नेपालले कोरोना नियन्त्रणमा महत्त्वपूर्ण उपलब्धी हात पारेको छ : देउवा

पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड नियन्त्रणमा नेपालले महत्त्वपूर्ण सफलता प्राप्त गरेको बताए । विश्व स्वास्थ्य संगठन र अन्य विभिन्न मुलुकले नेपाललाई गरेको सहयोगप्रति धन्यवाद दिँदै उनले नेपालको कोभिड रणनीति सफल भएको बताए ।

तथापि अहिले पनि कोभिड जोखिम कायम रहेको उनको तर्क छ । ‘नेपालमा कोभिडको महामारी अझै कठिन छ । जोखिम कायम छ,’ उनले भने, ‘हामीले गरेको कामप्रति विश्व स्वास्थ्य संगठनले नेपाललाई धन्यवाद र बधाई दिएको छ ।’ सरकारले कोभिड कन्ट्रोलमा गरेको कामप्रति अन्तरराष्ट्रिय निकायहरूले विश्वास गरेको उनले बताए ।

कांग्रेस सभापति देउवाले प्रजातन्त्रको विकल्प नभएको भन्दै अन्य सपना नदेख्न विरोधीहरूलाई चेतावनी दिएका छन् ।

‘प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो । सबैले सुने हुन्छ, कसैले अरु किसिमको सपना नदेखे हुन्छ,’ उनी भन्छन्, ‘हाम्रो पार्टी प्रजातन्त्रका लागि लडेको पार्टी हो । संसद्‌मा प्रजातन्त्रकै लागि लडेका पार्टीहरू छन् । अरु विकल्प खोज्न आवश्यक छैन ।’

प्रधानमन्त्री देउवाले देशमा अझै धेरै काम गर्न बाँकी रहेको भन्दै संघीयता कार्यान्वयनमा आफूहरू दृढ रहेको सुनाए ।

देउवा गण्डकी प्रदेशलाई साक्षर घोषणा गर्न गण्डकी सरकारको निम्तोमा पोखरा आएका हुन् । प्रदेशका लक्षित समूहबाट करिब ९७ प्रतिशत नागरिक साक्षर भएकाले घोषणा गरिएको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले जानकारी दिए ।

उनले केही गलत तथ्य पनि पेश गरे । ‘महाकवी लक्ष्मीप्रसाद देवकोटा यहीँ जन्मिनुभयो । शिरोमणी लेखनाथ पौडेल, मोतिराम भट्टलगायत एक सय एक विद्वानहरू जन्मिएको ठाउँ हो यो,’ उनले भने, ‘यहि ठाउँ पहिलो पटक साक्षर प्रदेश घोषणा भएको छ । सबैलाई हार्दिक बधाई ज्ञापन गर्दछु ।’ गण्डकी दोस्रो साक्षर प्रदेश हो । यसअघि बागमती घोषणा भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *