मेयर जिसी ३ महिनापछि महानगरमा, दिए दसैंको शुभकामना

पोखरा । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी ३ महिनापछि महानगर पुगेका छन् । साउन १ गते मस्तिष्कघात भएर काठमाडौँमा उपचाररत जिसी अपरेसनपछि पोखरा आएका हुन् । उनको स्वास्थ्यमा केही सुधार भएको छ । जिसीले सोमबार कार्यकक्षमा पुगेर दसैंको शुभकामना दिएका छन् । सहयोगीको सहयोगमा उनी महानगर पुगेका हुन् ।

उनले कोरोना संक्रमणको जोखिम अझै रहेकाले स्वास्थ्यप्रति सचेत भएर चाडपर्व मनाउन आग्रह गरे ।

‘चाडपर्वहरू अर्को वर्ष पनि आउँछन्,’ जिसीले भने, ‘स्वास्थ्यका मापदण्ड पालना गरेर मनाउन आग्रह गर्दछु ।’ उनले स्वास्थ्यमा कुनै समस्या भएमा महानगरका स्वास्थ्य केन्द्र तथा अस्पतालहरूमा स्वास्थ्य जाँच गराउन आग्रह गरे ।

करिब १ घण्टा कार्यालयमा विताएका जिसीले महानगरले गर्ने काम, सेवा प्रवाहलाई गुनासो नआउने गरी गर्न जनप्रतिनिधि तथा कर्मचारीलाई अनुरोध गरेका छन् ।

यस्तै, पोखराको कार्यवाहक मेयरमा उपप्रमुखलाई जिम्मेवारी दिइएको छ । जिसीले कार्यालय नआउँदासम्म कार्यवाहक प्रमुख भई दैनिक कार्यसञ्चालन गर्ने गरी लिखित रुपमा कार्यवाहक प्रमुखको जिम्मेवारी उपप्रमुख गुरुङलाई दिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *