इनरुवा सब स्टेसन डुबानमा: पर्खाल बगायो, उपकरणहरूमा क्षति

काठमाडाैँ । अविरल वर्षासँगै सुनसरी खोलामा आएको बाढीका कारण सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा निर्माणाधीन ४०० केभी र २२०-१३२-३३ केभी इनरुवा सब स्टेसन डुबानमा परेको छ ।

सुनसरी खोला नै सब स्टेसनमा पस्दा ठूलो क्षति पुगेको छ । आगामी पुसभित्र (डिसेम्बर २०२१) निर्माण सम्पन्न गरी संचालन गर्ने (चार्ज)लक्ष्यका साथ दुवै सबस्टेसनको काम भइरहेको थियो ।

बाढीले सब स्टेसनको पर्खाल बगाएको छ । जडानका लागि राखिएका उपकरणहरु डुबेका छन् । बाढीले केही उपकरणहरु बगाएको र कार्यालय भवनसमेत डुबानमा परेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी कुलमान घिसिङले जानकारी दिए ।

‘अहिले सबस्टेसनभित्र खोला बगिरहेकोले क्षति पुर्याइरहेको छ, सब स्टेसन तालमा परिणत भएको छ, जान सक्ने अवस्था छैन, त्यहाँ रहेका कर्मचारी र श्रमिकहरुलाई सुरक्षाकर्मीको सहयोगमा डुंगामार्फत सुरक्षित स्थानमा सारिएको छ,’ घिसिङले भने ।

४०० केभी र २२०-१३२-३३ केभी सबस्टेसनका अधिकांश सिभिल संरचनाको निर्माण सम्पन्न भइसकेको छ । साथ, ट्रन्सफर्मर,रियाक्टर सर्किट ब्रेकरजस्ता मुख्य उपकरणहरु निर्माणस्थलमा ल्याइसकिएको थियो । बाढीका कारण सबै डुवानमा परेकाले उपकरणहरुमा क्षति पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *