भक्तपुरको दुवाकोटमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

भक्तपुर । काठमाडौँ मेडिकल कलेजले भक्तपुरको दुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । गरिब तथा विपन्न बिरामीलाई लक्षित गरी केएमसीको दुवाकोट अस्पतालमा सोमबारदेखि दुई दिने शिविर आयोजना गरिएको हो ।

काठमाडौँको सिनामंगलस्थित केएमसीले भक्तपुरको चागुनारायण नगरपालिका-२ स्थित दुवाकोटमा पनि अस्पताल सञ्चालन गर्दै आएको छ ।

सोही अस्पतालमा निःशुल्क शिविर सञ्चालन गरिएको हो । शिविर उद्घाटन कार्यक्रममा बोल्दै चागुनारायण नगरपालिकाका मेयर सोम मिश्रले निःशुल्क शिविरबाट नगरबासीले निकै लाभ लिन सक्ने बताए । केएमसीले स्वास्थ्य उपचारका क्षेत्रमा राम्रो काम गरिरहेको भन्दै मेयर मिश्रले स्वास्थ्य सेवाको प्रवर्द्धनका लागि नगरपालिकाले पनि सहयोग र सहजीकरण गर्ने आश्वासन दिए ।

कार्यक्रममा भक्तपुरका जनस्वास्थ्य प्रमुख कृष्ण मिजार, चागुनारायण-२ का वडाध्यक्ष शिवहरी केसी, केएमसीका प्रमुख सल्लाहकार डा.केपी शर्मा र जेनेरल मेनेजर नारायण दाहालले निःशुल्क स्वास्थ्य शिविरबाट गरिब तथा बिपन्न विरामीले भरपुर फाइदा लिन सक्ने बताए ।

करिब दुई हजार बिरामी लाभान्वित हुने अनुमान गरिएको शिविरमा पहिलो दिन ७ सय २३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीले जनाएको छ । शिविरमा विशेषज्ञ डाक्टरहरूले बिरामीको स्वास्थ्य परीक्षण गरेका छन् । शिविरको पहिलो दिन १५३ जनाको भिडियो एक्सरे, १८५ जनाको ल्याब टेष्ट, ८७ जनाको इसीजी र ३५ जनाको एक्सरे गरिएको छ । त्यस्तै, २५ जना महिलाहरुको पाठेघर क्यान्सरको परीक्षण गरिएको छ ।

केएमसीले दुवाकोट अस्पताललाई पनि थप व्यवस्थित गरेर विषेशज्ञ स्वास्थ्य सेवा सञ्चालन गर्ने तयारी गरेको छ । त्यसकै पूर्वसन्ध्यामा केएमसीले निःशुल्क शिविर सञ्चालन गरेको हो । शिविरमा आएका विरामीहरुलाई अस्पतालमा अप्रेशन शुल्कमा ५० प्रतिशत र अन्य उपचारमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको केएमसीका जेनेरल मेनेजर दाहालले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *