हचुवाका भरमा करोडौँ खर्चिँदै पोखरा, सोलार फालेर स्मार्ट बत्ती राख्ने तयारी

पोखरा । पोखरामा स्मार्ट सडक बत्ती राख्न लागिएको छ । विद्युत् प्राधिकरण र पोखरा महानगरपालिकाको समान साझेदारीमा बत्ती राख्न लागिएको हो ।

विद्युत् प्राधिकरणले १२ करोड ७५ लाख रुपैयाँमा बोलपत्र स्वीकृत गरेको छ । त्यसमा पोखरा महानगरपालिकाले ६ करोड ३७ लाख ९४ हजार लगानी गर्ने छ भने प्राधिकरणको पनि सोही बराबरको रकम लगानी हुने छ । पोखराले चालू वर्षमै ५ करोड विनियोजन गरिसकेको छ । लगानी बढ्ने भएपछि अर्को आर्थिक वर्षको लागि श्रोत सुनिश्चित हुने गरी १ करोड ३७ लाख ९४ हजार थप विनियोजन गर्ने निर्णय कार्यपालिका बैठकले गरेको छ ।

डेढ करोड यसअघि नै प्राधिकरणको खातामा जम्मा गरिसकिएको र बाँकी साढे ३ करोड केही दिनमै भुक्तानी दिइने महानगरपालिकाले जनाएको छ । मुख्य शहरी क्षेत्रका ६० देखि ८० किलोमिटरमा सडक बत्ती राख्ने योजना छ । त्यसबाहेक ३० वटा चोकमा अग्लो पोल गाडेर विशेष खालको लाइट राखिने छ । त्यसको डीपीआर पोखरासँग छैन । ‘उनीहरू आफैले डीपीआर गरेको हो । नयाँ परीक्षण गर्न लागेको भनेका छन् । हामीले धेरै कुरा बुझेको छैन,’ प्रमुख प्रशासकीय अधिकृत महेश बरालले भने, ‘सुरुमा भरतपुरमा मात्रै गर्ने कुरा थियो । मेयरसावको जोडवलले पोखरामा पनि काम गर्न राजी भएका छन् । हाम्रो तहमा धेरै छलफल भएको छैन ।’

महानगरका इन्जिनियर ध्रुव भट्टराईका अनुसार सबै लाइटहरू सेन्सर हुन् । सडक बत्तीको शुल्क पनि महानगरपालिकाले नै तिर्नुपर्छ । ‘अहिलेसम्मको सबैभन्दा सस्तो सिस्टम हुन्छ यो । सोलार बत्तीको खर्च बढी निस्किन थाल्यो । अब यही प्रविधिमा जानुको विकल्प छैन,’ उनले भने, ‘बत्तीको शुल्क मिटर हेरेर तिर्ने हो । खासै महँगो पर्दैन । लाइट पनि चहकिलो हुन्छ ।’ वार्षिक २५ लाख हाराहारी विद्युत् शुल्क महानगरले प्राधिकरणलाई तिर्नुपर्छ । ‘दीर्घकालीन साझेदारी गर्ने कुरा भएको छ । अन्त प्राधिकरणको ४० र महानगरको ६० प्रतिशत लगानी छ । हाम्रोमा ५०-५० लगानी हो,’ उनले अघि थपे, ‘पोखरालाई बढी फाइदा छ ।’

५० प्रतिशत लगानी माग्दा पोखराले प्राधिकरणलाई ट्रान्सफर्मर कम्पनी राख्न जग्गा दिने सहमति भएको छ । पोखरा ३३ पुँडीटार क्षेत्रमा ६० देखि १ सय रोपनी जग्गा प्राधिकरणले मागेको भट्टराईले बताए । ‘त्यो पनि राम्रै हो । कम्पनी यहाँ बस्यो भने २ सय जना पोखरेलीले रोजगारी पाउँछन्,’ उनी भन्छन्, ‘फालिएको खोला छेउको जग्गा दिँदा पोखरालाई राम्रो हुन्छ भने दिनु नै उपयुक्त हो ।’

यसअघि निकै उत्साहका साथ वैकल्पिक ऊर्जाको व्याख्या गरेको पोखराले केही वर्ष पनि नबित्दै वैकल्पिक ऊर्जा छोडेर जलविद्युतमा लागेको छ । चीनका विभिन्न शहरहरुले पोखरालाई सोलार बत्ती सहयोग गरेका छन् । ती सोलार बत्ती अहिले पनि प्रयोगमै छन् । प्रयोगमै भएको बत्ती छोडेर पोखराले थप आर्थिक भार बढ्ने गरी नयाँ परियोजना सुरु गर्न लागेको छ । ‘भइरहेका सोलार भित्री सडकमा लैजाने कुरा छ । अरू ग्रामीण क्षेत्रमा पनि लैजान सकिन्छ,’ कार्यवाहक मेयर मन्जुदेवी गुरुङले भनिन्, ‘ग्रामीण क्षेत्र पनि यसले उज्यालो हुन्छ ।’

विद्युत् प्राधिकरणका इन्जिनियर सागर ज्ञवालीले टेण्डरको अन्तिम चरणमा पुगेको बताए । भइरहेका पोलको बढी उपयोग गर्ने योजना छ । त्यसलाई सकेसम्म नहटाउने र त्यहीँ बत्ती राख्ने हो,’ उनले भने, ‘१५ दिनभित्रका काम नै सुरु हुन्छ । सकेसम्म चाँडै सिध्याउने कुरा छ ।’ उनका अनुसार यही चैत महिनाभित्र उद्घाटन गर्ने गरी काम गर्न लागिएको छ । विद्युत् महसुलको रकम समेत विज्ञापन राखेर उठाउन सकिने उनले सुनाए । ‘खर्च धेरै हुँदैन । पोलमा विज्ञापन राख्न सकिन्छ । महसुल त्यसैले धान्छ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *