कुटपिटबाट दलितको मृत्यु : घटनाको निष्पक्ष छानबिन गर्न परिवारको माग

छोरा भन्छन् – मन्दिरमा पूजा गर्न पाउँ भन्दा बुबाको हत्या गरियो

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका ४ मा कुटपिटबाट ज्यान गुमाएका भीमबहादुर विश्वकर्माको परिवारले घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ । भीमबहादुरका छोरा किसानले मन्दिरमा पूजा गर्न पाउनु पर्ने माग गर्दा आफ्ना बुबालाई कुटपिट गरी हत्या गरिएको भन्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गरे ।

किसानले मकालुखबरसँग भने– ‘दुर्गा मन्दिरमा हामी दलित समुदायलाई पूजाआजा गर्न पहिलेदेखि नै बन्देज थियो, यसपाली दलितले पनि मन्दिरमा पूजा गर्न पाउनुपर्छ भन्दा पाइपले हानेर बुबाको हत्या गरियो ।’

किसानका अनुसार ५८ वर्षीय भीमबहादुर नवमीको दिन बिहानै राशन लिन भनेर घरबाट बजारतर्फ लागेका थिए । बजार नजिकैको दुर्गा मन्दिरमा नवमीको दिन दसैँको पूजा भइरहेको थियो । उनले ‘हामी (दलित समुदाय)ले पनि मन्दिर छिर्न पाउनु पर्छ’ भनेपछि स्थानीय सीताराम क्षेत्रीले ‘तँ दलित मन्दिर पस्ने ?’ भन्दै भीम बहादुरलाई पाइपले हिर्काएका थिए ।

त्यसपछि उनी त्यहाँबाट ‘मलाई माफ गरिदेऊ बाबु’ भनेर त्यहाँबाट घरतर्फ लाग्दै गर्दा नजिकैको चोकमा फार्मेसी सञ्चालक दिलीप श्रेष्ठले ‘यसलाई आज छोड्नु हुन्न’भन्दै टाउकोमा प्रहार गर्दा भीमबहादुरको ज्यान गएको किसानको दाबी छ ।

किसान भन्छन्,–‘दसैँ त दशा भएर आयो, न बुबा आए, न रासन ।’ दोषीलाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने माग गर्दै उनले थपे, ‘दलित र गरिब भएकै कारण हेपाइमा पर्नुपर्ने र ज्यानै जाने अवस्थाविरुद्ध जीवनभर लड्छु।’

के भन्छ प्रहरी ?

भीमबहादुरलाई कुटपिट गरी हत्या गरेकाे अभियोगमा दिलीप श्रेष्ठ र सीताराम क्षेत्री पक्राउ परेका छन् । उनीहरूले भीमबहादुरले जाँड रक्सी खाएर होहल्ला गरेपछि हातपात गरेको स्वीकारे पनि जातीय विभेदका कारण हातपात नगरेको जिकिर गरेको प्रहरीले जनाएको छ ।

मृतक भीमबहादुरको शव हाल भरतपुर अस्पतालमा राखिएको छ । आफन्तले शव बुझ्न मानेका छैनन् । उनको पोस्टमार्टम रिपोर्ट अझै आएको छैन । जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सूर्य थापाले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

जाहेरीमा जातीय विभेदको कुरा नखुलाइएको तर मृतक पक्षबाट जातीय विभेद समेत भएको भन्ने कुरा आएपछि प्रहरीले यसबारे पनि अनुसन्धान गरिरहेको तर सबै कुरा खुली नसकेको उनले बताए ।

राजनीतिक दल र अधिकारकर्मीको चासो

घटनाप्रति राजनीतिक दलहरूले भने चासो दिएका छन् । वडाध्यक्ष हरिप्रसाद आचार्यसहित विभिन्न राजनीतिक दलका २/२ जना प्रतिनिधि रहेको ‘भीमबहादुर विश्वकर्मा न्यायिक सङ्घर्ष समिति’ गठन गरिएको दलित अधिकारकर्मी लछुराम विकले जानकारी दिए ।

‘घटनामा स्पष्ट रूपमा जातीय विभेद भएको देखिन्छ, हल्ला गर्‍यो भन्दैमा कसैले मान्छे मार्दैन । दसैँको दिनमा, त्यो पनि मन्दिर आसपासमा यस्तो घटना हुनुमा जातीय विभेद नै  कारण हो भन्ने देखिन्छ’ लछुरामले भने ।

उनले घटना सिसिटिभीमा समेत रेकर्ड भएको भन्ने सुने पनि आफूले भने फुटेज हेर्न नपाएको बताए । मन्दिरसँगै घर रहेकाहरूले मानिसको ज्यानै जाँदा पनि थाह नपाएको जस्तो गर्नु र रक्सी खाएर गालीगलौज गरेकाले घटना भएको भन्नु नै रहस्यमय देखिएको विकको भनाइ छ ।

मृतकको परवारले प्रहरीमा दिएको जाहेरी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *