दसैँमा बढ्छ राजसंस्थाकाे ‘न्यास्राे’

पोखरा ।  द्रव्य शाहबाट सुरु भएको गोरखाको शाहवंश पृथ्वीनारायण शाहले काठमाडौँ सारे । वंश बसाइँ सरे पनि गोरखाको इतिहास र परम्परा सरेको छैन । गोरखा दरबारको ४ सय वर्षदेखि चलिआएको परम्परा अहिले पनि कायम छ ।

तर जन आन्दोलनपछि भने दसैँमा दिइने बलिमा कटौती गरिएको छ । २०६३ अघि प्रत्येक दसैँमा राँगो ८७, बोका १२४, भेडा १५, सुँड ५ र कुखुरा १५ बलि दिइन्थ्यो। अहिले त्यो घटाएर बोका ३४, राँगो २१, भेडा १०, कुखुरा १० र सुँड ५ वटा बलि दिने चलन छ । यसको आर्थिक भार सरकारले नै ब्यहोर्छ ।

गोरखा दरबारबाट राज दरबारमा जाने टिका जमराको परम्परा पनि रोकिएको छ । ‘राजा नभएपछि प्रतिनिधित्व कसैले गर्नुपर्ने हो । जिम्मा लिने कुनै पनि संस्था भएन,’ गोरखा दरबारका भित्रिया पुजारी हरि सारुले भने, ‘अहिले टिका जमरा पठाउन छोड्यौँ ।’

गोरखा दरबारबाट गएको फूलपाती भने अहिले पनि हनुमान ढोकामा भित्र्याउने चलन छ । ‘पहिले धादिङबाट हिँडाएर डोली सहित पठाउने गरिन्थ्यो । अहिले त्यो अवस्था रहेन । गाडी चल्छ । अब गाडीबाटै पठाउन थालेका छौँ,’ उनले भने, ‘यहाँबाट कार्यालयबाट सम्बन्धित व्यक्ति जानुहुन्छ । फूलपाती बुझाएर मात्रै फर्किनु हुन्छ ।’

दरौँदी किनारमा भएको जङ्गलबाट फूलपाती सङ्कलन गर्ने चलन छ । त्यहाँबाट बाजागाजा सहित रमाइलो गर्दै गोरखा दरबारको दसैँ घरमा फूलपाती भित्र्याइन्छ । एक थरी भने डोली लिएर धादिङ हुँदै काठमाडौँ लाग्थे, दशक अघिसम्म ।

गोरखा दरबारमा पुजारीहरू पनि नयाँ व्यवस्थाले कटौती गरेको छ । बाबु बितेपछि छोराले पूजाआजा गर्ने चलन रहेको यहाँ अहिले त्यस्ता चलन हट्दै गएको छ । ‘राजसंस्था हटेपछि सबै कर्मचारी नेपाल सरकार अन्तर्गत छन् ।
सामान्य प्रशासन सेवा अन्तर्गत पुजारी र कर्मचारी छन् । पहिलेदेखि चली आएका वंशजका कर्मचारीहरू हटेका छन्,’ अर्का पुजारी लिला बोहरा भन्छन्, ‘परम्परा धान्न अप्ठेरो भएको छ । अहिले ९ जना पूजा सम्बन्धी कर्मचारी हुनुहुन्छ । पहिले ११४ दरबन्दी भएकोमा अहिले दरबारभरि १८ मात्रै छ ।’

राज्यले शक्ति पीठलाई बेवास्ता गरेको उनको गुनासो छ । गोरखा दरबारको पुनः निर्माण धमाधम भइरहेको छ । करिब अन्तिम चरणमा पुगेको दरबारले जनाएको छ । गोरखकाली भगवती मन्दिर तिर अब प्रबलीकरण सुरु हुनेछ ।

‘भक्तजन धेरै हुँदा समस्या हुन्छ । गत वर्ष कोभिडका कारण धेरै आउनुभएन । यसपालि बढी हुने अपेक्षा छ,’ उनले थपे, ‘करिब ७ सय बलि चढ्ने अनुमान गरेका छौँ । हामीले सोही अनुसार तयारी गरेका छौँ ।’ पूर्व राजसंस्थाका कोही पनि प्रतिनिधि नयाँ व्यवस्था लागेपछि दरबार पुगेका छैनन् ।

सरकारले हरेक वर्ष पूजा र अन्य व्यवस्थापनका लागि २१ लाख विनियोजन गर्छ । त्यसबाहेक सङ्कलन गरेको अन्य पैसा पनि हुन्छ । गोरखा दरबारमा भट्टराई पुरोहित छन् । अरू पद रित्तो छ । तर बाबु बाजेले धानिआएका पूजा पद नभए पनि पुजारी आएर गर्छन् ।

‘उहाँहरू दसैँका लागि मात्रै पनि आउनुहुन्छ । कहिलेकाहीँ अरू समय पनि आउनुपर्ने हुन्छ,’ बोहरा भन्छन्, ‘आफ्नो बाबुबाजेले गरिआएको काम भनेर आउनुभएको छ । अर्याल, पन्त लगायत पुजारी हुनुहुन्छ ।’ गोरखा जस्तै कास्कीको कास्की कोट दरबारमा पनि दसैँ भव्य रूपमा पूजाआजा सहित मनाइँदै छ ।

यहाँ राम घाटबाट फूलपाती कास्की कोट दरबारसम्म पुर्‍याइन्छ । शाह वंशीय इतिहासको थालनी कास्कीबाट भएको थियो । कुल मण्डन खानले कास्की कोटमा शासन गरेपछि यो विस्तार भएर लमजुङ, गोरखा, नुवाकोट हुँदै काठमाडौँ पुगेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *