पोखराको ल्यान्डफिल साईट सार्ने महानगरको निर्णयविरुद्ध संघर्ष समिति

पोखरा । पोखरामा अन्तरराष्ट्रिय विमानस्थल निर्माणाधीन छ । केहि महिनाभित्रै अब यहाँबाट अन्तरराष्ट्रिय उडान हुनेछ । तर उडानअघि हालको ल्यान्डफिल साईट हटाउनुपर्ने पहिलो शर्त छ । विमानस्थल आयोजनाको पटक पटकको ताकेतापछि पोखराले बल्ल जग्गा पहिचान गरेको छ ।
अझै जग्गा महानगरको नाममा आइसकेको छैन । पोखरा १६ र २० को सीमाना पस्मराङमा जग्गा खोजेर त्यहाँ ल्यान्डफिल सार्ने महानगर कार्यपालिका बैठकले निर्णय गरिसकेको छ । जग्गा खोज्न वडा नम्बर १६ का अध्यक्ष जीवन आचार्यको संयोजकत्वमा ११ का अध्यक्ष मोहन बास्तोला र प्राविधिक सम्मिलित अध्ययन समिति गठन भएको थियो ।
सोही समितिले ३ वटा जग्गा उपयुक्त भनी सिफारिस गरेकोमा कार्यपालिकाले पस्मराङलाई छनोट गरेको हो । तर वडा नम्बर २० का स्थानीयले भने आफूहरूलाई बिनाजानकारी ल्यान्डफिल सार्न लागिएको भन्दै अवरोध गरेका छन् । वडाध्यक्ष सीम गुरुङको संयोजकत्वमा संघर्ष समिति नै गठन गरेर आन्दोलन थालेका हुन् ।
आन्दोलनको प्रारम्भिक चरणअन्तर्गत महानगरलाई बुधबार ज्ञापनपत्र बुझाएका छन् । स्थानीयहरूले र्यालीसहित महानगरमा आएर कुनै हालतमा त्यहाँ ल्यान्डफिल सार्न नदिने बताएका छन् ।
संघर्ष समितिका संयोजक गुरुङले महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बराललाई ज्ञापनपत्र बुझाए । आफूहरू विकासविरोधी नभएको र अन्तरराष्ट्रिय उडानअघि ल्यान्डफिल सानुपर्ने अवस्थाबारे जानकारी भएपनि अहिले तोकेको जग्गा उपयुक्त नहुने उनले बताए ।
‘विकासविरुद्ध हामी छैनौँ । ल्यान्डफिल सार्नैपर्ने पनि छ । तर उपयुक्त ठाउँ हुनुपर्यो नि !’ उनले भने, ‘हामीलाई जानकारी नै नदिई हाम्रो वडाको जग्गा उपयुक्त भनी सिफारिस गरेको घटनाले हाम्रो ध्यानाकर्षण भएको छ ।’ उनले निर्णय फिर्ता लिन माग गरेका छन् ।
‘स्थानीयको मागलाई बेवास्ता गरी ल्यान्डफिल सार्ने गतिविधि अघि बढाए चरणबद्ध रुपमा संघर्षका कार्यक्रम गर्ने चेतावनी दिन चाहान्छौँ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘आन्दोलनबाट सिर्जना हुने परिस्थितिको महानगर नै जिम्मेवार हुनेछ ।’








