पोखराको ‘ल्याण्डफिल साइट’ पस्माङमा सार्ने तयारी 

पोखरा । पोखरा महानगरपालिकाले हालको ल्याण्डफिल साइट सार्ने निर्णय गरेको छ । हालको ल्याण्डफिल अन्तर्राष्ट्रिय उडान रुटमा पर्ने भएपछि त्यसलाई सार्न लागिएको हो । हाल पोखरा १४ बाच्छे बुडुवाको २ सय रोपनी क्षेत्रफलमा ल्याण्डफिल छ । यसलाई पोखरा १६ र २० को मध्य भागमा पर्ने पस्माङमा सार्न लागिएको हो ।

ल्याण्डफिलको जग्गा खोजी गर्न यसअघि नै अध्ययन समिति गठन गरिएको थियो । वडा नम्बर १६ का अध्यक्ष जीवन आचार्यको संयोजकत्वमा वडा नम्बर ११ का अध्यक्ष मोहन बास्तोला र प्राविधिक सम्मिलित समिति बनेको हो । समितिको सिफारिसका आधारमा पस्माङलाई उपयुक्त ठहर्‍याईएको हो ।

समितिले ३ ठाउँ प्रस्ताव गरिएको थियो । अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले आयोजना सम्पन्न हुनुअघि नै ल्याण्डफिल सार्न महानगरलाई पत्राचार गरेको छ । पटक पटक गरिएको पत्राचार पछि बल्ल चासो देखाइएको हो ।

तर अहिले सार्ने भनिएको जग्गामा स्थानीयले विरोध जनाएका छन् । वडाध्यक्ष सीम गुरुङले स्थानीयको सहमति विना ल्याण्डफिल सार्न नदिइने बताए । ‘यो जग्गा २० र १६ को पर्छ । सिफारिस समितिले मसँग कुनै सल्लाह गरेको छैन,’ उनले भने, ‘वडाध्यक्ष र जनताको सहमति नलिई गरिएको सिफारिस मान्य छैन । यो प्रस्तावमा मेरो असहमति छ ।’

विकासका काममा आफ्नो सहमति भए पनि विना जानकारी ल्याण्डफिल सार्दा त्यसले पार्न सक्ने प्रभावबारे महानगरले नसोचेको उनले बताए । ‘पोखराबाट जहाज उड्नुपर्छ । विकासको विरोधी हामी होइनौँ,’ उनले थपे, ‘तर जनतालाई दुख दिन पाइँदैन । उनीहरूलाई राजी पारेर मात्रै काम अघि बढाउनुपर्छ । नत्र दुर्घटना हुन सक्छ ।’

शुक्रवारको ५२ औँ कार्यपालिका बैठकमा वडाध्यक्षले विरोध गरेपछि दुई राजनीतिक पार्टीका सचेतक र प्रमुख प्रशासकीय अधिकृतले स्थानीयसँग अन्तरक्रिया गरेर प्रभावित क्षेत्रका नागरिकलाई खुसी पार्ने जिम्मा लिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *