व्यावसायिक पशुपालनमा फस्टाउँदै माछापुच्छ्रे गाउँपालिका

कास्की । माछापुच्छ्रे गाउँपालिकामा व्यावसायिक पशुपालन फस्टाउँदै गएको छ । विगतमा निर्वाहमूखी कृषि गर्दै आएका किसानहरूले अहिले पशुपालनलाई नै आम्दानीको मुख्य स्रोत बनाएर गाईभैंसी तथा बाख्रा पाल्न थालेपछि व्यावसायिकता विकास भएको हो ।

गाउँपालिका दूध उत्पादनका हिसाबले जिल्लामा पहिलो स्थानमा छ । व्यावसायिक पशुपालन फस्टाउँदै गएपछि यहाँका किसानले दूध बेचेरै राम्रो आम्दानी गर्दै आएका छन् । संघ, प्रदेश तथा स्थानीय सरकारले व्यावसायिक कृषकका लागि अनुदान सहयोग लगायतका कार्यक्रम ल्याएपछि किसानहरू उत्पादनमार्फत् आयआर्जनमा प्रेरित भएका हुन् ।

गण्डकी प्रदेश सरकारले सहकारीबाट दूध बिक्रीका आधारमा कृषकलाई प्रतिलिटर दुई रूपैयाँ पचास पैसा अनुदान दिँदै आएको छ । यसैगरी कृषि तथा पशु बीमा निःशुल्क गरिएको छ । संघ सरकारले बीमामा ७५ प्रतिशत अनुदान दिएकामा प्रदेश सरकारले २५ प्रतिशत थप गरेर निःशुल्क गरिएको छ ।

यसैगरी गाउँपालिकाले पनि यसअघि प्रतिलिटर २५ पैसा अनुदान दिएकामा यस वर्षदेखि वृद्धि गरेर ५० पैसा अनुदान दिने भएको गाउँपालिका पशु शाखा प्रमुख रामचन्द्र पौडेलले जानकारी दिए । त्यस्तै प्रदेश सरकारबाट ‘मोडल फार्म’, डेरी सुधार लगायतका कार्यक्रमबाट कृषकलाई दुई/तीन वर्षदेखि निरन्तर सहयोग प्राप्त हुँदै आएपछि कृषकमा उत्साह बढेको पाइन्छ ।

नौ वडा रहेको गाउँपालिकाबाट दैनिक १० हजार ५०० लिटर दूध बिक्रीका लागि पोखरा बजारमा आउने गरेको तथ्यांक गाउँपालिकासँग छ । मध्यम र साना कृषकले सहकारी संस्थाबाट दूध बिक्री गरे पनि ठूला कृषकहरुले आफैं बजार खोज्ने गरेका छन् । गत आर्थिक वर्षमा विभिन्न पाँच सहकारी संस्थाबाट १८ लाख ३६ हजार ६३ लिटर दूध बिक्री भएको छ भने निजी फार्मबाट २० लाख आठ हजार ५०० लिटर बजारमा बिक्री भएको बताइन्छ ।

पशुशाखा प्रमुख पौडेलले भने, ‘हाम्रो गाउँपालिका दूधको हब बन्दै गएको छ । गाउँपालिकाको लाहाचोक र घाचोकमा पशुपालन व्यवसाय राम्रोसँग फस्टाएसँगै दूध बेचेर कृषकले राम्रो आयआर्जन गरेका छन् । अन्य वडामा समेत दैनिक उत्पादन बढिरहेको छ । सहकारीबाट दूध बिक्री गर्ने कृषकहरु बढी छन् ।’ गाउँपालिकाको लाहाचोक, घाचोक र धितालबाट अन्य वडाबाट भन्दा बढी दूध उत्पादन हुने गर्दछ ।

लाहाचोकबाटमात्रै दैनिक पाँच हजार लिटर दूध बिक्रीका लागि बजारमा आउने गरेको  छ। वडा नं ३ को घाचोकबाट दैनिक तीन हजार ५०० लिटर र धितालबाट दैनिक एक हजार लिटर दूध बजारमा बिक्री हुने गरेको बताइन्छ । रिभान, माछापुच्छ्रे र सार्दीखोलाबाट दैनिक ३०० लिटरका दरले दूध बिक्री हुने गरेको तथ्यांक छ । त्यस्तै धम्पुस र ल्वाङघलेलबाट गरी दैनिक ५०० लिटर दूध बिक्री हुने गरेको बताइन्छ । समग्रमा दूध बिक्री गरेर गाउँपालिकामा कृषकले दैनिक सात लाख ३५ हजार तथा मासिक दुई करोड २० लाख रूपैयाँ हाराहारीमा आम्दानी गर्ने गरेको जनाइएको छ ।

सडक सुविधा, पशु आहाराका लागि घाँस तथा चरनक्षेत्र, नजिकको बजारलगायतका कारणबाट पशुपालनका लागि सहज वातावरण बनेपनि कृषकले उचित मूल्य पाउन नसकेको घाचोकका व्यावसायिक कृषक गोपाल पोखरेल बताउँछन् । उनले भने, ‘गाईभैंसी पाल्न हामीले सहज भएको छ तर उत्पादन लागत बढेको तथा दूधको मूल्य लामो समय बढ्न नसक्दा कृषक मर्कामा छन् । वर्सेनि मूल्य समायोजन हुने व्यवस्था भए सहज हुन्थ्यो ।’

लाहाचोकका युवा इमानबहादुर गुरुङले देशकै ठूलो भैंसीफार्म सुरू गरेपछि गाउँपालिकामा व्यावसायिक पशुपालनमा सुरू भएको थियो । गुरुङको फार्ममा अहिले ३०० भैंसी छन्। विसं २०७३ मा उनी राष्ट्रपति सर्वोत्कृष्ट कृषक पुरस्कारबाट समेत पुरस्कृत भएका थिए । व्यावसायिक कृषकलाई गाउँपालिकाले सहयोग गर्ने नीति लिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा कृषि र पशुतर्फ एक करोड पाँच लाख ७३ हजार ३७३ बजेट विनियोजन गरेको उपाध्यक्ष कृष्णकुमारी दवाडीले जानकारी दिइन् ।

उनका अनुसार दूध उत्पादक कृषकलाई सहकारीमार्फत बिक्रीका आधारमा अनुदान, अनुदानमा पावर टेलर, च्याप कटर, बोका र निःशुल्क घाँसका बिउ तथा सिड विन वितरण, वडा नं २ र ९ मा स्थानीय भैंसी संरक्षण कार्यक्रम, एक वटा गाई/भैंसी पकेट क्षेत्रलगायतका कार्यक्रम गाउँपालिकाको प्राथमिकतामा रहेको छ ।

उनले भनिन्, ‘हाम्रो गाउँपालिका पशुपालनमा समृद्ध बन्दै जिल्लामै दूध उत्पादनमा अग्रणी छ । हाम्रो तर्फबाट समेत कृषकको मनोबल उच्च राख्दै कृषिलाई व्यवसायीकरण, आधुनिकीकरण र यान्त्रिकीकरणमा सहयोगको नीति लिएका छौं ।’ -कृष्ण दवाडी/रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *