सकसै सकसमा कांग्रेस

भर्खरै एक सय दिन पूरा गरेको नेपाली कांग्रेस नेतृत्वको सरकारबारे विभिन्न कोणबाट टिका-टिप्पणी भइरहेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले खासै उपलब्धिमूलक काम गर्न नसकेको टिप्पणी ज्यादा छ भने कोरोना खोपमा बाजी मारेर सरकार सफल भएको भनेर बचाउ गर्ने तर्कहरू पनि आउन थालेका छन् । एकातिर खुलेआम प्रधान न्यायाधीशलाई सत्ता साझेदार बनाएको आरोप छ त अर्कोतिर छिमेकीसँगको सम्बन्ध सुधार गरिएको भन्ने प्रचार छ ।

केपी ओलीलाई अलोकतान्त्रिक भनेर नथाकेको कांग्रेस अहिले आफू पनि अध्यादेशको सहारामा सत्ता लम्ब्याउने खेलमा लागेको छ । संसद् छलेर सत्ता चलाउने मामिलामा अहिलेको कांग्रेस नेतृत्वको सरकार र ओली नेतृत्वको सरकारमा त्यति धेरै भिन्नता पाइएको छैन । सत्ता सञ्चालनमा व्यस्त कांग्रेसको नेतृत्वले आफ्नो महाधिवेशनको अन्तिम तयारी थालिसक्नुपर्ने हो । तर कांग्रेस सुस्ताएको छ । मंसिरमा महाधिवेशन हुन नसक्ने सम्भावना बढ्दै जाँदा कांग्रेस नेतृत्वमा त्यो समय गुज्रिने चिन्ता वा कुनै हतारो देखिँदैन । हुन त ओलीको अलोकतान्त्रिक व्यवहारको विकल्प भन्दै सरकारको नेतृत्व गरिरहेको कांग्रेसलाई छुट्टै सकस छ‚ त्यो हो- आफ्नो आन्तरिक लोकतन्त्र बलियो छ भनेर देखाउन महाधिवेशन सम्पन्न गर्नुपर्ने सकस ।

हुन त ओलीको अलोकतान्त्रिक व्यवहारको विकल्प भन्दै सरकारको नेतृत्व गरिरहेको कांग्रेसलाई छुट्टै सकस छ‚ त्यो हो- आफ्नो आन्तरिक लोकतन्त्र बलियो छ भनेर देखाउन महाधिवेशन सम्पन्न गर्नुपर्ने सकस ।

केन्द्रमा होस् या मोफसलमा, अहिले कांग्रेस शुभेच्छुक र कांग्रेस कार्यकर्तामाझ एउटा प्रश्न लोकप्रिय छ- कांग्रेसको महाधिवेशन होला र ? अनि अपेक्षित उत्तर होइन‚ प्रश्न नै हुने गरेको छ- खोइ ?

हुन्छ नै भनेर ठोकुवा गर्ने अवस्थामा कांग्रेसका कोही पनि नेता कार्यकर्ता देखिँदैनन् । देशकै जेठो र ठुलो लोकतान्त्रिक दल आफ्नै महाधिवेशन हुने/नहुने सकसमा विगत डेढ वर्षदेखि जुधिरहेको छ । थप, चाहेर वा नचाहेर असहज स्थितिमा सत्ताको बागडोर चलाउने सकसले पनि कांग्रेसलाई थिचिरहेकै छ । जसभन्दा अपजस पाउने सम्भावना बढी भएको सरकारको नेतृत्व गर्दैछ‚ नेपाली कांग्रेस । ओलीजस्तो स्वेच्छाचारी र अलोकतान्त्रिक शासकको बहिर्गमन पश्चात् जसरी कांग्रेस आफ्नै नेतृत्वमा सरकार बनाउने ठाउँमा पुगेको छ, त्यसमा आगामी चुनावको हेक्का गर्दै पार्टीको नीति र कार्यक्रमको उच्चतम कार्यान्वयन गर्दै जनताको मन जित्नुपर्ने सकस त छँदैछ ।

यसैक्रममा कांग्रेस सामुन्ने थपिएका छन्- संसद् खुलाउन नसकेको सकस, गठबन्धन खुसी पार्नुपर्ने सकस, एमसीसीजस्तो जटिल विषयको उचित सम्बोधन गर्नुपर्ने सकस, न्यायपालिकासँगको सम्बन्ध पुष्टि गर्नुपर्ने सकस, प्रदेशमा भएका राजनीतिमा के गर्ने ? कसो गर्ने ? सकस । यस्ता थुप्रै सकस सहँदै आएको कांग्रेसलाई समयमै महाधिवेशन गर्नुपर्ने सकस सबैभन्दा ठुलो सकसका रूपमा रहेको देखिन्छ ।

महाधिवेशनमा हालको स्थिति
आजको दिनसम्म नेपाली कांग्रेसलाई लागेको महाधिवेशन भनेको केही स्थानीय तहमा र केही जिल्लाको अधिवेशन सम्पन्न हुनुमात्र हो । प्रदेश २ सहित अरू केहीसमेत १३ जिल्लामा भने क्रियाशील सदस्यता वितरणको विवाद कहिले टुङ्गिएला भनिहाल्न सकिने अवस्था छैन । रौतहटका कार्यकर्ताहरू पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना बसेको पनि ९० दिन कटिसकेको छ । यसको कारण हो, क्रियाशील सदस्यता सूची सार्वजनिक नगरिनु । हुन त कात्तिक १० देखि १२ सम्म प्रदेश अधिवेशन भनिएको छ‚ तर यो सर्ने पक्काजस्तै छ । किनभने कात्तिक १० आउन अब हप्ता दिनमात्र बाँकी छ ।

ओलीजस्तो स्वेच्छाचारी र अलोकतान्त्रिक शासकको बहिर्गमन पश्चात् जसरी कांग्रेस आफ्नै नेतृत्वमा सरकार बनाउने ठाउँमा पुगेको छ, त्यसमा आगामी चुनावको हेक्का गर्दै पार्टीको नीति र कार्यक्रमको उच्चतम कार्यान्वयन गर्दै जनताको मन जित्नुपर्ने सकस त छँदैछ ।

अर्कातिर नेपाली कांग्रेसभित्र ‘अर्ली इलेक्सन’मा जाने‚ अनि महाधिवेशन थाँती राख्ने कुरामा पनि बहस नचलेको भने होइन । तर पनि कार्यकर्ताको चर्को दबाब र नेतृत्वको केही आकाङ्क्षीहरूको निरन्तर खबरदारीले गर्दा टुङ्गोमा पुगेको छैन । अघिल्लो महाधिवेशनमा हारेका कारण पनि कांग्रेसका धेरै प्रभावशाली नेताहरू पहिले आम चुनाव गर्ने कुराको लागि भित्रभित्रै लबिङ पनि गर्दै आएका छन् ।

महाधिवेशनअघि चुनाव कि चुनावअघि महाधिवेशन भन्ने विषयले कांग्रेसका साना बैठकहरूमा ठाउँ पाउँदै आएका छन् । कांग्रेसले केन्द्रीय समितिको बैठक नगरेको त जुग भइसक्यो । त्यसैले यस्तो महत्त्वपूर्ण कुरामाथि बृहत् छलफल नभएकै धेरै भइसक्यो । छलफल र बैठक भइहाले पनि पदाधिकारीको तहमा बेलाबेला हुन्छन् । जसमा पनि आपसी तीतो पोखाइ वा भागबण्डाको मारामार बाहेकका बहस कमै हुने गरेका छन् ।

कांग्रेसको प्रमुख दायित्व भनेको महाधिवेशन समयमै सम्पन्न गरेर आसन्न तीन तहको चुनावमा कार्यकर्ता र नेताहरूमा ऊर्जा भरेर तयार गर्ने हो । तर कांग्रेस के गर्ने‚ कसो गर्ने भनेर अलमलमै हल्लिरहेको छ । फेरि, अधिवेशन भनेको केवल नेतृत्व परिवर्तन हो, पार्टीको नीति र कार्यदिशासँग कुनै सम्बन्ध छैन भन्ने मनोविज्ञान पनि पार्टी पङ्क्तिमा हाबी देखिन्छ । गुट‚ उपगुट र नेताका अघि-पछि बाँडिएका कांग्रेस कार्यकर्ताबीचमा पार्टीको नीति‚ कार्यदिशा‚ संरचना वा लक्ष्य र योजनाबारे बहस गर्ने न त बानी देखिन्छ‚ न त रहर नै । उनीहरू फलानो दाइ वा पक्ष भनेर नारा लगाउँछन्‚ तर किन फलानै दाइ वा पक्ष भन्न सक्दैनन् ।

महाधिवेशन हुने/नहुने अन्योलमा नै केही जिल्लामा महाधिवेशन सुरु गरेर वैधानिक सङ्कट टारेको जस्तो देखिए पनि नीतिगत र नैतिक सङ्कट भने टार्न सकेको छैन, नेपालको पुरानो र आफूलाई लोकतन्त्रको पर्याय ठान्ने दल नेपाली कांग्रेसले ।   

अहिलेको अवस्था कांग्रेसका लागि यसकारण पनि महत्त्वपूर्ण छ कि, एकातिर सरकारलाई प्रभाकारी र चुस्त बनाएर चुनावमा राम्रो प्रभाव पार्नुपर्नेछ भने अर्कातिर ५ वर्षदेखि महाधिवेशन हुन नसकेको पार्टीलाई नयाँ नेतृत्व चयन गर्दै रहर र भरलाग्दो बनाउनुपर्नेछ । तर कांग्रेसको नेतृत्व यी दुवै कुरालाई मतलबै नगरी बसेको देखिन्छ । न त सरकार प्रभावकारी बनाउन सकेको ‚ न त महाधिवेशन हुने कुराको सुनिश्चितता गर्न सकेको अवस्थामा छन् कांग्रेसका अनि देशकै मुख्य पदमा आसीन शेरबहादुर देउवा । उनको सुस्त चालामाला हेर्दा मङ्सिरमा तोकिएको मितिमा अधिवेशन हुन्छ भन्ठान्नु सकारात्मक सोच राख्नुमात्र हो‚ शायद ।

वैधानिक हुन महाधिवेशन सुरु गरेजस्तो
वैधानिकतामै प्रश्न उठ्ने अवस्था भएपछि त्यसलाई टार्न कांग्रेससँग उपाय नभएको भने पक्कै होइन । निर्वाचन आयोगलाई जरिवाना तिर्ने, लकडाउनलाई शून्य समय मान्ने र निर्वाचन आयोगमा ढिलो दर्ता गरेको प्रमाणलाई अगाडि सार्ने र परे कुनै सानो दलसँग एकता गरी नाम परिवर्तन गर्नेसम्मका कुराहरू चर्चामा नआएका होइनन् । तर पनि विभिन्न कारण देखाई तालिका सार्न भने कांग्रेस सफल हुँदै आएको छ ।

साढे ५ वर्षमा महाधिवेशन गरिसक्नुपर्ने संवैधानिक बाध्यतामा थियो, नेपाली कांग्रेस । पहिलेका महाधिवेशनहरू पनि चुनौतीपूर्ण हुन्थे, यसपटक त झन् १० लाख हाराहारीको क्रियाशील सदस्य‚ जसमा विजय गच्छदारको दल, नेपाल अखण्ड पार्टी र सुनिल थापालगायतको पार्टी प्रवेशले जटिल बनाएको छ क्रियाशील सदस्यहरूको जालो । कोरोना कहरले महाधिवेशन सार्दा पनि मौन समर्थन पाएका दलका पदाधिकारीहरूले महाधिवेशनको कार्यतालिका फेर्न समय दिएजस्तो देखिन्थ्यो । त्यसैले ४ पटकसम्म तालिका परिवर्तन गरियो । महाधिवेशन हुने/नहुने अन्योलमा नै केही जिल्लामा महाधिवेशन सुरु गरेर वैधानिक सङ्कट टारेको जस्तो देखिए पनि नीतिगत र नैतिक सङ्कट भने टार्न सकेको छैन, नेपालको पुरानो र आफूलाई लोकतन्त्रको पर्याय ठान्ने दल नेपाली कांग्रेसले ।

नेतृत्वको विकल्प र वैचारिक बहस खोइ ?
महाधिवेशनको एउटा रोचक पक्ष भनेको नेतृत्वमा नेताहरूको लडाइँ पनि हो । अहिले पुस्तान्तरण र नयाँ नेतृत्वको रट लाउने गरेका छन् कांग्रेसजनहरूले । तर नेतृत्वको विकल्पबारे पार्टी सभापतिलाई गाली र उनको अक्षमताको मात्र टिका-टिप्पणी हुँदै आएको छ । यसले कांग्रेसभित्र नेतृत्वको विकल्पबारे बहस होइन, आरोप-प्रत्यारोप नै बढी हाबी भइरहेको भनेर पनि देखिन्छ । नेतृत्वको दाबीकर्ताहरू पनि गौरवशाली इतिहास बजाएर बसेका छन् । उनीहरू बीपीको सपना, सुवर्ण शमशेरको लगानी, किसुनजीको सादगी र गणेशमानको त्यागले गौरवशाली बनेको इतिहासको कुरा त गर्छन्‚ तर भविष्यमा कस्तो कांग्रेस बनाउने भनेर आफ्नो सपना आम कार्यकर्ता र शुभेच्छुकसामु बुझाउन सक्दैनन् । नयाँ विचार लिएर नेतृत्वमा दाबी गर्न कोही आएको छैन, बस् ! अहिलेको नेतृत्वको कमजोरीको आडमा नेतृत्व दाबी गर्दैछन् । विधि-विधान र पद्धतिमा नै हिँड्न छाडेको कांग्रेसलाई ट्र्याकमा कसरी ल्याउने भन्ने रोडम्याप दिन सक्ने नेताहरू हातमा गन्न सकिने जति मात्र छन् ।

कांग्रेसको यस्तै संस्कारले गर्दा हो‚ तेस्रो पुस्ता भनिएका (गगन, विश्वप्रकाशलगायत) नेताहरू दोस्रो तहको नेतृत्वमा दाबी गर्न विवश छन् । १५औँ महाधिवेशन पुग्दासम्ममा यी पुस्ताका नेताहरूले परम्परागत राजनीतिलाई चुनौती देलान् भन्नेमा शंका छ ।   

सारमा भन्दा कांग्रेसमा नयाँ सोच दिन सक्ने नेताको उदय नै भएको छैन । देउवाको विकल्पमा आफूलाई प्रस्तुत गर्नेहरूले आफ्नो त्याग र आफूले बिताएको समयलाई आधार मान्ने गरेका छन् । कांग्रेसको यस्तै संस्कारले गर्दा हो‚ तेस्रो पुस्ता भनिएका (गगन, विश्वप्रकाशलगायत) नेताहरू दोस्रो तहको नेतृत्वमा दाबी गर्न विवश छन् । १५औँ महाधिवेशन पुग्दासम्ममा यी पुस्ताका नेताहरूले परम्परागत राजनीतिलाई चुनौती देलान् भन्नेमा शङ्का छ ।

के साँच्चै नेपाली कांग्रेस परिमार्जित हुन तयार छैन ? अबको राजनीति त्याग, लिगेसी र राजनीतिक अनुभवले मात्र चल्दैन भन्ने चेत धेरै कम नेतामा मात्र छ । त्यसैले त आफैँले बाँडेको क्रियाशील सदस्यलाई जम्मा गरेर आफैँलाई चुन्नेजस्तो हास्यास्पद प्रक्रिया परिमार्जन गर्न सक्दैन कांग्रेस । कार्यकर्ताहरू पनि कसरी नेतागणको कृपामार्फत महाधिवेशन प्रतिनिधि बन्न पाऊँ भन्नेतर्फ मात्र व्यस्त देखिन्छन् । समग्रमा तलदेखि माथिसम्म नै खोक्रो लोकतन्त्रको आडम्बरमा कांग्रेस बाँचेको जस्तो देखिन्छ । यो अवस्थामा विशेषतः युवा नेतृत्वका लागि कांग्रेसको यो महाधिवेशन पनि प्रतिकूल नै बन्ने देखिन्छ ।

एक अन्तर्वार्तामा राजनीतिक विश्लेषक सिके लालले भनेका थिए, ‘कांग्रेस कर्पोरेट भएको छ, जसमा धेरै सेयर हुने नेता नेतृत्वमा चयन हुन्छन् । कांग्रेसको फेस भ्यालु आम-मानिसबीच गगन-विश्वप्रकाशको जति छ‚ त्यति रामचन्द्र-देउवाको छैन भन्ने हेक्का कांग्रेसले नराख्दासम्म नयाँ आयामले ठाउँ पाउने दिन आउन गाह्रो छ । नयाँ विचार र नयाँ नेतृत्वले ठाउँ पाउन कांग्रेसमा ठुलै सङ्घर्ष गर्नुपर्छ । यसको ज्वलन्त उदाहरण हुन्, निधि, प्रकाशमान र शेखर‚ जो ६५-७० को हाराहारीमा दोस्रो पुस्ता भनेर मैदानमा उत्रिनुपर्ने अवस्थामा छन् । र यसका लागि पहिलो पुस्ताका शेरबहादुर देउवा र रामचन्द्र पौडेलसँग विद्रोह गरेर उत्रिनुपर्ने बाध्यता छ । सभापति बन्छु भन्दा प्रकाशमानलाई गणेशमान पुत्र भन्दै उनको राजनीतिक यात्रालाई अवमूल्यन गरिन्छ । डा. शेखर कोइरालाको दाबीलाई उनी पदाधिकारी नभएको भन्दै उनको ऊर्जा, क्रियाशीलता र क्षमतालाई नजरअन्दाज गरिन्छ । त्यस्तै निधिको घोषणालाई गुट विद्रोहमात्र भनी उनको राजनीतिक परिपक्वताबारे बहस गरिँदैन । यसरी पार्टीभित्र नै एक किसिमको सिन्डिकेटको विकास भएको छ ।

समग्रमा तलदेखि माथिसम्म नै खोक्रो लोकतन्त्रको आडम्बरमा कांग्रेस बाँचेको जस्तो देखिन्छ । यो अवस्थामा विशेषतः युवा नेतृत्वका लागि कांग्रेसको यो महाधिवेशन पनि प्रतिकूल नै बन्ने देखिन्छ ।

कांग्रेसजस्तो विशाल इतिहास बोकेको लोकतान्त्रिक पार्टीमा महाधिवेशन साँच्चिकै एउटा उत्सवको रूपमा मनाइनुपर्ने हो । यसले केवल कार्यकर्ता र शुभेच्छुकलाई मात्र नभई गैर-कांग्रेसी र आम जनतामा पनि ऊर्जा प्रदान गर्न सक्नुपर्ने हो । अन्तरराष्ट्रिय समुदायले यसलाई चासोका साथ हेर्नुपर्ने हो । कांग्रेसको अबको नेतृत्व, कांग्रेसले अब अवलम्बन गर्ने राष्ट्रिय नीतिहरू र समृद्ध नेपालका लागि चाल्ने पाइलाहरू सबै नेपालीको रुचीको विषय बन्नुपर्ने हो । तर कांग्रेस महाधिवेशन फगतको एउटा प्रक्रियागत विवशता, वैचारिक बहसमा शून्यता र नेतृत्वमा पनि पुराना अनुहारकै हालीमुहाली हुने सङ्केतले पनि काङ्ग्रेसप्रति आम जनताको आकर्षण घट्दै गएको छ । कांग्रेसले यी कुरा ध्यान नदिए कांग्रेसको सकसको यात्रा लामो हुनेछ ।

©@SaugatWrites

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *