेपाल मेडिकल काउन्सिलमा प्रक्रिया बमोजिम चिकित्सिकको रुपमा नाम दर्ता भएपछि त्यस्तो व्यक्तिको नामको अगाडि चिकित्सक वा डाक्टर उपाधिसहित लाइसेन्स प्रमाणपत्र प्रदान गरिएको हुन्छ‚’ सूचनामा भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 13 =