मुगु दुर्घटना : मृतकको संख्या २४ पुग्यो

पोखरा । मुगुको छायानाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढी जाँदै गरेको भे–१ ख ३१६८ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा २४ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

क्षतिको पूर्ण विवरण आई नसकेको र प्रहरी उद्धारकार्यमा खटिरहेको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए । उद्धारका लागि सुर्खेतबाट पनि हेलिकोप्टर जाने तयारी भइरहेको बताइएको छ ।

दुर्घटनाका घाइतेको उद्धारका लागि दुईवटा हेलिकोप्टर घटनास्थलमा पठाइएको गृहमन्त्रालयले जनाएको छ । बस दुर्घटनाका घाइते भएकाहरूको यथाशीघ्र उद्धार गर्न गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएको र त्यसैअनुसार नेपाली सेना र समिट एयरको हेलिकोप्टर घटनास्थलमा पुगिसकेको गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले जानकारी दिए ।

अहिले हेलिकोप्टरबाट घाइतेलाई नेपालगञ्ज ल्याउने काम भइरहेको उनले बताए । अहिले सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर दुर्घटनास्थलमा पुगेर एयरपोर्टसम्म घाइतेलाई ल्याइरहेको प्रवक्ता पोखरेलले जानकारी दिए । साथै समिट एयरको हेलिकोप्टरले पनि घाइतेलाई नेपालगञ्जसम्म ल्याइरहेको प्रवक्ता पोखरेलले बताए ।

गृहमन्त्री खाणले मुगुका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखलाई पनि तत्काल उद्धारमा खटिन निर्देशन दिएका छन् । अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी नायव उपरीक्षक चित्रबहादुर भट्टराईको नेतृत्वको र पिना प्रहरी चौकी मुगुबाट प्रहरी सहायक निरीक्षक जोरासिंह खड्काको नेतृत्वमा टोली घटनास्थलमा पुगिसकेको पनि गृह मन्त्रालयले जनाएको छ । अझै घटनाको पूर्ण विवरण आइसकेको भने छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *