त्रिविका प्रमाणपत्र लिन अब बल्खु धाउनु नपर्ने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयबाट विभिन्न तह उत्तिर्ण गरेका विद्यार्थीको प्रमाणपत्र अब घरमै उपलब्ध हुने भएको छ ।

त्रिविको परीक्षा नियन्त्रण कार्यालय बल्खुले विभिन्न तहका ट्रान्सक्रिप्ट, प्रोभिजनल, माइग्रेसनलगायत शैक्षिक प्रमाणपत्र अनलाइनमार्फत विद्यार्थीसम्म पुर्‍याउने तयारी गरिरहेको हो । विद्यार्थीलाई फाराम र शुल्क अनलाइनबाट लिई आवश्यक प्रक्रिया पूरा गरी अनलाइनबाटै प्रमाणपत्रहरू उपलब्ध गराउने गरी तयारी भइरहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

यो व्यवस्था लागू भएपछि अब देशैभरिबाट समय र पैसा खर्च गरेर विद्यार्थी परीक्षा नियन्त्रण कार्यालय बल्खु धाउनुपर्ने अवस्थाको अन्त्य हुने कार्यालयको दाबी छ ।

अहिले त्रिविबाट वार्षिक १ लाखभन्दा धेरै विद्यार्थीले स्नातक, स्नातकोत्तर र विद्यावारिधि तह उत्तीर्ण गरी शैक्षिक प्रमाणपत्र लिने गरेका छन् ।

उनीहरू सबै प्रमाणपत्र लिन बल्खु नै धाउनुपर्ने बाध्यता छ । यसका लागि आवेदन दिएको कम्तीमा १ हप्तापछि मात्र प्रमाणपत्र लिन पाइने व्यवस्था छ ।

अब भने त्रिविले रजिस्ट्रेसन, बैङ्क तथा भौचरको सबै काम अनलाइनबाट गर्ने गरी दक्ष जनशक्ती व्यवस्थापन र सफ्टवेयरको काम लगभग पूरा भइसकेको र आउँदो मंसिरदेखि यस्तो व्यवस्था लागू हुने तयारी रहेको कार्यालयले जनाएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले दिने सबै अर्थात् ११ प्रकारकै सेवा अब अनलाईन प्रक्रियाबाट नै प्राप्त हुने कार्यालयले जनाएको छ । कार्यालयले ट्रान्सक्रिप्ट, माइग्रेसन, प्रमाणपत्र, पुनः योग, नाम र विवरण सच्याउनेलगायत काम गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *