पालिकाभरिका बस्ती एकै ठाउँमा सार्दै नार्पाभूमि

पोखरा । मनाङको नार्पाभूमि गाउँपालिकाले पालिकाभरिका सबै गाउँ एकै ठाउँमा सार्ने तयारी थालेको छ । पालिका केन्द्र र गाउँहरूको दूरी धेरै टाढा भएपछि पालिकाले केन्द्र भएकै ठाउँमा गाउँलेलाई सार्न लागेको हो ।

नार्पाभूमिमा विशेषगरी नार र फू गाउँ छन् । यो गाउँपालिकाको जनसंख्या ५३८ मात्रै छ । दुईवटै गाउँ पुग्न पालिकाबाट कम्तीमा ५ घण्टाको दुरी पैदल हिँड्नुपर्छ । यो गाउँपालिका सडक सञ्जालमा नजोडिएको पालिका हो । त्यसमाथि हिउँदमा उनीहरू गाउँमा बस्न सक्दैनन्, हिउँ धेरै परेर ।

गाउँपालिकाको कार्यालय वडा नं. ३ च्याँखुमा छ । सदरमुकाम चामेबाट च्याँखु पुग्न कम्तीमा डेढ दिन हिँड्नुपर्छ । च्याँखु गाउँपालिकाको केन्द्र भागमा पर्ने भएकोले कार्यालय त्यहाँ राखिएको हो । यो ठाउँमा खुला र पर्याप्त जमिन उपलब्ध छ । तर गाउँलेलाई सेवा लिन भने निकै कठिन छ ।दिनभरीको बाटो हिँडेर मात्रै पालिका कार्यालय पुग्नुपर्ने बाध्यतामा छन्, उनीहरू । ‘उही दिन काम गर्न सकिँदैन । एकदिन आउन र अर्को दिन जान लाग्छ । पालिकामा कर्मचारी भेटिएनन् भने त बसाईं झनै लम्बिन्छ,’ नार गाउँका साङ्गे फुर्वा लामा भन्छन्, ‘साह्रै विकट छ यता । गाउँलेलाई सास्ती पर्छ ।’

गाउँलेलाई गाह्रो भएपछि पालिका केन्द्र भएको च्याँखुमा गाउँहरु सार्न लागिएको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र पण्डितले जानकारी दिए ।  ‘दुईवटा मात्रै गाउँ छन् । गाउँ छरिएका छन् । छरिएका ठाउँमा विकास गर्दा सबै नागरिकले विकासको लाभ पाउन सक्दैनन्,’ उनले भने, ‘एकै ठाउँमा राख्न सकियो भने सुविधा सबैले पाउँछन् । धेरैतिर विकास लैजाँदा राज्यको खर्च बढ्छ । खर्च घटाउन यो काम गरेका हौं ।’

च्याँखुको सबै जमिन स्थानीयको लालपुर्जामा छ । त्यो जग्गा पालिकाले ल्याण्ड पुलिङमार्फत लिएर आवश्यक्ताअनुसार सहरी योजनाअनुसार व्यवस्थापन गर्न लागेको हो । हिमालपारी सुन्दर बस्ती विकास गर्ने पालिकाको सपना छ ।

त्यसका लागि गुरुयोजना बनाइएको छ । सहरी गुरुयोजना तयार गर्नका लागि अघिल्लो वर्ष ५३ लाख विनियोजन गरेर प्रारम्भिक काम अघि बढिसकेको छ । सबै स्थानीयको लालपुर्जा संकलन गरेर उनीहरुकै जग्गा चक्लाबन्दी गरि फिर्ता गरिने पण्डितले बताए । त्यहाँ रिङरोड, बस्ती क्षेत्र, विद्यालय, स्वास्थ्यलगायत सबै क्षेत्र छुट्याइएको छ । बाटोको रुपरेखा तयार गरिसकेको छ । यो वर्ष पनि थप ९ लाख विनियोजन गरिएको छ ।

पहिलो चरणमा च्याँखुमा बस्ती सारिने र विस्तारै आवश्यक्ताका आधारमा क्याङ र मेतामा पनि एकीकृत बस्ती विकास गरिने पालिका अध्यक्ष मिङ्मा छिरिङ लामाले जानकारी दिए । ‘गाउँका मान्छेलाई गाह्रो भयो । सानो काम परेर पालिका आउँदा बास बस्नुपर्ने अवस्था छ,’ उनले भने, ‘अरु जस्तो होइन, यहाँको भूगोल निकै कठिन छ । दुःख धेरै छ । हामी जनप्रतिनिधिले जनतालाई सुविधा दिन अधिकतम प्रयास गर्नुपर्छ । त्यहि गरिरहेका छौं ।’

उनका अनुसार पालिकाले बस्ती विकासको डीपीआर बनाएर प्रदेश सरकारलाई बुझाएको छ । तर प्रदेशबाट अहिलेसम्म स्थलगत अध्ययन भएको छैन ।  गाउँपालिकाको बजेटबाट मात्रै काम सम्भव नभएकोले माथिल्ला सरकार गुहार्नुपरेको लामाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *