शेखर कोइराला भन्छन्ः

‘प्रधान मन्त्री र प्रधान न्यायाधीशको मिलेमतोले लोकतन्त्र खतरामा पर्‍याे’

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गुटको राजनीतिका कारण कांग्रेस पार्टी लथालिङ्ग भएको बताएका छन् । सभापतिको हैकम र मनोमानीले पार्टीको विधानसमेत धूजा–धूजा पारेर च्यात्ने काम भएको नेता कोइरालाको भनाइ थियो ।

पार्टीको अधिकांश कामहरू एकतर्फी भएको उल्लेख गर्दै नेता कोइरालाले भने, ‘विधानको कुन धारा कतिबेला निलम्बन गरिन्छ वा के थपिन्छ फेसकूक हेरेर थाहा पाउनुपर्ने अवस्था छ । जिल्ला पिच्छे फरक–फरक नियम बनाएर अधिवेशन गरिएको छ । नेतृत्वमा बसेकाहरू जसरी पनी पार्टी कब्जाको अभियानमा छन् ।’

कांग्रेसको इतिहासमा आजसम्म प्रहरीको घेराबन्दीमा अधिवेशन भएको कसैलाई थाहा नभएको औंल्याउँदै नेता कोइराला सभापतिकै जिल्लामा सुरक्षाकर्मी लगाएर अधिवेशन गरिनु खेदजनक भएको बताए ।

सुन्दरहरैंचा नगर मोरङको नवनिर्वाचित कार्यसमितिको पदस्थापन एवं शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले प्रधान मन्त्री र प्रधान न्यायाधीशको मिलेमतो र साँठगाँठले लोकतन्त्र खतरामा परेको बताए । कोइरालाले लोकतन्त्रको लागि लडेको पार्टी सभापतिले नै शक्ति पृथकीकरणको सिद्धान्त कुल्चनु अत्यन्तै दुखद् भएको बताए ।

यस्तै कांग्रेसका पूर्वआमन्त्रित केन्द्रीय सदस्य तेजप्रसाद सिटौलाले पार्टी माफियाको हातमा गएको भन्दै कांग्रेसभित्र शुद्धीकरणको आवश्यकता रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *