गण्डकीमा २६ सय हेक्टर धान सखाप

पोखरा । बर्खा सकिएपछि सुरु भएको वर्षात्‌ले गण्डकीमा करिब २६ सय हेक्टर जमिनमा लगाइएको धानखेतीलाई क्षति गरेको छ । कृषि निर्देशनालयका अनुसार २५९१ हेक्टर क्षेत्रफलको धानमा वर्षाले असर गरेको छ । ४७१५ हेक्टरको धानबालीमा भने आंशिक क्षति भएको छ ।

निर्देशनालयका अनुसार सबैभन्दा बढी क्षति कास्कीमा छ । कास्कीमा मात्रै १७३५ हेक्टरमा लगाएको धानवाली पूर्णरुपमा क्षति भएको कृषि मन्त्रालयकी सूचना अधिकारी ज्योती क्षेत्रीले जानकारी दिइन् ।

‘अहिले सरकारसँग राहतको प्याकेज केही छैन । उहाँहरूले बीमा गर्नुभएको भए राम्रो हुन्थ्यो, बाली बीमा गरेको पनि भेटिएन,’ उनले भनिन्, ‘अब सरकारले केही सहयोग गर्ला । अहिलेसम्म निर्णय भएको छैन ।’ उनका अनुसार यो वर्ष गण्डकीको १ लाख २० हजार ८२० हेक्टरमा धान खेति गरिएको छ । पाकेको धान थन्क्याउनै लाग्दा वर्षा भएपछि किसान चिन्तित भएका छन् । वर्षासँगै आएको हावाहुरीले बढी समस्या परेको उनको भनाइ छ ।

पोखराभित्रको ५ सय रोपनीमा लगाइएको धानबाली पूर्ण रुपमा क्षति भएको छ भने १५ सय रोपनीको धान ढलेको छ । अघिल्लो वर्षभन्दा अहिले २५ प्रतिशत धान उत्पादन कम हुने महानगरका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । ‘ढलेको धान धेरै समय रहँदैन । पानीमा डुबेको पनि छिटै उम्रिन्छ,’ उनले भने, ‘यसपाली उत्पादन धेरै नै घट्ने सम्भावना छ । मौसम अझै विग्रिरहेको छ ।’ गण्डकीमा मनाङ र मुस्ताङ बाहेकका जिल्लामा धान खेती गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *