बेमौसमी वर्षाले धानबालीमा साढे ६ अर्बको क्षति

काठमाडौँ । बेमौसमी अविरल वर्षा, बाढी, पहिरो र डुबानका कारण देशका विभिन्न जिल्लामा गरी ६ अर्ब ४२ करोड रुपैयाँ बराबरको धानबाली नोक्सान भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाले सार्वजनिक गरेको प्रारम्भिक रिपोर्टअनुसार ३१ असोजदेखि २ कात्तीकसम्म भएको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानले उक्त धानबाली नष्ट गरेको हो ।

मन्त्रालयका अनुसार मुख्य गरी तीन ओटा प्रदेशका कुल १ लाख ९८ हजार ५ सय २१ हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली नोक्सान भएको हो ।

मन्त्रालयका अनुसार प्रदेश नम्बर १ मा ४९ हजार ९ सय ४५ हेक्टर क्षेत्रफलमा लगाइएको धानबाट नष्ट हुँदा करिब ८० करोड रुपैयाँको क्षति भएको छ ।

सबैभन्दा बढी क्षति लुम्बिनी प्रदेशमा भएको छ । यो प्रदेशमा ९३ हजार ५ सय ७६ हेक्टरमा लगाएको धानबाली क्षति भएको छ । यसबाट ४ अर्ब ५१ करोड बराबरको नोक्सान भएको छ ।

सुदूरपश्चिम प्रदेशमा ५५ हजार हेक्टर क्षेत्रफलमा धानबाली लगाइएकोमा १८ हजार हेक्टरमा लगाइएको धानबालीमा पूर्ण रुपमा क्षति हुँदा १ अर्ब ९१ करोड रुपैयाँको नोक्सान भएको छ ।

बाढी पहिरो र डुबानबाट खास गरी पूर्वको झापा, मोरङ र सुनसरीमा लगाएको धानबालीमा क्षति भएको छ । त्यस्तै, पश्चिमा बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, बर्दिया र कपिलबस्तु, रुकुम, रोल्पा, प्युठान जिल्लामा ज्यादा क्षति पुर्याएको छ ।

नेपालमा धानको उत्पादनले कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा प्रभाव पार्दै आएको छ । धानमा क्षति हुँदा कुल गार्हस्थ्य उत्पादनको वृद्धि दर घट्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *