निक्षेप बैंकिङ प्रणालीमा नविल बैंक अब्बल

अहिले बैंकिङ वृत्तमा बैंकहरुको ब्याजदरको विषय चर्चामा आएको छ । बैंकहरुले कात्तिक महिनाका लागि बढाएको समग्र निक्षेपको ब्याजदरमा पहिलो पटक राष्ट्र बैंकले अंकुश लगाउनु परेको कुरा चर्चामा छ । तर, आम रुपमा बैंकले निक्षेपमा दिने र कर्जामा लिने ब्याजको मात्रै एकपक्षीय रुपमा चर्चा भएको पाइन्छ । सुरक्षित बैंकिङका अन्य पाटा र पक्षको चर्चा नै कम भएको पाइन्छ । ब्याजदरलाई मात्रै हेरेर बैंकिङ सेवा लिँदा आम उपभोक्ता समस्यामा पर्ने गरेका पनि छन् ।

ब्याजदर निर्धारणकै कुरा गर्नुपर्दा बैंकमा राखिने निक्षेप तथा बैंकबाट लिइने कर्जाको ब्याजदर बजारले नै निर्धारण गर्ने हो । यो माग र आपूर्तिका आधारमा निर्धारण हुने विषय हो । तर, निक्षेप र कर्जामा दिइने ब्याजदरले देशको समग्र अर्थतन्त्रमै तीव्र प्रभाव देखिने भएकोले नेपाल राष्ट्र बैंकले यसलाई असाध्यै नजिकबाट नियमन गरिरहेको छ । नियामक निकायका हिसाबले राष्ट्र बैंकबाट नियमन भइरहेका बैंकिङ संस्थाहरुलाई सहज रुपमा अघि बढाइरहन र धराशयी हुनबाट जोगाउन पनि राष्ट्र बैंकले यसरी नियमन गरिरहेको हो । उसले आफ्नो नियामक धर्म निर्वाह गरेको हो । यही धर्म निर्वाह गर्ने क्रममा राष्ट्र बैंकले समग्र निक्षेपको ब्याजदर १० प्रशितभन्दा बढी नबढ्ने गरी कायम गर्न निर्देशन दिनु परेको हो ।

बैंकिङ प्रणालीमा तरलता अभाव चुलिएको वर्तमान अवस्थामा निक्षेप संकलनमार्फत तरता बढाउने एक मात्रै उद्देश्यले निक्षेपमा ह्वात्तै ब्याज बढाउँदा त्यसले नकारात्मक असरहरु देखिन सक्छ । अर्को महिना निक्षेपको व्याजदर अझ बढाउनु पर्ने हुन्छ । निक्षेपमा जुन अनुपातमा ब्याज बढ्छ, त्यही अनुपातमा ऋणको पनि व्याज बढ्छ । त्यसो हुँदा ऋण लिने ऋणीहरु समेत समस्यामा पर्न जाने अवस्था आउन सक्छ । यसले बैंकको समग्र कर्जा बजारमा नकारात्मक असर पार्न सक्ने चिन्ता राष्ट्र बैंकको हो । यसलाई जायज मान्नु पर्छ ।

निक्षेपको ब्याज जथाभावी बढाउनु भनेको ‘आर्टिफिसियल डिपोजिट क्रियट’ गर्नु हो । 

अर्कोतर्फ हाल धेरैजसो बैंकको ब्याजदर ०.५ प्रतिशत बिन्दुभन्दा कमै मात्र तलमाथि छ । त्यसकारण यस्तो बेलामा निक्षेपकर्ताले ध्यान दिनुपर्ने मुख्य विषय भनेको सुरक्षित र भरपर्दो बैंकिङ नै हो । ०.५ प्रतिशत बिन्दुले बढी ब्याज पाउन भरर्दो र सुरक्षित बैकिङको शर्तमा सम्झौता गर्नु बुद्धिमानी हुँदैन । जस्तो कि कुनै बैंकमा तपाईँ ५ करोड वा ५० करोड निक्षेप राख्दै हुनुहुन्छ । सबैभन्दा बढी ब्याज दिने बैंकमा राख्नु हुन्छ । तर, तपाईँलाई आवश्यक परेको बेला उक्त बैंकले त्यो पैसा अर्थात् तपाइँले राखेको निक्षेप फिर्ता गर्न सक्छ कि सक्दैन भन्ने विषयलाई ध्यान दिनुपर्छ । तपाईंलाई खाँचो परेको बेला आफूले बैंकमा राखेको निक्षेप फिर्ता लिएर काम गर्न पाउनु हुन्न भने ०.५ प्रतिशत बिन्दु बढी ब्याज पाउनुको कुनै औचित्य हुँदैन । बहुमूल्य धातुलगायत वस्तु धितो राखेर लिएको ऋण भुक्तानी गरेपछि धितोको वस्तु जस्ताको तस्तै फिर्ता पाउनु हुन्न भने ०.५ प्रतिशत बिन्दुले कम ब्याजमा ऋण पाउनुको पनि औचित्य नहुन सक्छ ।

त्यसो हुँदा आम उपभोक्ता तथा सेवाग्राहीले ब्याजदरलाई मात्रै हेरेर बैंकिङ कारोबारका लागि बैंकको छनोट गर्नु गलत हुन्छ । बैंक कत्तिको दीगो छ । बैंकको नाफा कस्तो छ । लाभांश दिने क्षमता कस्तो छ । निक्षेप संकलन र कर्जाप्रवाहको अवस्था कस्तो छ भनेर हेर्नु आवश्यक हुन्छ । अन्य सबै सूचक र परिसूचक कस्ता छन्, बैंकको छवि कस्तो छ भन्ने बुझेर मात्र बैंकको छनोट गर्नुपर्छ । त्यसकारण सुरक्षित, भरपर्दो, सहज, विश्वसनीय बैंकमै निक्षेप राख्न तथा कर्जा लिन जानु उपयुक्त हुन्छ ।

नविल बैंक यी सबै गुण तथा विशेषताले युक्त छ । ३७ वर्षदेखि अनवरत रुपमा नविल बैंकले आम सेवाग्राहीलाई सेवा दिँदै आएको छ । नेपालमा नम्बर १ बैंकका रुपमा सेवा प्रवाह गर्दै आएको छ । करिब २ खर्ब रुपैयाँ निक्षेप सङ्कलन गरेको छ । आफूलाई चाहिएको बेला करोड होइन, अर्बौं रुपैयाँको निक्षेप पनि सहजै फिर्ता गर्न सक्छ । चाहिएको बेला ऋण दिन सक्छ । धितोमा राखिएका बहुमूल्य वस्तु जस्ताको त्यस्तै फिर्ता गर्दछ । झण्डै ४ दशकको समय खर्चिएर, सेवाग्राही, संस्थापक, सञ्चालक, कर्मचारी, नियामक निकायहरु सबैको हातेमालोबाट १२ ओटा भन्दा बढी सूचकमा पहिलो भएको बैंक हो नविल बैंक । कुनै बैंक वित्तीय संस्थाले रातारात नविल बैंक जस्तो हुन्छु भन्ने चाहना राख्नु वा सपना देख्नु स्वभाविक होला, तर रातारात नविल जस्तो बन्न संभव छैन । नविल बैंकले यो लामो समयको अनुभव र ग्राहकको विश्वासलाई कायम राख्दै अझै बढी ग्राहकको माझमा पुग्न अनवरत प्रयास गरिरहेको छ । त्यसो हुँदा आगामी दिनमा पनि नविलले पहिलो बैंकको रुपमा बैंकिङ सेवा प्रवाह गरिरहने छ । आजका ग्राहकसँग बैंकमा पुगेर सेवा लिने समय छैन । ग्राहकको समय बचत हुने प्रडक्टसमेत बैंकले निरन्तर रुपमा कार्यान्वयनमा ल्याउँदै अघि बढेको छ । त्यसो हुँदा नविलसँग जोडिँदा आम ग्राहकलाई जोखिमको कुनै आभास हुनुपर्ने अवस्था छैन ।

ब्याजदरकै कुरा गर्ने हो भने पनि नविल बैंकको व्याजदर तुलनात्मक रुपमा कम छैन । नेपाल राष्ट्र बैंकको निर्देशन पछि नबिल बैंकले संशोधन गरी सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार बचत खातामा न्यूनतम ४.३६ प्रतिशतदेखि अधिकतम ६.३६ प्रतिशतसम्म ब्याज पाइने भएको छ । त्यस्तै, बैंकको मुद्दति निक्षेपको ब्याज व्यक्तिगततर्फ न्यूनतम ८.३६ प्रतिशतदेखि अधिकतम ९.३६ प्रतिशतसम्म छ । संस्थागत मुद्दती निक्षेपतर्फ बैंकको मुद्दति निक्षेपको ब्याज अधिकतम ८.३६ प्रतिशतसम्म तोकिएको छ । बैंकले न्यूनतम ०.५ प्रतिशतदेखि अधिकतम ६ प्रतिशतसम्मको प्रिमियममा विभिन्न कर्जा उपलब्ध गराउँदै आएको छ । त्यस्तै, बैंकको आधार दर ६ प्रतिशत छ । यसलाई हेर्दा नविल बैंकको ब्याजदर पनि प्रतिस्पर्धी नै छ ।

नेपालमा बेलाबेला बैंकिङ प्रणालीमा अधिक तरता हुने, तरता अभाव हुने, ब्याजदर घटबढ हुने जस्ता उतार–चढाव आइनै रहन्छन् । यी यस्ता विषयमा धेरै र छिटोछिटो उतारचढाव आउन नदिई सन्तुलित कसरी बनाइ राख्ने र तरलता कम हुने वा बढी समस्याको दीगो समाधान कसरी निकाल्ने भन्ने विषयमा नियामक निकाय र बैंकवित्तीय संस्थालेले भरपर्दाे उपायको पहिचान गर्दै जालान् । तर, यस्तो अवस्था आयो भन्दैमा आम सेवाग्राहीले अत्तालिएर ब्याजदरलाई मात्रै आधार बनाई बैंक छनोट गर्नु उपयुक्त होइन ।

हामी व्यापार घाटामा रहेको देश हौँ । हामी निर्यातभन्दा ज्यादा आयात गर्ने देश भएकोले हाम्रो पैसाको मूल्य बढाउनु पर्छ । जथाभावी निक्षेपको मूल्य बढाउनु भनेको ‘आर्टिफिसियल डिपोजिट क्रियट’ गर्नु हो । कालो धन पनि बैंकमा आओस् भन्नु हो । तर, हाम्रो चाहना भनेको वैध धन वा पैसा मात्रै बैंकिङ च्यानलमा आओस् भन्ने हो । वैध पैसा पनि बैंकिङ माध्यमबाहिरको अवैध च्यानलबाट कारोबार नहोस् भन्ने हो ।

अर्कोतिर हेर्ने हो भने जापानलगायत कपतिपय विकसित देशमा आफ्नो पैसा तथा धन सुरक्षित गरिदिएबापत बैंकले ब्याज दिने होइन, ब्याज लिने (नेगेटिभ इन्ट्रेस्ट) चलन पनि छ । तर, नेपालका बैंकहरुले त मुद्दती खाताको तुलनामा अलि कम भए पनि बचत खातामै समेत धेरथोर ब्याज दिन दिइरहेका छन् । नविल बैंकले निक्षेपकर्तालाई घाटा नलाग्ने गरी ब्याज दिइरहेको छ । भविष्यमा पनि यो ब्याज दिइरहने छ । तर, ब्याजदरमा थोरै तलमाथि भए पनि सुरक्षित बैंकिङ मुख्य कुरा हो ।                 (सुवेदी नविल बैंकको रिटेल लायबलिटी, कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर विभागका प्रमुख हुन् ।)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *