खानाको स्वाद र उपभोक्ताको सन्तुष्टिमा केन्द्रित ‘कल कल’

भक्तपुर । मुख्य ढोकाबाट छिर्नासाथ भुटेको आलस र तोरीको तेलको हररर बास्नाले नै मन हर्छ । सफासँग मिलाएर राखेको विभिन्न अन्नको पिठो, चामल, दाल, मह, मसलालगायतका सामग्रीले पनि आनन्दित बनाउँछन् ।

भक्तपुरको कटुञ्जेमा रहेको ‘कल कल ग्रुप प्राली’ ले विभिन्न ठाउँका उत्पादनलाई जम्मा गरेर कुटानी पिसानी पछि उपभोक्ताका लागि तयार गर्ने गरेको छ । अर्ग्यानिक र ठाउँ अनुसारका स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने गरेको कल कलका सञ्चालकहरू बताउँछन् ।

स्थापनाको चौथो वर्षमा लागेको ‘कल कल’ को नाम बिस्तारै उपभोक्ता सामु स्थापित भइरहेको छ भन्ने कुरा बिहानै सामान लिन उद्योगको ढोकैमा पुग्ने उपभोक्तालाई देख्दा पनि लाग्छ । उपभोक्ताहरू निकै टाढाबाट पनि दाल, चामल, तेल लगायत किन्न पुग्ने गरेको र यसले आफूहरूलाई थप हौसला दिइरहेको कम्पनीका कार्यकारी अध्यक्ष करुणसागर पराजुली बताउँछन् ।

कसरी शुरु भयो कलकल 

अस्ट्रेलियामा अध्ययन गरेर फर्केपछि पराजुलीले नेपालका हिमाल, पहाड, तराईसम्म उत्पादन हुने विविध जातका अन्न बालीबारे खोजी गरिरहेका थिए । शहरी क्षेत्रमा मानिसलाई कामको चटारो, खाद्य अनुशासनमा ध्यान नपुर्‍याउने लगायत कारणले दीर्घकालीन रोग लागेकोबारे उनी परिचित थिए ।

उपभोक्ताले मिसावट नभएको शुद्ध खाद्यान्न खरिद गर्न नपाइरहेको देख्दा यही क्षेत्रमा केही गर्ने अठोट गरेको उनी बताउँछन् । ठगी र मिसावटका धेरै कुरा आइरहने गरेकाले पनि यी दुई काम नगर्ने तथा गुणस्तर र सन्तुष्टिलाई ध्यान दिँदै मिसावटरहित खाद्य सामग्री र तेल उत्पादन गर्ने योजना बनाएको उनी बताउँछन् ।

उनको योजनामा साथ दिन एउटा समूह नै तयार भयो । समूहको लगानीमा ‘कल कल ग्रुप प्राली’ को सुरुवात भयो ।

अहिले कलकल ग्रुप प्रालीमा सयभन्दा बढी सदस्यको लगानी रहेको पौडेलले बताए । केही सदस्यले आफैँ उद्योगमा आएर काम पनि गर्ने गरेका छन् । जसले गर्दा गुणस्तरीयता कायम गर्न झनै सजिलो भएको कम्पनीको अनुभव छ ।

उद्योग सञ्चालनको शुरुका केही वर्षमा भौतिक संरचना निर्माण, आधुनिक मेसिन खरिद जस्ता लगानीको काम धेरै भएकाले कलकलले नाफाको अपेक्षा राखेको थिएन । त्यसमाथि कोरोना महामारीले अर्को समस्या थपिदियो ।

बजार ठप्प भएपछि बिकट जिल्लाबाट अन्न तथा गेडागुडी आयातमा समस्या पर्‍याे नै भएका उत्पादन पनि बिक्री हुनुको सट्टामा यत्तिकै थन्किने अवस्था सिर्जना भएको कल कल का कार्यकारी अध्यक्ष पराजुलीले जानकारी दिए ।

तर अहिले निषेधाज्ञा खुलेसँगै कल कल को व्यापारले लय लिन थालेको छ । बितेका वर्षहरूमा कल कलले प्रत्येक वर्ष ३६ हजार लिटर तेल पेलेर बेच्ने गरेको थियो । अब यो परिमाणलाई दोब्बर बनाउने गरी काम गर्न थालेको कल कलका अर्का सञ्चालक सदस्य रविराज कार्कीले जानकारी दिए ।

एकपटक कलकलको स्वाद लिइसकेको व्यक्ति फेरि पनि कल कल नै खोज्दै आउने बनाउने गरी गुणस्तर र शुद्धतामा ध्यान दिएको रविराजले दाबी गरे ।

कल कलका उत्पादन गरेको बस्तु अरू बजारमा पाइने बस्तुभन्दा केही महँगो छ । तर त्यसलाई अन्तिम उपभोगको लागि तयार गर्दा लाग्ने लागत र त्यसबाट ग्राहकले पाउने सन्तुष्टिमा भने कुनै सम्झौता नगरेको कार्कीको दाबी छ ।

कल कलको उद्योगमा आँखै अघि पिसेको पिठो, पेलेको तोरी हेरेर त्यहीँबाट प्याक गर्न लगाएर किन्न मिल्ने सुविधा छ । उद्योगमै पुग्ने उपभोक्ताले अन्नदेखि तयार हुँदा सम्मको प्रक्रिया पनि हेर्न पाउँछन् ।

उत्पादन अर्ग्यानिक हो कि होइन भन्ने देखि कसरी बनाइन्छ, मिसावट छ कि छैन लगायत सबै कुराहरू आँखै अगाडी हेर्न पाउने भएकाले पनि कल कलप्रतिको भरोसा बढेको सञ्चालकको भनाइ छ । तर सबैलाई त्यहाँ पुग्न गाह्रो हुने गुनासो आएपछि अहिले अनलाइन अर्डर र डेलिभरी तथा ग्रोसरीहरूमा पनि उपलब्ध हुने व्यवस्था गरिएको छ ।

कल कल ले उत्पादनलाई विभिन्न स्टोरसँग सम्झौता गरी होलसेल मूल्यमा बेचेर पनि आफ्नो सामान उपभोक्ता समक्ष पुर्‍याउने गरेको छ । कलकल ले अब छिट्टै आफ्नो छुट्टै स्टोर खोलेर सामान बेच्ने योजना बनाएको कार्यकारी अध्यक्ष पराजुलीले जानकारी दिए ।

कल कलले अहिले प्रत्यक्ष रूपमा १५ जनालाई रोजगारी दिइरहेको छ । कल कलमा मकै, जौ, फापर, गहुँ र कोदोको पिठो त्यही पिसेको किन्न पाइन्छ । त्यस्तै मकै र जौ को च्याख्ला, जिरा, धनियाँ, बेसार, मरीच र खुर्सानीको धुलो पनि पाइन्छ ।

त्यस्तै तोरी, आलस र तिलको तेल पनि कल कलले बेच्ने गरेको छ । त्यस्तै चिउरी मह, जङ्गली मह पनि कल कलमा उपलब्ध छ । हिमाल, पहाड, तराईका जुनसुकै ठाउँमा उत्पादन हुने धानको चामल कल कल मा सुपथ मूल्यमा उपलब्ध छ ।

सबै प्रकारका दाल जस्तै मास, मुसुरो, रहर, मस्याङ लगायत पनि उपलब्ध हुने कम्पनीले जनाएको छ । यी सबै सामान नेपालका विभिन्न ठाउँबाट सङ्कलन गरी भक्तपुरमा रहेको उद्योगमा पुर्‍याइने र उद्योगमा कुटानी र पिसानी गरी तयार गरिने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *