लाङटाङ र गोसाइँकुण्डको रोमाञ्चकारी पदयात्रामा निस्कने होइन ?

रसुवा । कोभिड-१९ का कारण लामो समयदेखि सुनसान जिल्लाको पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । कोभिड सङ्क्रमणदर न्यून र वर्षाको प्रभाव हट्दै गएकाले हिमाली प्रकृति छटा अवलोकनका लागि पर्यटक आकर्षित हुन थालेका हुन् ।

लामो समयदेखि सुनसान नेपालको तेस्रो पर्यटकीय क्षेत्र लाङटाङ एवं पवित्र तीर्थ गोसाईंकुण्ड जाने पदयात्रीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको यहाँस्थित होटल व्यवसाय सङ्घले जनाएको छ । सङ्घका जिल्ला अध्यक्ष रामशरण गजुरेलका अनुसार घटस्थापनादेखि आन्तरिक पर्यटकको आगमन सुरु भएको हो ।

उनले हिमाली प्रकृति छटा अवलोकन गर्न करिब एक हजार पदयात्री लाङटाङ तथा गोसाईंकुण्ड क्षेत्रका भ्रमणमा रहेका र आगमनको क्रम बढ्दै गएको जानकारी दिए । पर्यटकको आगमन हुन थालेपश्चात् भोजनका लागि उक्त पदमार्गका पर्यटन व्यवसायीले खच्चडद्वारा खाद्यान्न ढुवानी गर्ने काम धमाधम अगाडि बढाएका छन् ।

पर्यटकको आगमनसँगै बन्द रहेका होटल तथा लज धमाधम खुल्न थालेका छन् । गोसाईंकुण्ड क्षेत्रमा १७ र लाङटाङ क्षेत्रमा ५० भन्दा बढी होटल तथा लज रहेकाले पैदल मार्गमा खान-बस्न कुनै समस्या नपर्ने व्यवसायीहरूले स्पष्ट पारेका छन् ।

दिनप्रतिदिन मौसमको सुधारबाट अग्ला सेता हिमाल देखिन थालेको, पदमार्गमा हिँड्दा जुकाले टोक्ने, भिरबाट ढुङ्गा लड्ने, चिप्लनेजस्ता समस्या हटिसकेकाले अबको पदयात्रा रोमाञ्चकारी हुने पदयात्रीले अनुभव लिएका छन् ।

पदयात्राका क्रममा अवलोकनका लागि लाङटाङको क्याङ्जेनस्थित मानव बस्ती नजिक रहेको हिमनदी, अग्ला हिमाल, मिश्रण वनस्पति, वन्यजन्तु रहेका छन् । यसै गरी गोसाइँकुण्डतर्फ भने देवताका पनि देव महादेव भगवान् शङ्कर गोसाईंकुण्ड शिवजी विराजमान रहनुभएको पवित्र कुण्डमा स्नान र पूजाआजा गर्दा आफ्ना मनाेकांक्षा पूरा हुने धार्मिक मान्यता रहिआएको छ ।

पदयात्रीलाई नजिकजस्तै देखिन सकिने हिमाल, उकाली, ओराली भन्ज्याङ चौतारी, वन, वनस्पति, वन्यजन्तुजस्ता सम्पदाले मनमोहक बनाउने गरेको छ । कोरोनाकै कारण बन्द रहेको पर्यटकीय पदमार्ग चलायमान हुन थालेसँगै आफूहरू उत्साहित हुन थालेको होटल व्यवसायीले जनाएका छन् । -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *