निर्माणाधीन पोखरा एयरपोर्टमा पहिलो पटक हेलिकोप्टर ल्यान्ड, प्रधानमन्त्री देउवाले गरे निरीक्षण

पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माणाधीन पोखरा अन्तरराष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । सोमबार हेलिकोप्टरमार्फत उनी नयाँ एयरपोर्टमा ल्यान्ड भएका हुन् ।

हाल सञ्चालनमा रहेको एयरपोर्टबाट उनी नयाँ एयरपोर्ट पुगेर त्यहिँबाट काठमाडौँ उडेका हुन् । निरीक्षणका क्रममा उनले समयमै काम सक्न निर्देशन दिए । अहिले व्यहोर्नुपरेको अड्चन सरकारले फुकाइदिने भन्दै उनले अब म्याद नसार्ने गरी काम गर्न आग्रह गरे । आयोजना कम्पनीले देउवालाई विमानस्थल निर्माणको प्रगतिबारे ब्रिफिङ गरिएको थियो ।

‘विमानस्थल निर्माण देखेर खुसी लाग्यो । समयमै काम सकिने विश्वास लिएको छु,’ प्रेससँग संक्षिप्त कुरा गर्दै उनले भने, ‘डाँडा काट्ने कुरामा समस्या रहेछ । यो तत्कालै फुकाइन्छ । ढल निकासलगायत अन्य कामका लागि अर्थमन्त्रालयसँग समन्वय गरेर कुनै काम नरोक्न भन्छु ।’

आयोजना प्रमुख विनेश मुनकर्मीले विमानस्थलमा पानीको निकास राम्रो नहुँदा विमानस्थल नै डुबानमा पर्ने गरेको बताएका थिए । उनले ल्यान्डफील साइट तत्कालै सार्न पनि आग्रह गरेका छन् । यस्तै, पूर्वतर्फ रहेको रिठ्ठेडाँडा ४० मिटर काट्नुपर्नेछ । तर संघ सरकारले बाटो नखोलिदिएका कारण कटानमा समस्या भएको छ ।

कोभिडका कारण विमानस्थल निर्माण १ वर्ष धकेलिएको छ । आउँदो नयाँ वर्षदेखि अन्तरराष्ट्रिय उडान भर्न सकिने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *