१२ वर्षीया बालिका‚ जसले डिजाइन् गरिन् राष्ट्रिय टीमको जर्सी

काठमाडौँ । टी-ट्वेन्टी विश्वकप क्रिकेटमा स्कटल्यान्ड अहिले क्वालिफाइङ खेल खेलिरहेको छ । सनसनीपूर्ण प्रदर्शन गर्दै पहिलो खेलमा बंगलादेशलाई पराजित गरेको स्कटल्यान्डले दोस्रो खेलमा पपुवा न्युगिनीलाई हरायो ।

स्कटिस टीमको खेलका साथमा अहिले जर्सीको समेत प्रशंसा भइरहेको छ । स्कटल्यान्डको खेलसँगै ‘पर्पल कलर’को ‘जर्सी’लाई दर्शक र समर्थकले निकै मन पराएका छन् । यो राम्रो ड्रेसको डिजाइन भने १२ वर्षीय बालिका रेबेका डाउनीले गरेकी हुन् । क्रिकेट स्कल्यान्डले बुधबार यो कुराको जानकारी दिएको हो ।

स्कटल्यान्ड र पपुवा न्यूगिनीबीचको खेलका क्रममा स्कटल्यान्ड क्रिकेटले सामाजिक सञ्जालमा रेबेकाको तस्बिर सेयर गर्दै जर्सी डिजाइनका लागि धन्यवाद दिएको छ । उसले लेखेको छ‚ ‘स्कटल्यान्डकी किट डिजाइनर, १२ वर्षीया रेबेका डाउनी, टीभीमा हाम्रो पहिलो खेल हेरिरहेकी छन् । उनले गर्वका साथ टी-सर्ट पहिरिएकी छन् । जुन‚ उनले आफैँ डिजाइनसमेत गरेकी हुन् । पुनश्च‚ धन्यवाद, रेबेका ।’

रेबेकाको बारेमा थाहा पाएपछि अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले पनि आश्चर्य व्यक्त गरेको छ । आईसीसीले पनि उक्त तस्बिर सेयर गर्दै उक्त किट र रेबेकाको प्रशंसा गरेको छ ।

२०० सय स्कुलका डिजाइनमा रेबेकाको डिजाइन छनोट
क्रिकेट स्कटल्यान्डले राष्ट्रिय टीमको जर्सी डिजाइनको छनोट एक प्रतियोगिताको आधारमा गरेको थियो । क्रिकेट स्कटल्यान्डले २०० स्कूललाई जर्सीको डिजाइन गर्न आग्रह गरेको थियो । जहाँ हजारौँ बालबालिकाले अलग-अलग किसिमको जर्सीको डिजाइन पठाएका थिए । तर रेबेकाको डिजाइन छनोटमा परेको हो । क्रिकेट समर्थक तथा सामाजिक सञ्जालमा रेबेकाको यो खुबीको निकै प्रशंसा गरिएको छ । समर्थकले बाँकी देशलाई पनि यस्तो खालको अभियान सञ्चालन गर्न आग्रह गरेका छन् ।

मुख्य ड्रका लागि बलियो दाबेदार
खेलेका दुईमध्ये दुवै खेलमा जित निकाल्दै स्कटल्यान्ड मुख्य ड्रमा पुग्ने मुख्य दाबेदारीमा रहेको छ । पहिलो खेलमा बंगलादेशलाई पराजित गरेको स्कटल्यान्डले दोस्रो खेलमा पपुवा न्युगिनीलाई पराजित गरेको थियो । अब स्कटल्यान्डले समुहचरणको तेस्रो खेलमा आज ओमानसँग खेल्दैछ । यो खेल जितेमा स्कटल्यान्ड सहजै मुख्य प्रतिस्पर्धाका लागि छनोट हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *